सधैँ विवादमा ‘महरा सर’ !

यो डेढ दशकमा महरा ३ पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री बने । त्यतिले पनि नपुगेर सभामुखसमेत बने । तर, यी महरा ‘सर’ विवादरहित बन्न भने कहिल्यै सकेनन् ।

नेपालभ्युज

सधैँ विवादमा ‘महरा सर’ !

काठमाडौं । माओवादी जनयुद्धअगाडि कृष्णबहादुर महरा एक शिक्षक अर्थात् ‘सर’ थिए । उनले धेरै माओवादी नेतालाई पढाएनन् मात्रै, पार्टीमा पनि जोडे । त्यसैले अहिले पनि धेरै माओवादी नेताका लागि महरा ‘सर’ हुन् ।

माओवादी शान्ति प्रक्रियामा आउँदै गर्दा उनी भद्र र शालीनमात्रै होइन, वैचारिक नेताका रूपमा समेत चिनिन्थे । महरा पार्टीका तर्फबाट सरकारसँग वार्ता गर्ने टोलीका संयोजकसमेत बनेका थिए । प्रचण्ड-बाबुरामपछि उनले पार्टीभित्र राम्रो प्रभाव राख्दथे ।

यही प्रभावको बलमा उनी पटक-पटक लाभको पदमा पुगे । यो डेढ दशकमा उनी ३ पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री बने । त्यतिले पनि नपुगेर सभामुखसमेत बने । तर, यी महरा ‘सर’ विवादरहित बन्न भने कहिल्यै सकेनन् ।

लाभको पदमा आसीन रहँदा होस् वा नरहँदा, उनी सधैँ विवादित बनिरहे । महरा अहिले कुनै राजकीय पदमा छैनन् तर, विवादरहित पनि छैनन् । हाल माओवादी उपाध्यक्ष रहेका उनी सुन तस्करीको नयाँ विवादमा तानिएका छन् ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ९ किलो सुन भित्र्याउने समुहमा संलग्नताको आरोप महरा र उनका छोरा राहुलमाथि लागेको छ । तर, यसमाथि थप अुनसन्धान भने अगाडि बढेको छैन । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित विपक्षी दलहरूले यसलाई ‘स्कीप’ गरेर अगाडि बढ्न नमिल्ने अडान राखेका छन् । तर, माओवादी भने त्यसमा मौनप्राय: छ ।

यस सम्बन्धमा यसअघि बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चासो व्यक्त गरेका थिए । प्रचण्डले ‘यदि गल्ती छ भने जेल बस्न तयार हुनू’ भनेर भनेको सहभागीले सुनाएका थिए । त्यसमा महराले आफ्नो संलग्नता नभएको स्पष्टीकरण दिएका छन् । उनले ‘निवेदन बोकेर सीआईबीकहाँ बयान दिन आफैँ जान्छु’ भनेर जवाफ फर्काएका थिए ।

तस्करसँग महराको २२ पटकभन्दा धेरै र छोरा राहुलको २३४ भन्दा धेरैपटक कुराकानी भएको रिपोर्ट सार्वजनिक भएको छ । यही रिपोर्टलाई आधार मानेर अनुसन्धान अगाडि बढाउनुपर्ने माग पार्टीभित्र र बाहिर चौतर्फीरूपमा भइरहेको छ ।

उसो त महरा विवादमा मुछिएको यो पहिलोपटक भने होइन । उनी यसअगाडि पनि पटक‍‍-पटक विवादमा तानिएका व्यक्ति हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालीन शान्ति मन्त्रालयअन्तर्गतको शान्ति कोषबाट माओवादी लडाकुका नाममा निकासा दिने रकम प्रकरणमा पनि उनी मुछिए । लडाकुका नाममा लिएको रकमलाई आफूअनुकूल वितरण गरेको र लेखा परीक्षण नगरेको भन्दै उनीमाथि आलोचना बढ्यो । २०६४ वैशाख ७ गतेदेखि शान्ति कोषले ३० हजार ८५२ माओवादी लडाकुका लागि मासिक ५ करोड ७३ लाख ८५ हजारका दरले ९ महिनामा ५२ करोडभन्दा बढी निकाशा गरेको थियो ।

सभामुख हुँदा उनमाथि बलात्कारको आरोप लाग्यो । संसद् सचिवालयकै एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा गरे र प्रहरी हिरासत पुगे ।

पछि ती महिला कर्मचारीले आरोप फिर्ता लिएपछि उनले सफाइ पाए । त्यसबेला पनि उनले ती महिला कर्मचारीलाई बयान फेर्न दबाब दिएको समाचार प्रकाशित, प्रशारित भएका थिए ।

त्यसबीचमा उनी अडिओ प्रकरणमा पनि मुछिए । एक चिनियाँ व्यापारीसँग करोडौं रकम मागेको अडिओ बाहिरियो । २०६७ भदौमा सार्वजनिक भएको उक्त अडिओबारे चारैतिर प्रश्न उठ्यो तर, प्रकरणले सही अवतरण पाएन । कुनै छानबिन नभएपछि त्यो यत्तिकै सेलायो ।

उनी ३३ किलो सुन प्रकरणमा पनि मुछिए । उनले संलग्नता नभएको स्पष्टीकरण दिँदै हिँडे । त्यसबेला उनी अर्थमन्त्री थिए । एक कार्यक्रमको सिलसिलामा पोखरा पुगेको उनले सुन प्रकरणमा आफू ‘भुरा माछा’ मात्रै भएको विवादित अभिव्यक्ति दिए । उनको अभिव्यक्ति चौतर्फी विवादित बन्यो । तर, अनुसन्धान भने भएन ।

कतिपयले महराको अभिव्यक्तिले नै उनलाई दोषी देखाएको भन्दै अनुसन्धान हुनैपर्ने माग राखे । तर, पछि त्यो प्रकरण पनि यत्तिकै सामुसम पारियो ।

महराका विवादित प्रकरण यत्तिमै रोकिँदैनन् । उनी अर्थमन्त्री हुँदा ६६ करोड गैरबजेटरी रकमान्तर गरेको, छोराको एनजिओमा चिनियाँ लगानी, सञ्चारमन्त्री हुँदा कौडीको भाउमा फ्रेक्वेन्सी बिक्री गरेकोलगायतका दर्जनौं आरोप र  विवादमा उनी मुछिएका छन् ।

***

पार्टी उपाध्यक्षसमेत रहेका महराका यी विवादित क्रियाकलापका कारण माओवादी नेतृत्वलाई अहिले अप्ठ्यारो मात्रै पारेको छैन, नैतिक प्रश्नसमेत उठेको छ ।

अहिले सरकार माओवादीकै नेतृत्वमा छ । प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् भने त्यसपछिको महत्त्वपूर्ण मन्त्रालय गृहमा माओवादीकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । उनीहरूले सुशासन र सामाजिक न्यायमा कुनै सम्झौता नहुने बताइरहँदा पार्टीकै उपाध्यक्ष मुछिएको ९ किलो सुन तस्करीबारे के होला भन्ने चासो बढेको छ ।

त्यसो त प्रचण्ड र नारायणकाजीले पुराना काण्डहरूको एक/एक फाइल खोल्दै जाने बताइरहेका छन् । यस्तो अवस्थामा महरामाथि छानबिन कहिले सुरू हुन्छ ? पुराना अनियमितता तथा भ्रष्टाचारका फाइल कति खुल्छन् र को-को अनुसन्धानका भागीदार बन्लान्, हेर्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved