धनगढीको केजी अस्पतालमा बिरामीका आफन्तले गरे लफडा

नेपालभ्युज

धनगढीको केजी अस्पतालमा बिरामीका आफन्तले गरे लफडा

काठमाडौं। सुदूरपश्चिमको धनगढीस्थित अस्पतालमा बिरामीमाथि लापरबाही भएको भन्दै बिहीबार बिहानैदेखि लफडा भएको छ।

धनगढीको केजी अस्पतालमा अस्पताल प्रशासन र डाक्टरले बिरामीलाई दुःख दिएको भन्दै लफडा भएको हो। पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेपछि त्यत्तिकै छाडिएको बिरामीका आफन्तको आरोप छ।

बुधबारदेखि अस्पतालमा उपचाररत रहेकी डडेल्धुराको आलीताल गाउँपालिका–३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर अलपत्र पारी अन्यत्र लैजान भनेपछि आफन्तले विरोध गरेका हुन्।

अस्पतालले आफ्नी आमाको पित्तथैलीको पत्थरीको शल्यक्रिया जसरी पनि गरिदिने बताएपछि बिहीबार साँझ अप्रेशन थिएटरमा लगिएको तर पछि गएर डाक्टरले पेटमा प्वाल पारेर गर्न नसकिने भन्दै अन्यत्र लैजान सुझाएको कुरुवा बसेका बोहराका छोरा लक्ष्मणले बताए।

अस्पतालले सुरुमा उपचार भइहाल्छ अन्त लैजानुपर्दैन भनेर भर्ना लिएको तर आधा अप्रेसन गरेपछि यहाँ हुँदैन अन्त लैजानु भनेर दुःख दिएको उनको आरोप छ।

बोहराले दुरबिन विधिबाट अप्रेसन गर्ने भन्दै आमाको पेटमा पारिएको प्वालले दुई महिनासम्म स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने र उपचारमा अहिलेसम्म लागेको सबै शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन्।

उपचारमा संलग्न अस्पतालका व्यवस्थापकसमेत रहेका सर्जन डाक्टर दीपक सिंहले दुरविन विधिबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्ने क्रममा आन्द्रामा कोलेस्ट्रोलको मात्रा बढी देखिएपछि जोखिमपूर्ण हुने भएकाले रोकिएको बताए।

सिंहले बोहराकै आफन्तले दुई महिनापछि अन्य अस्पतालमा उपचार गर्न लैजाँदा हुन्छ कि हुदैन ? भनेर जिज्ञाशा राखेपछि काठमाडौं वा भारतमै लगेर पनि गर्न सकिने सल्लाह दिएको तर रेफर भने नगरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved