एरिका गुरुङ : मनमैजु डोजादेखि रजत पदकसम्म

१९औं एसियाली खेलुकदमा नेपालको लागि रजत पदक जित्दै एरिका गुरुङले इतिहास रचिन्। नेपालको तेस्रो र कराँतेको पहिलो रजत पदक जित्न एरिका सफल भइन् ।

एरिका गुरुङ : मनमैजु डोजादेखि रजत पदकसम्म

काठमाडौं । १९औं एसियाली खेलुकदमा नेपालको लागि रजत पदक जित्दै एरिका गुरुङले इतिहास रचिन्। नेपालको तेस्रो र करातेको पहिलो रजत पदक जित्न एरिका सफल भइन् ।

नेपालको शिर उँचो पारेकी १९ वर्षीया एरिका हाल पत्रकारिता र समाजशास्त्रमा स्नातक पढ्दैछिन्। पढाइ र खेललाई निरन्तर सन्तुलितरूपमा अघि बढाउने एरिका आफ्नो भावना अभिव्यक्त गर्नु निकै सिपालु छिन् । कला र नृत्यमा पनि रुचि राख्ने उनी पढाइ र खेलकुदलाई नै सन्तुलित गर्दै अगाडि बढ्ने सोचमा छिन् ।

सानै उमेरमा रजत पदक विजेताका रूपमा चिनिसकेकी एरिकाले आफ्नो जितको श्रेय भने मनमैजु डोजो र सम्पूर्ण गुरुहरूलाई दिँदै आएकी छिन् । सकारात्मक सोचाइ भएकी एरिका भन्छिन्, “खेलमा निरन्तर अघि बढे मेहनतको फल अवश्य पाइन्छ। लक्ष्य पूर्तिको लागि वातावरणले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले नकारात्मक वातावरणबाट उम्किनुस् । सकारात्मक सोचाइ भएका मानिसहरूको वातावरणमा रमाउनुस् ।’

सुरुवाती दिन

करातेको बारेमा धेरै थाहा पाएर सिक्न गएको थिइन् । विद्यालयमा निरज महर्जन गुरुले कराते सिकाउनुहुन्थ्यो। गुरुले मनमैजु डोजोमा पनि सिकाउनुहुन्थ्यो । मेरो साथीहरू त्यहाँ सिक्न गएको थाहा थियो । आमासँग कुरा गरे, स्वस्थ हुनको लागि पनि कराते राम्रो खेल लाग्यो।

सुरुमा अतिरिक्त क्रियाकलापको रूपमा लिएको थिए तर मनमैजु डोजोसँग एउटा छुट्टै लगाव स्थापित भयो । मलाई मनमैजु डोजो प्यारो लाग्न थाल्यो। विस्तारै छोड्नै मन नलाग्ने हुन थाल्यो।

मनमैजु डोजोसँगको सम्बन्ध

मनमैजु डोजोलाई एउटा ‘आइडियल’ आदर्श टिमको एउटा मूर्तरूप भन्न छु। यो केवल नामको लागि मात्र टिम होइन। यो यस्तो टिम हो जस्मा सबैले सबैलाई बुझ्छन्। एकले अर्कोलाई सहयोग गर्छन्। मेरो जीवनको एउटा अभिन्न भाग भइसकेको छ, मनमैजु डोजो।

यदि म एक्लै भएको भए यहाँसम्मको यात्रा तय गर्न सक्दिनँ थिएँ होला। मेरो उपलब्धिमा मनमैजु डोजोको महत्त्वपूर्ण भूमिका रहेको छ। मनमैजुको टीमले दिने प्रेरणा र ऊर्जा नै बेग्लै हुन्छ। जीवनको कठिन अवस्थानमा पनि डोजोको साथ सधैँ पाइरहेँ। एक्लै हुँदा हार मान्नबाहेक अन्य विकल्प हुँदैन थियो होला। तर, अकल्पनीय र असम्भव स्थितिमा पनि डोजोको नै साथले विभिन्न चुनौतीहरू पार गरेको प्रशस्तहरू अनुभव छन्। यादहरू छन्।

फाङ्ग ‘स्ट्रेचिङ’ गर्दाको अनुभव

हामी सानै थियौँ। तर, फाङ्ग गर्दा स्ट्रेचिङको बेला डर लाग थियो होला। त्यही भएर, पालो कुर्दै गर्दा, एकले अर्कोलाई तिमी पहिला जाउ न भन्ने गर्थ्यौँ ।गुरुले बेस्सरी थिचिदिँदा ‘ऐया एैया, भयो भयो’ भन्दै कराएको त्यो अनुभवहरू ताजै छन्। त्यस्तो कडारूपमा गुरुले पेलान भने गराउनु हुँदैन थियो। माया गरी सिकाउनु हुन्थ्यो। अहिले सानो भाइ बहिनीहरूलाई स्ट्रेचिङ गराउँदा ती यादहरू स्मरण हुन्छन्।

अहिले सम्झिँदा खुसी लाग्छ। धन्न मैले त्यो बेला मेहनत गरेछुजस्तो महसुस हुन्छ। स्ट्रेचिङमात्र होइन कि हरेक फाइटपछि समीक्षा गर्दा तालिम गरेको याद आउँछ। धन्न तालिममा त्यो गरेछु र प्रयोग गर्नु पाएँ। त्यो तरिकालाई अभ्यास नगरेकोले प्रदर्शनमा असर भयो भन्ने जस्ता कुराहरू सम्झना आउँछ।

पहिलो ग्रेडिङ

करातेमा अर्को बेल्ट प्राप्त गर्न जाँच दिनुपर्छ। हामीले त्यसलाई ग्रेडिङ भन्छौँ । पहिलो ग्रेडिङमा मैले येल्लो पहेँलो बेल्टको लागि नभई ओरेन्ज बेल्टको लागि जाँच दिएको थिएँ। जम्प गरेको थिएँ। तालिमको क्रममा नै गुरुले महत्त्वपूर्ण कुरा भन्नुहुन्थ्यो। त्यसलाई निरन्तर अभ्यास गर्नुपर्थ्यो । अनि हाम्रो सिनियरहरूलाई अभ्यास गराउन लगाउनु हुन्थ्यो। धेरै काताहरू हुन्थ्यो।

सिनिरयरहरूले धेरै पेलएको अनुभूति पनि हुन्थ्यो। बच्चालाई माया नै नगर्ने जस्तो महसुस हुथ्यो। त्यो बेलाको लागि निकै कठिन लाग्थ्यो। अहिले सम्झिँदा त रमाइलो लाग्छ। यस्तै परिश्रम गर्दै ७ वर्षको मेहनतपश्चात ब्लाक बेल्ट पनि पाएँ। र अहिले निरन्तर सिक्ने क्रम जारी छ।

टोलीमा थपेको नयाँ ऊर्जा

मेरो पहिलो गुरु निरज महर्जन हुनुहुन्थ्यो। बाध्यात्मक परिस्थितिले गुरु क्यानडा जानुपर्ने भयो। जानुभएको करिब डेढ वर्ष भयो। उहाँको अभाव पक्कै महसुस भयो । सम्पूर्ण टोली नै निराश बनिसकेको थियो। अब के गर्ने भन्ने अवस्था सृजना पनि भयो।

सन्तोष श्रेष्ठ गुरुले होइन ‘हामी अघि बढ्नु पर्छ’ भनेर सबैमा एउटा आशा थप्नु भयो। निरज गुरुले देख्नु भएका, देखाउनु भएको अधुरो सपनालाई हामीले पूरा गर्नुपर्छ भनेर सन्तोष गुरुले सम्झाउनुभयो।

निरज गुरुको खेल्ने अधुरो सपनालाई हामीले साकार गर्नुपर्ने महसुस हुन थाल्यो। मलगायत अन्य साथीहरूलाई सन्तोष गुरुले नै तालिम सुरु गर्नु भयो। सिकाउनु भयो। उनले गरेको मेहनतको कारण नै टोलीमा थप नयाँ ऊर्जा थपियो। कराँतेबाट भागेर कता जाने त भन्दै प्रेरित गर्नुहुन्थ्यो। एकजुट भएर सबै अगाडि बढ्यौँ, बढ्दैँ छौँ र अझैँ अगाडि बढ्ने छौँ।

राष्ट्रिय टोलीको प्रशिक्षण

उत्साहित थिएँ, पहिलोपटक राष्ट्रिय टोलीमा परेको थिएँ। कुशल गुरु, दीपक गुरु, अक्बर गुरु, निवास गुरु, तुल्सी गुरु, आदि सबै गुरु हुनुहुन्थ्यो। ठूलो प्रतियोगितामा देखिरहेको थिएँ। उहाँहरूबाट थप सिक्न पाउने महसुस भयो। सिकेँ पनि। सबै खेलाडीको प्रशिक्षण देखेर प्रेरित पनि भएँ । सिक्ने अवसर पाएँ।

यस्तै, तालिमको क्रममा नेपाल सोतोकान महासंघका अध्यक्ष निवास गोपाल वैद्य गुरु हाम्रो टोली व्यवस्थापक थिए। तालिमको क्रममा उनले सधैँ हामीलाई डाइट ल्याइदिनुहुन्थ्यो। कहिले फलफुल, कहिले जुस, कहिले चक्लेट आदि ल्याइदिनु हुन्थ्यो। निवास गुरुलाई देख्नेबित्तिकै हामी डाइट आयो पनि भन्ने गर्थ्यौँ। हामी घरमा बुबाले खानेकुरा ल्याइदिँदा त्यसरी नै खुसी हुन्थ्यौँ। मलाई मात्र नभई हामी सबैजनाको नै मीठो सम्झनामध्येको एक त्यो निवास गुरुले ल्याउने निरन्तरको कोसेली पनि हो।

१९ औँ एसियाली खेलकुद

चीनमा टाई-शिट प्रकाशित भएपछि हामीले कसको प्रतिस्पर्धी को भनेर हेरिरहेका थियौँ। मेरै डोजोको साथी सबिना श्रेष्ठ र म हेरिरहेका थियौँ। उसको चाइनिज ताइपेसँग र म जापानसँग परेँ। हामी एकअर्कालाई हेरेर हत्तोसाहित पनि भयौँ। किन हामीलाई वर्ल्ड च्याम्पियन परेको होला भनेर।

पछि फेरि सिकिन्छ राम्रै हुन्छ भनेर पनि एकअर्कालाई प्रोत्साहित गर्‍यौँ । भयो पनि त्यस्तै। धेरै सिक्न पनि पायौँ। मोबाइलमा देखि रहेकाहरूलाई वास्तविक जीवनमा देख्दा नौलो नै हुने रहेछ। तर, उहाँहरू निकै भद्र भएको अनुभूति गरेँ।

म च्याम्पियन हुँ भन्ने घमण्ड पनि थिएन। साथै आफ्नो प्रतिद्वन्द्वीलाई पनि आदर गर्ने, मैत्रीपूर्णरूपमा वार्तालाप गर्ने रहेछन्। फाइनलमा सोचेअनुरूप प्रदर्शन गर्नबाट चुकेँ। टोलीका सम्पूर्णले निकै विश्वास गरेका थिए। सोहीअनुरूप योजना पनि थियो। यद्यपि, पूर्णरूपमा सोचेअनरूप खेल्न सकिनँ।

एसियाली खेलकुदमा रजत पदक जितेपछिको अनुभूति

मलाई तालिमको मेहनत याद आयो। म र मेरी टोली दिनको ४ पटक तालिम गर्थ्यौँ । घरमा खाजाको लागि पैसा मागिरहनु पनि असहज महसुस हुन्थ्यो। कति पटक चिउरा दालमोट खाएर पनि तालिम गर्‍यौँ । शरीर दुख्दा पनि तालिम गर्न मन नलाग्दा पनि अर्को साथीले गरौँ भनेर हौसला प्रदान गर्थे। त्यसरी नै एक अर्कालाई प्रेरित गर्थ्यौँ । सबै मिलेर अगाडि बढ्दा नै जित सम्भव भएको हो।

मेरो मनमैजुको टोली हामीले सबैले राम्रो अभ्यास गरेका थियौँ। सोहीअनुरूप सबैले प्रशंसनीय प्रदर्शन गरेर नै आयौँ। गुरुहरूले भनेझैँ खेलमा जित र हार भनेको स्वाभाविक नतिजा हो। यही सोचेर अगाडि बढि रहेको छु।

रजत पदक जितेपश्चात सबैबाट पाएको माया निकै अमूल्य लागिरहेको छ। यसले अपेक्षा बढाएको छ। सबैको मप्रति माया र अपेक्षा बढेको छ। जिम्मेवारी बढेको छ। जुन मैले महसुस गर्न आवश्यक देख्छु। गरेको पनि छु।

अब स्वर्णको अपेक्षा भइरहेको छ। तर, मैले मेरो धरातल बिर्सेको छैन। बिर्सन पनि चाहदिनँ। एरिकाले ‘स्टारडम’ लाई पन्छाएर, आफ्नो तालिमलाई निरन्तरता दिन चाहन्छु। आफूमा भएको क्षमतालाई तिखार्न चाहन्छु।

विशेषत: यो सफलतामा मेरो सम्पूर्ण गुरुहरूको शिक्षाको पनि योगदान छ। कति समयमा उहाँहरूको शिक्षालाई पूर्णरूपमा प्रस्तुत गर्न सकिन होला। उहाँहरूको योगदानलाई पनि भन्न छुटाए पनि होला। तापनि सबै गुरुलाई भविष्यमा गर्व महसुस भने पक्कै गराउने छु।

खेल्दा सुरक्षालाई अपनाउने

खेल्दा सामान्य चोट लाग्नु त स्वाभाविक पनि हो। तथापि, सकेसम्म चोटबाट बच्नु पनि सावधानी अपनाउनु पर्ने हुन्छ। नत्र खेल जीवन नै धरापमा पर्न सक्छ। इन्ज्यूरीले खेल जीवनमा निकै असर पार्ने गर्छ। गम्भीर चोट भएमा त्यसबाट माथि उठ्न खेल जीवनलाई निरन्तरता दिन निकै असहज हुने गर्छ। मानसिकरूपमा नै कमजोर भएको पनि देखेको छु। रिकभरी समय धेरै लाग्दा खेलमा फर्किन समस्या हुने पनि देखिन्छ।

यसकारण पनि चोटबाट बच्नुपर्छ। तालिमको बेला पनि अत्याधिक जोड नदिने, आक्रोशित भएर अनियन्त्रित शैलीमा फाइट नगर्ने, सचेत भएर प्रतिस्पर्धा गर्न आवश्यक हुन्छ जस्तो लाग्छ। सुरक्षितरूपमा जित्ने मनसयमा प्रतिस्पर्धा गरे चोटबाट बच्न सकिन्छ।

तालिम खेल्ने बेला पनि स्ट्रेचिङले सहयोग पुर्‍याउने गर्छ । तालिम गर्नुअगाडि स्ट्रेचिङ । सकिएपछि ‘कुल डाउन’ गर्दा सहयोग हुन्छ। भाग्यवश् अहिलेसम्म गम्भीर चोट मैले भोग्नुपरेको छैन। एकपटक घुँडाको चोट भने व्यहोरेको थिए। तर, त्यसबाट म रिकभर सकेँ र आफ्नो प्रदर्शनमा सर्तक हुन पनि थालेँ।

परिवारको साथ

पहिले देखि नै मेरो परिवारबाट कराँतेको लागि साथ पाएको थिएँ । मलाई सहयाोग गर्नुहुन्थ्यो। मेरो खेलप्रतिको मायालाई बुझ्नुहुन्थ्यो। सुरुवातमा त अलिक प्रश्न भने गर्नुहुन्थ्यो। ‘मेडल त छ छोरी, तर मेडलले खानु दिन्छ त?’ भन्ने प्रश्न पनि सुनुपर्थ्यो । तैपनि साथ र माया भने निरन्तर नै पाउँथे।

अहिले पनि त्यस्तै माहोल छ। तर, आमा भने अलिकति सर्तक हुनुभएको छ। ‘ला मेरो छोरीलाई केही होलो कि’ भन्ने मनोभाव आइरहेको पाएको छु । यस्तै, आमा र बाबा दुवैले पढाइलाई पनि सँगै लिएर जाओस् भन्ने अपेक्षा गर्नुहुन्छ। अहिलेको जमानामा पढाइ पनि महत्त्वपूर्ण भएको बुझेको छु। उहाँहरूको पनि सोही अपेक्षा छ। जुन स्वाभाविक पनि हो। दुवैलाई निरन्तररूपमा सन्तुलित गरेर लग्नको लागि परिवारले प्रेरित गरिरहेका छन्। उहाँहरूको विश्वासमा खरो उत्रेर आफ्नो शतप्रतिशत दिनु दृढ भएर अगाडि बढ्ने छु ।

(एरिका गुरुङसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित) 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved