ब्लग

बिर्सनै सक्दिनँ त्यो दिन !

बिर्सनै सक्दिनँ त्यो दिन !

“ए ! छिटो क्यामेरा ठिक पार न, ढिला भइसक्यो,” शीतल (सहकर्मी) हतारिइन् । “अँ भइसक्यो, खै तिमी ठिक भयौ त ?,” मैले प्रतिप्रश्न गरेँ । ‘ए हो ल ल’ शीतलले झोला भिर्छिन् ।

यो संवाद कुनै एक दिनको अपराह्न ४ बजेतिरको हुँदो हो । बाहिर उखरमाउलो गर्मी थियो, त्यसबखत मलाई जिन्दगीकै सबैभन्दा धेरै गर्मी भइरहेको छ भन्ने भान भइरहेको थियो ।

तर, उखरमाउलो गर्मीभन्दा पूरा गर्नुपर्ने जिम्मेवारी नै ठूलो हो भन्नेमा हामी दुवैजना दृढ थियौँ । फिकर सिर्फ ‘स्टोरी’  थियो । त्यहीसम्बन्धी केही बात गर्दै हामी बाटो लाग्यौँ ।

गन्तव्यस्थल पुग्न लाग्दा शीतलले सोधिन्— कहाँबाट भित्र छिर्ने पूजा ?

मूल गेट देखाउँदै मैले जवाफ फर्काएँ— यहीँबाट त होला नि !

हाम्रा पाइलाहरू तीव्रत्तर हुँदै थिए । केही छिनमै हामी पशुपतिनाथ मन्दिर परिसर छिर्‍यौँ । हाम्रो ध्यान त्यहाँका वस्तुस्थितिमाथि नपर्ने कुरै भएन ।

“आउनुहोस्, पानीपुरी मीठो छ खानुस्,” सानो ठेलागाडा ठेलिरहेका दाइ कराउँछन् । शीतल प्वाक्क बोल्छिन्— मीठो छ भन्ने हामीलाई पनि थाहा छ !

हाँस उठ्यो, फिस्स हाँस्यौँ । तर, दिल-दिमागमा काम नै थियो ।

हामी अगाडि बढिरहेकै थियौँ । शारीरिक अपाङ्गता देखाएर माग्न बसेकाहरू यत्रतत्र भेटिन्थे । तीर्थयात्रीहरू भेटिन्थे । घुम्न आएका सयौं मान्छेहरू अनि रमाउन आएका सयौं जोडीहरू भेटिन्थे ।

हामी अझै अगाडि बढ्यौँ ।

हाम्रा आँखा अर्धबैंसे महिलामा ठोक्कियो । जो आफूलाई मानिसहरूले दिएको फलफूल तथा खाने कुराहरू जनवारलाई पनि खुवाउँदै आफू पनि खाइरहेकी थिई ।

उनी बाँदरहरूसँग घरी-घरी गफ गर्थिन् । उनी घरी-घरी बाँदरहरूसँग घनिष्टता बढाइरहन्थिन् ।

यो देखेर मेरो मनले यसरी अर्थ्यायो— सम्भवत: मान्छेहरूले उनलाई बढ्ता छि:छि-दूरदूर गर्छन्, त्यसैले बाँदरहरूलाई साथी बनाइन् र गफिन्छिन् उनैसँग ।

हामीलाई उनीसँग कुरा गर्न मन लाग्यो । उनीछेउ गयौँ र गफिन थाल्यौँ । आफैँ मागेर खाने उनले जनावरलाई खुवाइरहेको देखेर हामीलाई नौलो महसुस भइरह्यो ।

कुराकानी भयो । उनी भारतीय नागरिक रहेछिन् । सामान्य कुरा गर्दै हामीले उनको विगत कोट्याउन थाल्यौँ । त्यसबखत उनी भावुक पनि बनिन् । लामा-लामा सुस्केरा हालिन् । पानी पिइन् ।

त्यसपछि बोलिन्— हम् भारतसे हैं । उधर हमारा एक बेटा हे, जिस्को मेने पाला था । लेकिन बडा होकर उसीने मेरा ये हालत कर्दिया ।

यत्ति भनिनसक्दै उनका आँखाहरू टिल्पिलाइसकेका थिए ।

उनी सुनाउँदै जान्छिन्, हामी सुन्दै जान्छौँ ।

पहिले उनले एक अस्पतालमा काम गर्थिन् रे ! उनको आफ्नो सन्तान थिएन । त्यसैले उनले कोही-कसैलाई ‘एडप’ गरिन् । जसले उनलाई मागेर खाने बनायो । उनी सुनाउँदै थिइन् ।

उनी आफ्नो केही-कोही नभएको बताउँथिन् । ‘कहिलेसम्म नेपाल बस्नुहुन्छ ?’ प्रश्नको जवाफमा उनी नाजवाफ बन्थिन् । हुन पनि उनको कुनै ठेगान कहाँ रहेछ र ?

यहाँ कहाँ बस्नुहुन्छ ? मागेर खान पुग्छ ? लगायतका थुप्रै प्रश्नहरू हामीले सोध्यौँ । उनी ३ हजारको कोठामा बस्दिरहेछिन् । भन्दै थिइन्— मागेको पैसाले कहिले त खानै पनि पुग्दैन ।

उनको कथाले मलाई पनि भावुक बनायो । घुम्न आएकाहरू हामीमाथि घुरिन थाले । उनीहरू हाम्रै मजाक उडाएझैँ पनि गर्थे घरी-घरी । तर, भीडको ख्याल नगरी म उनको कथामा डुब्दै गएँ ।

मनमा विभिन्न तर्कनाहरू उठ्न थाले । मानौँ— धेरैवटा मनहरू छन् र उनीहरूबीच वतृत्वकला प्रतियोगिता चलेको छ । जे होस्, मनमा अनेकानेक तर्कहरू उठे । तर, कथा उनको सुन्नु नै थियो ।

उनीसँग केही समय व्यतीत गर्‍यौँ र अलि अगाडि बढ्यौँ । एक बृद्ध भेटिए । जसका शरीरभरि घाउहरू छरपस्ट थिए । आफ्नो भयानक अवस्था देखाएर उनी पैसा मागिरहेका थिए । उनीसँग पनि कुराकानी गर्‍यौँ । हामीले घर कहाँ हो ? किन यस्तो हालत भयो ? अस्पतालमा हुनुपर्ने मान्छे किन सडकमा ? लगायतका दर्जन प्रश्नहरू तेर्स्यायौँ ।

“म विगत २५ वर्षदेखि कुपोषणको शिकार भएको छु । हरेक बुधबार पाटन अस्पताल उपचारका लागि जान्छु,” हाम्रा प्रश्नहरूमाथि उनको छोटो जवाफ आयो ।

उनको अवस्था दयनीय भएपनि उनी खास बाध्यात्मक अवस्थाबाट गुज्रिएका होइनन् भन्ने थाहा पाएपछि हामी अझ अगाडि बढ्यौँ । उनले नै भनेअनुसार उनीसँग गाउँमा टन्न जग्गा-जमिन रहेछ । केही कुरा सम्झाएर हामी आफ्नो बाटोतर्फ लाग्यौँ ।

हामी के अगाडि मात्रै बढ्न थालेका थियौँ । “दिदी पानी पिउनुस् न” भन्दै एक कलिलो आवाज पछाडि थर्कियो । केही पानीका बोत्तल बोकेर हिँडिरहेकी एक सानी नानी देखिइन् ।

उनको कुरा सुन्यौँ । उनी तिलगङ्गामा आमा-बाबूका साथ बस्दीरहेछिन् । उनी भन्दै थिइन्— आमा पनि पानी नै बेच्नुहुन्छ ।

आफू फ्री-इडुकेसन लिने र स्कूल छुट्टी भएपछि पानी बेच्न आउने गरेको सुनाउँदै थिइन् ती नानी । सानैमा आएको उनको मगज देखेर हामी दङ्ग थियौँ । उनी दु:खका कुरा गर्थिन् । जीवनको कुरा गर्थिन् ।

सानी नानीको कुरा सुनेपछि हाम्रो साझा निष्कर्ष थियो— सङ्घर्ष गर्न उमेरले नछेक्ने रहेछ ।

यी पात्रहरू भेटिसक्दा ठूलो साँझ निकट सर्दै थियो ।

बेलुकाको ८ बजेको हुँदो हो । हामी अगाडि बढ्ने प्रयत्नमा थियौँ । अलिक अगाडि भेटिइन् ५/६ वर्षकी बटुका थापेर माग्न बसेकी एक नानी । मान्छेहरू तँछाडमछाड गर्दै घर फर्किन हतारिँदै थिए । हामी भने ती नानीसँग गफिन थाल्यौँ ।

हामी संवादकै दौरानमा थियौँ । एकछिनपछि एक महिला आउँछिन् र ती सानी नानीलाई पिट्न थाल्छिन् । मानौँ— ती नानीले ठूलै कसूर गरेकी छन् ।

हामीले सोध्यौँ— दिदी किन कुट्नुभएको नानीलाई ?

हाम्रो प्रश्नको शाब्दिक जवाफ नदिई ती महिला हामीमाथि पनि जाइलाग्न पो थालिन् ! उनको मुखबाट रक्सीको गन्ध आइरहेको थियो । तथानाम गाली गर्न खप्पिस ती महिलाले घण्डका बोली ओकलिरहेकी थिइन् ।

उनी आफू तेस्रोलिङ्गी भएको र आफूलाई कसैले केही गर्न नसक्ने दाबी गर्थिन् । “म तिमीहरूलाई तेस्रोलिङ्गीको पावर देखाउँछु” भन्थिन् घरी-घरी । हामीलाई धम्क्याउन थालिन् ।

अनावश्यक तर्क गर्नुभन्दा यहाँबाट हिँड्नु बेस सम्झेर हामी त्यहाँबाट हिँड्न खोज्यौँ । ती महिला त पछाडि पो लागिन् । ती महिलाबारे जानकारहरूले हामीले ‘केही नभनी आफ्नो बाटो लाग्नू’ भन्ने सल्लाह दिन्थे । हामी त्यही गर्‍यौँ । तर, हामीमाथि जाइलाग्न खोज्दासमेत वरिपरि रहेकाहरूले केही भनेनन्/गरेनन् ।

तर, ती महिला पछाडि लागिन् । एकदमै डर लाग्यो । मनमा भय र रिसको मिश्रित भावना छचल्किरह्यो । तर, तत्कालै केही गर्नुहुँदैन भन्ने पक्षमा थियौँ हामी ।

अत: मैले केही वरिष्ठ पत्रकारहरूको जीवनी र उनीहरूले गरेको सङ्घर्षको कथा पढेकी छु । उनीहरूले झेल्नुपरेको जोखिमबारे सुनेकी छु । तर, एउटा जोखिम आफैँमाथि आयो, केही कुरा सिकायो ।

मान्छेका दु:खबारे खोजी गर्नु हाम्रो गल्ती थियो ? स्वप्रश्न गर्‍यौँ । जसलाई सूचना दिइन्छ, उनीहरूले नै अप्ठ्यारोमा पर्दा हाँस्दै रमिता मात्रै हेर्छन् । यो देखेर कहीँ कतै हीनताबोध भयो । जुन हीनताबोध आजसम्म पनि छ । म त्यो एकदिन सम्झेर अझै पनि झस्किन्छु कहिलेकाहीँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved