बेटिङ प्रचारमा पक्राउ परेका कलाकारहरू सरकारी वकील कार्यालयमा

नेपालभ्युज

बेटिङ प्रचारमा पक्राउ परेका कलाकारहरू सरकारी वकील कार्यालयमा

काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार-प्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सहित आठ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् ।

बिहीबार प्रहरीले उनीहरूलाई पक्राउ गरी सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएको छ । पक्राउ परेकाहरूले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको प्रहरीको दाबी छ ।

युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए । पक्राउ परेकाहरूमाथि जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुने उनको भनाइ छ ।

‘आज हामीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौँ । वानएक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोशन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने, पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौँ,’ केसीले भने, ‘पक्राउ परेका व्यक्तिले वानएक्सबेटलाई प्रमोशन गर्ने र प्रमोशन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलिसिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब युट्युबमा भएकाहरू छन् । हाम्रोमा यो गैरकानुनी हो । जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुन्छ ।’

नेपालको मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को उपदफा (२) को (क) मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved