भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मा

नेपालभ्युज

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रधानसेनापति शर्मा

काठमाडौं । ११ असोज : प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कीएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे ।

नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

असोज ८ देखि १० गतेसम्म इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न ‘शान्तिका लागि सँगै’ भन्ने विषयवस्तु प्रस्तुत उक्त सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीको सहभागिता थियो ।

नयाँ दिल्लीमा रहँदा प्रधानसेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्ला–बेग्लै भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण गरेका थिए। त्यस अवसरमा उनले उक्त कलेजमा सञ्चालन भइरहेको तालिममा सहभागी शिक्षार्थी र शिक्षकहरूसमक्ष राष्ट्र निर्माण र नेपालको परराष्ट्र नीतिमा सेनाको योगदान विषयमा प्रवचन दिएको निर्देशनालयले जनाएको छ ।

हाल उक्त कलेजमा सञ्चालन भइरहेको एनडिसी तालिमा नेपालका तीन महासेनानी सहभागी छन् । प्रधानसेनापतिले समेत विगतमा सोही कलेजबाट एनडिसी तालिम लिएका थिए । प्रधानसेनापतिसँगै ४७ औँ इण्डो प्यासिफिक आर्मी म्यानेजमेन्ट गोष्ठीमा सहभागी सैनिक अधिकृत र सेना सुवेदार मेजर पनि स्वदेश फर्किए ।

भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रहरूका समकक्षीलगायत पदाधिकारीहरूसँगको अन्तक्र्रियाबाट मानवीय सुरक्षालगायतका साझा चासोका विषयहरूमा अनुभवहरूको आदान–प्रदान गर्ने अवसर प्राप्त भएको सेनाले जनाएको छ । ती देशहरूसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved