‘गतिलो’ काम गरिरहेका किरातीलाई हटाउने प्रधानमन्त्रीको तयारी !

प्रधानमन्त्री प्रचण्ड संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्रालय नै खाली गराउने मनसायमा पुगिसकेको स्रोत बताउँछ । उनीनिकट स्रोतले भन्यो, “यसका धेरै कारण हुनसक्छन् । तर, प्रधानमन्त्रीज्यू लगभग यही सोचमा पुगिसक्नुभएको छ ।”

‘गतिलो’ काम गरिरहेका किरातीलाई हटाउने प्रधानमन्त्रीको तयारी !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदन किरातीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खोस्दैछन् भन्ने चर्चा चलेको केही दिन भयो ।

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनका लागि किरातीलाई मन्त्री पदबाट हटाउने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् भनिन्छ ।

जनमतले यसअघि नै आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । त्यसपछि केही समय खानेपानी मन्त्रालय सम्हालेको जनमत अहिले सरकारबाहिरै छ । अहिले यो मन्त्रालय नेपाली कांग्रेसका रमेश रिजालसँग छ, उनी मन्त्रालय छाड्ने पक्षमा छैनन् ।

यस्तो अवस्थामा जनमतलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) ले पाएको मन्त्रालयबाट मिलाउनुपर्ने हुन्छ । यदि त्यसो भए जनमतले पाउने मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन हुने बताइन्छ, जसको नेतृत्व सुदन किरातीले गरिरहेका छन् ।

यसबारे माओवादी केन्द्रका एक पदाधिकारीसँग नेपालभ्यूजले प्रश्न राख्यो— सुदन किरातीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खोसेर जनमतलाई दिइँदैछ ? उनको जवाफ थियो, “जनमतसँग वार्ता भइरहेको सत्य हो र उसलाई सरकारमा ल्याउनुपर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ । तर, मन्त्रालय कसरी मिल्छ । अहिल्यै भन्न सकिँदैन ।”

यद्यपि मन्त्रालय भने माओवादी केन्द्रले पाएकोबाटै निकालिने उनले बताए । “मन्त्रालय निकाल्दा हामीले पाएकोबाटै हुन्छ त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासनमध्ये एक खाली गराउने भन्नेमा मोटामोटी छलफल टुङ्गिएको छ,” उनले भने । अहिले माओवादी केन्द्रसँग गृह, ऊर्जा, सञ्चार, पर्यटन र सङ्घीय मामिला मन्त्रालय छ ।

यद्यपि प्रधानमन्त्री प्रचण्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै खाली गराउने मनसायमा पुगिसकेको स्रोत बताउँछ । उनीनिकट स्रोतले भन्यो, “यसका धेरै कारण हुनसक्छन् । तर, प्रधानमन्त्रीज्यू लगभग यही सोचमा पुगिसक्नुभएको छ ।”

त्यसो त मन्त्री भएपछि किरातीले गरेका काम र बोलेका भाषाले समग्रतामा राम्रै गरेपनि पार्टीलाई भने क्षति भएको माओवादी केन्द्रका नेताहरूको बुझाइ छ । अरु मन्त्रीहरूले भन्दा किरातीले तुलनात्मकरूपमा राम्रो गरिरहेका छन् भनेर चर्चा गरिन्छ ।

वरिष्ठ पत्रकार युवराज घिमिरले आफ्नो कार्यक्रम ‘शून्य समय’मा भन्दै थिए, “सुदन किरातीले अरु मन्त्रीको तुलनामा एउटा थिति बसाउन खोजेका छन् ।” गत वैशाख ११ गते साँझ काठमाडौंबाट ‘टेकअफ’ भएको फ्लाई दुबई जहाजमा भएको गडबडीमा मन्त्री किरातीले देखाएको चिन्ता र गरेको समाधानको सन्दर्भ निकाल्दै पत्रकार घिमिरेले भनेका थिए, “एउटा मन्त्रीले निभाउनुपर्ने भूमिका निभाउँछन् उनी ।”

नियममा बसेर काम नगर्ने कर्मचारीलाई कारबाही गर्नू, ऋण तिरेर मन्त्रालय मातहतका निकायलाई नाफामा पुर्‍याउनू, पुरातात्त्विक महत्त्वका सांस्कृतिक एवम् धार्मिक स्थलहरूको प्रवर्द्धन र सरसफाइ गर्नूलगायतका काम देखेर ‘सुदन किराती मन्त्रीबाट हट्नुहुन्न’ भन्नेहरूको सङ्ख्या पनि बढिरहेकै छ ।

तर, प्रधानमन्त्री प्रचण्डले भने निर्मम कदम चाल्न खोजिरहेका छन् । त्यसो त वर्तमान सरकारमा माओवादी केन्द्रबाट किराती मात्रै मन्त्री छैनन्, अरु ४ जना नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत, रेखा शर्मा र अमनलाल मोदी पनि मन्त्रीकै रूपमा छन् । जबकी माओवादी केन्द्रका मन्त्रीमध्ये किरातीले राम्रै काम गरेका छन् भनेर चर्चा गरिन्छ । तर, उनैलाई किन ‘फायर’ हान्न चाहेका हुन् प्रधानमन्त्री प्रचण्डले ? चर्चा गरौँ ।

+++

व्यापारीको ‘अफर’ सार्वजनिक गर्नू : यसअघि मन्त्री किरातीले आफूलाई पनि ३ करोडको ‘अफर’ आएको खुलाएका थिए । हक्की स्वभावका उनले ‘मन्त्री पदबाट हट्न परे सबै खुलाएर मात्रै हट्छु’ भन्दै ३ करोडको अफरबारे खुलासा गरेका थिए ।

मन्त्री भएको ७ दिनभित्र सुदनलाई प्रस्ताव आएको थियो- ‘निगमको जीएम फेरौँ, ३ करोड पाउनुहुन्छ’

जेठ १४ गते काठमाडौंको जमलमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, “वायु सेवा निगमको जीएम फेरौँ तपाईंलाई टोकन मनी १ करोड, काम गरेको ७ दिनमा १ करोड र अर्को महिनामा १ करोड गरी ३ करोडको अफर गर्नुभयो उहाँले । त्यसबेला मैले सम्झिएँ, म मन्त्री भएकै रहेछु भनेर । मेरो मुटुले ठिक ठाउँमा काम गरेन । कतै खिचिएको छ कि, कतै रेकर्ड गरिएको छ कि जस्तो लाग्यो ।”

यसले पार्टीमाथिसमेत प्रश्न उठ्नसक्ने बुझाइ माओवादी केन्द्रका नेताहरूको छ । माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, “मन्त्रीज्यूको शैलीले !  कतै पार्टीमाथि पो प्रश्न उठ्छ कि भन्ने हुनसक्छ अध्यक्षको ।” त्यसो त सामान्यतया:  मन्त्री तथा सांसदले त्यसरी लिएको रकम पार्टीमा जान्छ भनेर विश्वास गरिन्छ ।

मन्त्री किरातीको हक्की स्वभावसँग प्रधानमन्त्री प्रचण्ड त्यति खुसी नभएको माओवादी केन्द्रभित्र चर्चा गरिन्छ । यो पङ्क्तिकारसँग अनौपचारिक गफगाफका क्रममा माओवादी केन्द्रका एक नेता भन्थे, “सुदन कमरेड हक्की हुनुहुन्छ । त्यस्तो हुनु आफैँमा राम्रो हो । तर, कहिलेकाहीँ संस्थालाई नै घाटा पर्नजान्छ भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ ।” यस सन्दर्भमा खासगरी दोस्रो तहका नेताले प्रधानमन्त्री प्रचण्डको कान फुकिदिएको बताइन्छ ।

भारत भ्रमण ‘बहिष्कार’ गर्नू :

 जेठ १७ देखि २० गतेसम्म भारतको ४ दिने भ्रमण गरेर फर्किएपछि आफ्नो भ्रमण सफलमात्रै होइन, परिणामुखी भएको दाबी गर्दै थिए प्रधानमन्त्री प्रचण्ड । तर, त्यत्ति नै बेला मन्त्री किरातीले कटाक्ष गरे । “दुई देशबीच सम्झौता हुँदैन भने विदेश पनि नजाने, त्यसैले यसपालि भारत पनि नगएको । खासमा त पर्यटनमन्त्री त सवारीमन्त्री पनि हो, नागरिक उड्डयन मन्त्रीसँग त जहाज पनि हुन्छ, तर त्यहाँ गएर आफ्नो भूमिकै हुँदैन भने किन जाने ?,” मन्त्री किरातीले भनेका थिए ।

मन्त्री किरातीको त्यो कटाक्षले आफ्नो अपमान भएको महसुस प्रधानमन्त्रीले गरेका छन् । यसअघि बसेको मन्त्रिपरिषद्‌ बैठकमा किरातीको त्यही अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको काम/कारबाहीका सन्दर्भमा गलत प्रचार नगर्न भनेका थिए ।

‘देश स्वार्थ समूहले चलाएको छ’ भन्नू :

मन्त्री किरातीले यसअघि देश स्वार्थ समूहले चलाउने गरेको ठोकुवा गरेका थिए । जबकी अहिले मुलुकको नेतृत्व उनकै पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिरहेका छन् ।

एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए, “घूस नखाइदिँदा पनि मान्छेलाई यातना भइदिँदो रहेछ । करोडौँको अफर आउँदा लिइनँ, राम्रै अफर आउने रहेछन् । बाँचुन्जेल त त्यो रकमले पुग्ला या नपुग्ला तर राम्रै अफर आउने रहेछ । एउटा फाइलको पछाडि मन्त्री नै लाग्नुपर्छ नत्र टेबुल-टेबुलमा फाइल हराउने संस्कृति र प्रवृत्ति छ । मुख्यतः स्वार्थ समूहको प्रभाव हो । उसको हितविपरीत जाँदा काम बन्दैन । राज्यसत्ताको एक अंग र अर्को अंग मिलेर सिंगो राज्यसत्तामाथि नै कार्टेलिङ गरिदिने प्रवृत्ति रहेछ । जुन प्रवृत्ति सच्याउन र पुरानो ऐनकानून सच्याउन लाग्नुपर्नेछ । चाहेर पनि काम नहुने अवस्था छ । सदन र सरकार अरुकै इसारामा चल्छ । नेपालकै स्वार्थ समूहले देश चलाएको छ ।”

उनको यो अभिव्यक्ति पनि प्रधानमन्त्री प्रचण्डलाई मन नपरेको बताइन्छ । यसबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समीक्षा नै भएको स्रोत बताउँछ । बिचमा कुनै गडबड नभए बजेट पारित भए लगत्तै मन्त्री किरातीलाई हटाएर उक्त मन्त्रालय जनमतलाई दिने प्रधानमन्त्रीको तयारी रहेको बालुवाटार निकट स्रोतले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved