काठमाडौं । के एउटा यति छोटो जीवनमा मान्छे सामान्य निम्न–मध्यमवर्गीय स्थितिबाट माथि उठेर लेखेरै अर्बपति हुन सक्दछ ? अवश्य यो दुर्लभ कुरा हो, तर असम्भव भने हैन । एउटा यस्तै दुर्लभ लेखिका हुन्–जे.के. रोलिङ जसलाई अहिले संसारकै सबैभन्दा धनी लेखक मानिन्छ ।
जे.के. रोलिङ संसारकै सबैभन्दा धनी लेखक मात्र हैन, बेलायत कि सातौं धनी व्यक्ति पनि हुन् । भनिन्छ, उनीसँग १ बिलियन पाउन्ड अर्थात् करिब १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ । सन् २००८ मा उनलाई फोर्ब्सले संसारमा सबैभन्दा धेरै पारिश्रमिक पाउने लेखिका भनेर सूचीकृत गरेको थियो । सन् २०१८ मा ५३ वर्षको उमेरमा उनी अर्बपतिमा सूचीकृत भएकी थिइन् ।
उनलाई यो सफलता दिने पुस्तक थियो–ह्यारी पोटर श्रृंखलाका काल्पनिक उपन्यास । सन् १९९७ मा प्रकाशित उनको पहिलो उपन्यासको नाम थियो– ह्यारी पोटर एन्ड फिलोसोफर्स स्टोन । सन् १९९७ देखि सन् २००७ बीच उनले ह्यारी पोटरका ७ श्रृंखला उपन्यास लेखिन् । उनका यी उपन्यास संसारमा ८४ भन्दा बढी भाषामा अनुवाद र ६० करोडभन्दा बढी प्रति पुस्तक बिक्री भएका छन् ।
पुस्तकको रोयल्टीबाट मात्र हैन, उनले यसमा आधारित सिनेमा र भिडियोमार्फत् समेत उत्तिकै कमाइन । रोलिङ सन् १९६५ मा जन्मिएकी थिइन । ५ वर्षको उमेरदेखि स्कुल जान थालेकी रोलिङ फुर्सदमा छिमेकी परिवारको निजी पुस्तकालयमा गएर पढ्ने गर्थिन् । पोटर उनको त्यही छिमेकीको परिवारको–नाम थियो जसलाई उनले पछि आफ्नो उपन्यासको शीर्षक बनाइन् ।
खासमा उनको नाम जोअन्ने रोलिङ थियो । बीचमा कुनै नाम थिएन । जब उनको पहिलो उपन्यास प्रकाशित गर्नुपर्ने भयो– प्रकाशकले उनलाई कुनै त्यस्तो नाम छान्न भने जसको लय मिलेको र झट्ट सुन्दा ‘जेन्डर–तटस्थ’ लागोस् । तुरुन्तै उनले आफ्नी हजुरआमाबाट बीचको नाम ‘क्याथलिन’ लिइन र जे.के रोलिङ बनाइन् ।
भनिन्छ–उनले ६ वर्षको उमेरदेखि लेख्न थालेकी थिइन् । उनी सानैदेखि कथा लेख्थिन् । कथा–लेखन उनको जीवनको पहिलो शौख र महत्त्वाकांक्षा थियो । ११ वर्षको उमेरमा त उनले एक उपन्यास नै लेखेर सिध्याएकी थिइन् । यद्यपि, उनका बाल्यकालका ती किताब लेख्ने रहरले प्रेरित थिए, जो कहिल्यै छापिएनन् ।
स्नातक तहको पढाइ पूरा गरेपछि उनी जागिर गर्न थालिन् । उनले लन्डनमा केही समय एमनेस्टी इन्टरनेसनल र पछि म्यानचेस्टरमा चेम्बर अफ कमर्सको कार्यालयमा सेक्रेटरीको काम गरिन् । म्यानचेस्टरमा जागिर गर्दा उनी रेलबाट लन्डन फर्किने गर्थिन् । ह्यारी पोटर श्रृंखलाको झिल्को उनको दिमागमा त्यही बेला आएको थियो ।
सन् १९९० को एक दिन, उनी म्यानचेस्टरबाट लन्डन फर्किंदै दिइन । रेल अनपेक्षितरूपमा ढिलो भयो । रेलवे स्टेसनमा रेल पर्खिबस्दा उनको दिमाग भने बुलेट रेलभन्दा छिटो चलिरहेको थियो । उनी दिमागमा अनेक लेखन योजना बुन्दै थिइन् । एकाएक उनको दिमागमा ह्यारी पोटर श्रृंखलाको झिल्को उठ्यो । उनले आफ्नो हाते ब्यागमा भएका सीमित थोत्रा कागजमा पेन्सिलले लेख्न थालिन् । भलै कि, उनको पहिलो पुस्तक प्रकाशित भएर आउन त्यसपछिका सात वर्ष लाग्यो ।
यी सात वर्षमा उनको जीवनमा अनेक राम्रा, नराम्रा घटना भए । यही बीचमा उनकी आमा बितिन् । छोरी जेसिकाको जन्म भयो र पहिलो पति जोर्गे अरान्टेससँग विवाह र सम्बन्धविच्छेद् भयो ।
राम्रो जागिर खोज्ने क्रममा उनी पोर्चुगल पुगेकी थिइन् । स्थानीय स्कुलमा अंग्रेजी शिक्षिकाको जागिर मिलेको थियो उनलाई । त्यही उनले आफ्नो पहिलो पति पोर्चुगेली टिभी पत्रकार जोर्गे अरान्टेसलाई क्याफेमा भेटेकी थिइन् ।
जोर्गेबाट उनकी एक छोरी भइन्– जेसिका तर, उनको विवाह भने लामो टिकेन । सन् १९९३ को जुनमा उनी बेलायत फर्किइन् र नोभेम्बरमा सम्बन्धविच्छेद् भयो । पोर्चुगलमा उनले जम्मा १८ महिना बिताइन् ।
बेलायत फर्किएर उनी एडिनबर्गमा बस्न थालेकी थिइन् । सानी छोरीको हेरचाह गर्नुका साथै उनले शिक्षक तालिमसमेत लिइरहेकी थिइन् । त्यस्तो बेला पनि उनी फुर्सद पाउनेबित्तिकै ह्यारी पोटर श्रृंखलाका कथा लेख्ने गर्थिन् ।
श्रृंखलाको पहिलो उपन्यास ‘ह्यारी पोटर एन्ड फिलोसोफर्स स्टोन’ को पाण्डुलिपि उनले दर्जनौं प्रकाशक कहाँ पठाइन् । त्यसमध्ये एक ब्लुम्सबरीले प्रकाशन गर्ने सहमति जनायो, अरुले सोधीखोजी नै गरेनन् । पछि उनले कतै भनेकी थिइन–ब्लुम्सबरीबाट पुस्तक प्रकाशन गर्ने इच्छा व्यक्त गरेको पत्र उनको जीवनको सबैभन्दा ठूलो खुसी थियो ।
ह्यारी पोटर मूलत: बाल रोमाञ्चकतामा आधारित लेखन थियो । वयस्क रोमाञ्चकता लेखनका लागि उनले अर्को नाम छानिनँ–रोबर्ट गलब्राइथ । यस नामबाट उनले ‘कोर्मोरन स्ट्राइक’ को ६ श्रृंखला लेखिन्। सन् २०१२ मा प्रकाशित ‘द क्याजुअल भ्याकेन्सी’ यस श्रृंखलाको पहिलो उपन्यास थियो ।
जे.के. रोलिङले सन् २००१ मा दोस्रो विवाह स्कटिस डाक्टर निल मुरेसँग गरिन् । दोस्रो विवाह गर्दा उनी ख्यातिको शिखरमा पुगिसकेकी थिइन् । निल मुरेबाट उनका दुई सन्तान भए–डेबिट र माकेन्जी ।
तीन सन्तानकी आमा र तिनको हेरचाहको दायित्वका बाबजुद जे.के. रोलिङले लेख्न कहिल्यै छोडिनन् । लेखनबारे उनको धारणा थियो–‘अवश्य राम्रो लेखनका लागि पर्याप्त योजना र समय पनि चाहिन्छ । फुर्सद पाउनेबित्तिकै लेखिरहनु राम्रो हुन्छ । भन्न सकिन्न मान्छेको दिमाग कतिखेर फुर्छ र कुन बेला लेखेको शब्द र वाक्य कति खेर काम लाग्दछन् ।’
अक्सर हामी यो ठान्छौं कि, मान्छेका सपना पूरा हुँदैन, कुनै न कुनै प्रकारको नियति वा दुर्भाग्यले लखेटिएको हुन्छ मान्छे । तर, रोलिङ ठान्छिन् कि मान्छेका सपना पूरा हुन निकै ठूलो मेहनत, निरन्तरता, लगाव र धैर्यता चाहिन्छ । ‘भाग्य’ गुणस्तर र मेहनतलाई पछ्याउँदै आउने छायाँ हो ।
Facebook Comment
Comment