दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी घर हिँडेपछि…

नेपालभ्युज

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत बिना जानकारी घर हिँडेपछि…

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।

हालै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्चिङले बताए । दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् ।

बिना जानकारी कार्यालय छाडेर हिँडेका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भुक्तानी दसैँ अगाडि नै गर्नुपर्ने छ”, उनले भने, “उहाँलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।”

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताएका छन् । “आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उनले भने, “दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पुर्‍याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रेग्मी बिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्टाटस’ लेखेका छन् ।

सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्न/नगराउन अनुरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उहाँको ज्यान सुरक्षाकोसमेत सम्यमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ ।

“सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न नगराउन अनुरोध छ ।” रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved