काठमाडौंमै फेरि सामान्य खोलाले निल्यो बालक ! जिम्मेवार को ?

नेपालभ्युज

काठमाडौंमै फेरि सामान्य खोलाले निल्यो बालक ! जिम्मेवार को ?

काठमाडौं। ‘एक छिनमा फुटसल खेलेर घर फर्कन्छुु’ भन्दै गएका साजन आले मगर अझै फर्किएका छैनन्। घटना संघीय राजधानी काठमाडौंकै हो। रानीबारी नजिकैको सामाखुसीको खोलामा खसेर हराएका उनी अझै भेटिएका छैनन्।

आइतबार अपराह्न साढे ४ बजे सडकको डिलबाट हिँडेका उनी खस्न पुगेका थिए। काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत १३ वर्षीय साजनको अवस्था अझै अज्ञात छ।

मंगलबार दिउँसो मुसलधारे वर्षा भएको थियो। अरू बेलामा थोरै पानी बग्ने खोलाको पानी उर्लिएको थियो। नाली जस्तै आकारमा बगेको खोला भरिभराउ थियो।

घटनाको जानकारी पाएपश्चात् लैनचौर प्रहरी वित्त र प्रहरीको विपद् व्यवस्थापनलगायत विभिन्न निकायले खोजी गरिरहेका छन्। सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ। तैपनि साजनको अत्तोपत्तो छैन।

घटना भएको २८ घण्टा (समाचार प्रकाशन हुँदा) बितिसकेकाले साजन जीवितै भेटिन सम्भावना समेत न्यून रहेको आकलन छ। आँखै अगाडि पुतलीझैँ यताउति गरिरहेका साथी खोलामा खसेर बेपत्ता हुँदा साथीहरू आत्तिएका छन्। परिवारमा चोट छ।

हराएका साजनको आमा तारा आलेमागर पोर्चुगलमा छिन्। बुबा यही काठमाडौंमा । साजन बुबा मनोज आले र फुपूसँग रानीबारी बस्थे।
साजन भेटिन समय लागेसँगै उनको अवस्थाबारे धेरै अड्कल भइरहेका छन्।

छोरा हराएको खबरसँगै आमा तारा नेपाल आउँदैछिन्। ‘‘बाबुलाइ सास बाँकी छैन भने लास भए पनि लिएर आउनुस्’’ मुर्छित उनी पतिलाई फोनमा भन्ने गर्छिन्।

ताराको यस्तो आग्रहसँगै मनोज मोबाइलमा छोरा साजनको फोटो हेर्दै भक्कानिन्छन्। परिवारमा कोलाहलको स्थिति समाल्न नसकेर घरबाहिर निस्कन्छन्। घरपारि अलपर बगिरहेको खोला नियाल्दै टोलाउन थाल्छन्।

सामाखुसीको नालीले बालक बगायो, खोजी हुँदै

साजन खोलामा खसेर बेपत्ता भएसँगै बुबा र फुपूको आँसु रोकिन सकेको छैन। भाइको हेरचाह गर्दै आएकी फुपू भन्छिन् ‘‘सडकमा हिँडिरहेको बच्चालाई खोलाले बगायो। यसको जिम्मेवारी कसले लिन्छ ?’’

स्थानीय अग्नि खनाल आँखै अगाडी बालक खोलामा खसेको आफूहरूले देखे पनि उद्धार गर्न नभ्याएको बताउँछन् । उनी भन्छन्, ‘‘डिलबाट खस्यो। अलीपर खोला छोपिएको थियो। यसैले समात्न जान सक्ने अवस्था थिएन।’’

स्थानीय केदारलाल श्रेष्ठ भने महानगरको दोष रहेको बताउँछन्। उनी भन्छन्, ‘‘खोला नदीमा तारबार र छेक्नुपर्नेमा खुला छाडिएकोले दुर्घटना भयो।’’

साजनको खोजी जारी रहेको महानगरीय प्रहरी वृत्त लैनचौरका प्रहरी नायब उपरीक्षक गणेश बम बताउँछन्।

काठमाडौं बालक सामान्य खोलामा खसेको पहिलो घटना होइन। अघिल्लो साल कपनमा एक बालक बगाएका थिए। उनी पनि जीवित भेटिन सकेनन्।

२०७४ असार ३० गते नेपालटारकी कक्षा ३ मा पढ्ने १० वर्षीया विनीता फुयाँलले नेपालटारको सडक नालीमा खसेर ज्यान गुमाइन्। सोही समयमा अर्की बालिका सत्या सापकोटालाई ढलले बगाउँदै गर्दा उद्धार गरिएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved