के अब लेखकले पनि हडताल गर्ने दिन आए ?

लेखकले हडताल गर्छन् भन्दा नेपालमा अचम्म मानिएला । लेखकले किन, कसरी र कोसँग हडताल गर्ने ? तर, अमेरिकी स्क्रिप्ट लेखकले भने १४६ दिन लामो हडतालपछि ‘एएमपीटीपी’ अर्थात् अलाइन्स अफ मोसन पिक्चर्स एन्ड टेलिभिजन प्रोडुसर्सलाई सम्झौतामा पुग्न बाध्य बनाएका छन् ।

नेपालभ्युज

के अब लेखकले पनि हडताल गर्ने दिन आए ?

काठमाडौं। लेखकले हडताल गर्छन् भन्दा नेपालमा अचम्म मानिएला । लेखकले किन, कसरी र कोसँग हडताल गर्ने ? तर, अमेरिकी स्क्रिप्ट लेखकले भने १४६ दिन लामो हडतालपछि ‘एएमपीटीपी’ अर्थात् अलाइन्स अफ मोसन पिक्चर्स एन्ड टेलिभिजन प्रोडुसर्सलाई सम्झौतामा पुग्न बाध्य बनाएका छन् ।

यो हडतालको नेतृत्व अमेरिकी स्क्रिप्ट लेखकको संस्था– डब्लूजीए अर्थात् राइटर्स गिल्ड अफ अमेरिकाले गरेको थियो । राइटर्स गिल्ड अफ अमेरिका ११ हजार ५०० बढी स्प्रिप्ट लेखक सदस्य रहेको श्रम संगठन हो । आइतबार यसको वार्ता टोलीले ‘एएमपीटीपी’ सँग एक नयाँ सम्झौता गर्दै हडतालको अन्त्य गर्‍यो ।

फिल्म निर्माता र स्टुडियो मालिकहरूसँग उनीहरूको गुनासो थियो– फिल्म, टेलिफल्महरूबाट निर्माताहरूले जे-जति कमाउँछन्, यसको असाध्यै थोरै अंश मात्र लेखकहरूले पाउँछन् । लेखकहरूको आम्दानी सहज र सुनिश्चित नभए स्तरीय पटकथा लेखन सम्भव हुँदैन । मालिकहरूले यो कुरा नबुझिदिँदा लेखकहरूको जीवन संकटमा परेको छ ।

साथै, उनीहरूले कृत्रिम बौद्धिकता (एआई) को मारबाट लेखकहरूलाई जोगाउने उपाय र नियमन प्रणालीको समेत माग गरेका थिए । एआईको प्रयोग सिर्जनशील प्रतिभाहरूको प्रतिस्थापनका लागि हैन, उन्नत प्रविधिका रूपमा मात्र सीमित हुनुपर्ने लेखकहरूको माग थियो ।

राइटर्स गिल्ड अफ अमेरिकाले हडताल गरेको यो पहिलोपटक भने हैन । यो संस्थाले सन् १९८८ मा १५३ दिन लामो हडताल गरेको थियो । फिल्म, टेलिफिल्म, डकुमेन्टरी, विज्ञापनआदि बनाउने स्टुडियो मालिकसँग लेखक तथा कलाकार संघले सामूहिक सौदाबाजी गर्ने प्रचलन अमेरिकामा सन् १९६० यता लामो समयदेखि स्थापित छ ।

सिने उद्योगमा निर्देशक, कलाकार र संगीतकारको जे-जति चर्चा र मूल्य हुन्छ, कथानक तथा पटकथा लेखकहरूको त्यही अनुरूपको चर्चा र पारिश्रामिक हुँदैन । तर, सिनेमाको मेरुदण्ड नै कथा तथा पटकथा हो । यदि, ‘झुर’ कथा वा पटकथा छ भने जस्तै राम्रो निर्देशक र कलाकारले पनि त्यसबाट राम्रो सिनेमा बनाउन सक्दैनन् ।

कथा वा पटकथा लेखन कुनै सजिलो काम हैन । त्यसका लागि गतिलो गहिरो अध्ययन–अनुसन्धान र ‘क्वालिटी टाइम’ चाहिन्छ । लेखकहरूले पर्याप्त आम्दानी गर्न सकेनन् भने अध्ययन, अनुसन्धान र सिर्जनाका लागि पर्याप्त समय र गुणस्तरता दिन सक्दैनन् । फलतः लेखकीय प्रतिफलको गुणस्तर कमजोर हुन पुग्दछ । यसको प्रत्यक्ष असर सिनेमा, पुस्तक, पत्रपत्रिका र समग्र बौद्धिक उत्पादनको गुणस्तरमा पर्दछ ।

अमेरिकी लेखकहरूको हडतालबाट डिज्ने, बार्नर ब्रोज, डिस्कोभरी, नेटफ्लिक्स, एनबीसी युनिर्भसल, पारामाउन्ड ग्लोबलजस्ता निर्माता कम्पनीहरूले चर्को दबाब महशुस गरेका थिए । उनीहरूको सेयर मूल्यमा गिरावट आएको थियो ।

यो हडतालले विश्वभरि एक नयाँ सन्देश र आत्मविश्वास दिएको छ कि, लेखक पनि श्रमिक हुन् । उनीहरूले पनि यथोचित पारिश्रमिक पाउनुपर्छ । उनीहरूले पनि सामूहिक सौदाबाजी गर्न सक्दछन् ।

लेखन पेशा कि शौख ?

संसारका धेरै देशमा अझै पनि लेखनलाई शौख र एक विशिष्ठ प्रकारको साहित्यिक योगदान मानिन्छ । लेखकहरूको चित्रण गर्दा गरिब, दु:खी र त्यागी मान्छेहरूको चित्र अघि आउँछ । लेखन कुनै समयमा त्यस्तै थियो पनि । पर्याप्त प्रकाशक तथा प्रसारक संस्था विकसित भएका थिएनन् । लेख्नु आफैँमा एक ठूलो त्यागको विषय थियो । लेखकले प्रकाशक पाउनु नै ठूलो भाग्य मानिन्थ्यो । लेखनलाई पेशा बनाउनु, पैसा कमाउनु वा त्यसैबाट जीवन र परिवार चलाउनु त परैको कुरा ।

विकसित र ठूलो बजार भएको देशमा भने लेखन अठारौं शताब्दिको अन्त्यतिरै पेशा भइसकेको थियो । तर, नेपालजस्तो सानो बजार र अल्पविकसित चेतना, पठन संस्कृति र बौद्धिक संस्कार भएको देशमा लेखन अझै व्यावसायिक हुन सकेको छैन । लेखन मात्र हैन, पत्रकारितालगायत सूचना, प्रसारण र कलासँग सम्बन्धित अन्य विधाहरू पनि पूर्ण व्यवसायिक हुन सकेका छैनन् ।

ठूलो बजार, धेरै पैसा

भारतको बलिउड संसारकै सबैभन्दा ठूलो सिने उद्योग मानिन्छ । बलिउडमा वार्षिक १५०० बढी सिनेमा उत्पादन हुन्छन् । सन् २०१७ मा १९८६ सिनेमा उत्पादन भएको अभिलेख थियो । सन् १९३० को दशकबाट बलिउड सिनेमाले व्यावसायिक सफलता पाउन थालेका थिए ।

भारतको सिनेमा उद्योग मात्र हैन, सञ्चार उद्योग पनि उत्तिकै ठूलो छ । यहाँ ७०, ००० बढी पत्रपत्रिका र ६०० बढी टिभी च्यानल छन् । भारतको सिनेमा र सञ्चार उद्योगमा ६० लाख बढी मानिसले काम गर्दछन् । भनिन्छ- बलिउडमा लेखकहरू निर्देशक, कलाकार जतिको चर्चित त हुँदैनन्, तर उनीहरूको आर्थिक जीवन त्यति नराम्रो पनि हुँदैन । बलिउड सिनेमाका स्क्रिप्ट लेखकले प्रतिस्क्रिप्ट २०-५० लाख पाउने गर्दछन् ।

फिल्मी लेखकको मात्रै हैन, भारतमा साहित्यिक लेखकहरूको आर्थिक जीवन पनि राम्रै हुन्छ। तर, त्यसको कारण भने ठूलो बजार र धेरै बिक्री हो । हिन्दी सिनेमाको जस्तै हिन्दी साहित्यको पनि धेरै ठूलो विश्व बजार छ । हिन्दी अंग्रेजी र म्यान्डरिनपछि विश्वको तेस्रो ठूलो सबैभन्दा धेरै प्रचलित भाषा हो । चिनियाँ जनसंख्याको कारणले म्यान्डरिन दोस्रो स्थानमा देखिए पनि त्यसको प्रभाव केही देशमा सीमित छ भने अंग्रेजी र हिन्दीको प्रभाव विश्वव्यापी छ ।

बेलायतकी जेके रोलिङ यतिखेर संसारकै सर्वाधिक धनी लेखिका हुन् । उनको ह्यारी पोर्टर श्रृंखला सफल भएपछि पैसाको ओइरो लागेजस्तै भयो । विश्वका धनी लेखकहरूको सूचीमा अधिकांश अंग्रेजी भाषाका लेखक नै छन् ।

हिन्दीमा लेखेरै सबैभन्दा धेरै कमाउनेको सूचीमा उपन्यासकार चेतन भगतको नाम आउँछ । यो सूचीमा किरण देशाई र अरुन्धति रोय पनि छन् ।

नेपालमा लेखन पेशा 

सिने स्क्रिप्ट लेखक हुन् वा साहित्यिक पुस्तक वा स्तम्भकार नेपालमा लेखकहरूले के-कति पारिश्रामिक पाउँछन् वा कमाउँछन् भन्ने कुरा कसैले खुलेर भन्न चाहँदैन । यसको कारण भने पर्याप्त र उल्लेख गर्न योग्य नभएर नै हुन सक्दछ ।

बजार चर्चाअनुसार पछिल्ला सबैभन्दा धेरै कमाउने पुस्तक नारायण वाग्लेको पल्पसा क्याफे र सुधीर शर्माको प्रयोगशाला हुन् । स्क्रिप्ट लेखनमा खगेन्द्र लामिछाने र रामबाबु गुरुङको विशेष चर्चा हुने गर्दछ ।

सीके लाल, खगेन्द्र संग्रौला, प्राध्यापक कृष्ण खनाल, किशोर नेपाल नेपालका वरिष्ठ स्तम्भकारहरू हुन् । उनीहरू आफ्नो नाम, प्रसिद्धी र बजारअनुरूप लेखकीय पारिश्रामिक र आयबाट खासै लाभान्वित भने छैनन् ।

नेपालमा लेखकहरूले राम्रो पारिश्रामिक नपाउनुको कारण निर्माता, प्रकाशक तथा प्रसारक संस्थाहरू लोभी भएर मात्र भने हैन, बजार नै सानो हुनु हो । नेपाली भाषामा लेखिएको कुनै किताब १०, ००० प्रति बिक्यो भने ‘वेस्ट सेलर’ मानिन्छ, जबकि अंग्रेजी र हिन्दी भाषाका किताब करोडौंको संख्यामा बिक्छन्।

नेपाली सिनेमाको सानो बजारमाथि समेत हिन्दी सिनेमाको व्यापक हस्तक्षेप छ । नेपाली दर्शकहरू नेपालीभन्दा बढी हिन्दी सिनेमा हेर्छन् । विश्वभरि नेपाली भाषा बोल्ने, बुझ्नेको जनसंख्या १२ करोडसम्म हुनसक्ने अनुमान गरिन्छ ।

अंग्रेजी, हिन्दी, म्यान्डरिन, स्पेनी, फ्रेन्चआदि जस्तो ठूलो भाषिक समुदाय नभए पनि नेपाली विश्वको मध्यम आकारको राम्रै भाषिक समुदाय हो । तर, उनीहरू नेपाल, भारत, म्यानमारलगायत विश्वका विभिन्न देशमा छरिएका छन् । तसर्थ, नेपाली सिनेमा, साहित्य र लेखनको एकीकृत विश्व बजार अझै निर्माण भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved