भेरी किनारमा आधुनिक सहर बन्दै

गुर्भाकोट, लेसबेसी र भेरीगंगा नगरपालिकाको घोरेटारदेखि घाटगाउँसम्मको १ सय १५ किलोमिटरमा तीन नगरपालिकालाई समावेश गरी आधुनिक सहर निर्माण गरिने छ।

भेरी किनारमा आधुनिक सहर बन्दै

सुर्खेत। पूर्वी सुर्खेतका गुर्भाकोट, लेसबेसी र भेरीगंगा नगरपालिकाको घोरेटारदेखि घाटगाउँसम्मको १ सय १५ किलोमिटरमा तीन नगरपालिकालाई समावेश गरी आधुनिक सहर निर्माण गरिने भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भेरी किनारमा आधुनिक सहर उपप्रधान, रक्षा र कानुनमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन्।

२० वर्षपछि भेरी किनारमा नमुनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने उपप्रधानमन्त्री खड्काले बताए।
शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताए।

‘‘स्थानीय  नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरुयोजनालाई कानुनको रूप दिनेछ ’’ उनले भने, ‘‘सरकारले आर्थिक वर्ष ०६८\०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक सहर निर्माणको घोषणा गरे पनि झन्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो।’’

भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहरको गुरुयोजना निर्माणको काम अघि बढिरहेको उपप्रधानमन्त्री खड्काले बताए। ‘‘गुरुयोजना अनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक सहर बनाउने योजनामा साथ दिन जरुरी रहेको छ’’ उनले भने, ‘‘नयाँ सहरमा सबै किसिमका सुविधा नागरिकहरूलाई उपलब्ध गराइनेछ।’’

मानिसको जीवनमा सबै खालका सुविधा र अवसरहरू यो सहरबाट उपलब्ध गराउने उद्देश्य आफूले लिएको उपप्रधानमन्त्री खड्काले बताए। ‘‘देशका अन्य क्षेत्रले भेरी किनारको नयाँ सहरबाट सिक्ने र आफ्नो क्षेत्रमा लागू गर्न सक्ने बनाउँछौँ’’ उनले भने, ‘‘स्थानीय तहलाई गुरुयोजना अनुसार काम गर्न निर्देशन सक्नुपर्छ।’’

विकास निर्माणका कामहरू गर्दा कम्तीमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्न जरुरी रहेको उपप्रधानमन्त्री खड्काले बताए। ‘‘अहिले स्थानीय तहले गरेका विकास–निर्माणका कामहरू दीर्घकालीन छैनन्’’ उनले भने, ‘‘एक सय वर्षको योजना बनाएर काम गर्नुहोस्।’’
भेरी किनारमा निर्माण हुन लागेको नमुनाको आधुनिक सहरका लागि बजेटको अभाव नहुने उपप्रधानमन्त्री खड्काले बताए।

‘आधुनिक सहरका लागि स्वदेशी मात्रै होइन, विदेशबाट पनि स्रोत जुटाउँछौँ । बजेट अभावका कारण आधुनिक सहर निर्माणको काम रोकिदैन्’ उनले भने, ‘यो सहरको भविष्य निकै राम्रो सोचका साथ बनाएका छौँ ।’

भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहरको गुरुयोजना निर्माण अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले बताए । ‘विसं.२१०० सालभित्रमा आधुनिक सहर निर्माणका कामहरू सम्पन्न हुनेछन्’ उनले भने, ‘नेपालमा बन्दै गरेका नयाँ सहरमध्ये भेरीगंगा नमुनाको सहर ११ औँ सहर रहेको छ।’

अरू १० वटा नयाँ सहरको कार्यालय स्थापना गरेर काम गरिरहेका र नयाँ सहरको ११ ओं कार्यालय स्थापना गरेर ओैपचारिक काम सुरु गरेको सहसचिव अधिकारीले बताए।

‘पहाडी जिल्लाबाट तराईमा हुने बसाइँ सराई रोक्नका लागि भेरी नदी किनारको आधुनिक सहर महत्त्वपूर्ण हुनेछ’ उनले भने,‘पहाडी जिल्लाहरूमा जनसङ्ख्या कम छ । बसाइँ सराइ बढ्दो छ। यसको सन्तुलन मिलाउन भेरी किनारमा बन्ने नयाँ सहरले महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यका अनुसार ४० अर्ब हाराहारीको लागतमा लाग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved