चीन र ताइवानमा हालै मैले जे देखेर आएँ

३० वर्षयता चीनका लागि विश्व खुला भएपछि अमेरिका र चीन यसरी जोडिएका छन् कि यी दुई बीचको सम्बन्धमा जुनसुकै चिज हतियार वा औजार हुन सक्दछन् ।

चीन र ताइवानमा हालै मैले जे देखेर आएँ

कोभिडको प्रहारपछि पहिलोपटक म चीन भ्रमणबाट फर्किएको छु । बेइजिङमा हुँदै गर्दा मलाई मेरो पत्रकारिताको पहिलो नियम सम्झना भयो । यदि, गइँदैन भने थाहा पनि पाइन्न ।

हाम्रा दुई देश– अमेरिका र चीनबीचको सम्बन्ध यति छिटो, यति नराम्रोसँग बिग्रिएको छ, हाम्रा सम्पर्क विन्दु यति कम भएका छन् कि अत्यन्त थोरै अमेरिकी रिपोर्टर मात्र चीनमा बाँकी छन् ।

हाम्रा नेताहरू बिरलै कुरा गरिरहेका छन् । हामी अहिले पिन हलबाट एक-अर्कालाई हेरिरहेका विशालकाय गुरिल्लाजस्तो भएका छौं । यसबाट कुनै राम्रो हुनेवाला छैन।

ताइवानी राष्ट्रपति त्साई इन बेनको हालैको अमेरिका भ्रमणले चीनलाई ताइवानका तटमा प्रत्यक्ष ‘फायर ड्रिल्स’ गर्न प्रेरित गर्यो । र यो चेतावनी दियो कि स्वतन्त्रतातर्फ थप कुनै कदम चाले त्यो ताइवानी जलडमरुको शान्ति र स्थायित्वका लागि असंगत हुनेछ । यो स्थिति कतिसम्म गर्मागर्मी छ भन्ने कुराको ताजा स्मरण थियो ।

दुवै पक्षको कुनै सानो गल्तीले युक्रेनलाई छिमेकीले धुलिसात पारेजस्तै हुनसक्ने अमेरिका-चीन युद्ध प्रज्ज्वलित हुन सक्दछ । मैले बेइजिङमा हुँदा पिनहोल भन्दा अलिक ठूलो प्वालबाट चियाएर हेर्दा देखेका कारणमध्ये यो एक हो ।

चिनियाँ विकास मञ्च– यो बेइजिङको एक अत्यन्तै उपयोगी वार्षिक जमघटमा स्थानीय र विश्वका व्यापारिक नेता, चिनियाँ अधिकारी, सेवानिवृत कुटनीतिज्ञ र स्थानीय तथा पश्चिमा पत्रकारसँगै भाग लिँदा मलाई केही पुराना सम्झना पनि आए । अझ साँचो कुरा गर्दा अमेरिका–चीन सम्बन्धलाई केले खाइरहेको छ भन्ने नयाँ वास्तविकता पनि सामुन्ने आए ।

नयाँ भनेको परस्पर विश्वासको आवश्यकता र त्यसको अभाव पाइयो, जसले अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा महत्त्वपूर्ण भूमिका गर्न सक्दछ । अहिले अमेरिका र चीनबीच किनबेच हुने धेरै जसो वस्तु तथा सेवा डिजिटल भएका छन्, यसको दोहोरो उपयोग छ, यी हतियार र औजार दुवै हुन सक्दछन् । अमेरिका र चीनबीचमा अहिले सबैभन्दा धेरै परस्पर विश्वास चाहिएको छ । तर, खराब कुरा– यो सबैभन्दा दुर्लभ भएको छ ।

व्यक्तिगत रूपमा बेइजिङमा हुनुको अर्थ करिब ३ दशकको रिपोर्टिङ भ्रमणका क्रममा मैले चिनेजानेका मान्छेको सम्झना गर्नु पनि हो ती सबै भेटघाट म वासिङगटनमा भन्न सक्दिनँ । यहाँ आज चीनको बारेमा कसले बढी रुखो बोल्ने भन्ने डेमोक्र्याट्स र रिपब्लिकनबीच प्रतिस्पर्धा छ ।

साँचो बोल्ने हो भने दुवै देशले एक-अर्कालाई यति धेरै दानवीकरण गरेका छन् कि जनताका रूपमा हामी कति धेरै मिल्दाजुल्दा छौैं भन्ने बिर्सन सजिलो भएको छ । अमेरिकापछि यति धेरै प्रोटेस्टेन्ट कार्य नैतिकता र स्वाभाविक पुँजीवादी जनसंख्या भएको चीनबाहेक अर्को कुनै ठूलो राष्ट्र होला भन्ने म सोच्न पनि सक्दिनँ।

बेइजिङ हुँदाको अर्को सम्झना सन् १९७० यता विश्वसँग खुल्ला भएपछि र सन् २०१९ मा कोभिडपछि चीनले हासिल गरेको शक्ति र बलियो ओज हो । यतिखेर चीनको कम्युनिस्ट पार्टीको सरकारले समाजमा कहिल्यै नभएको पकड जमाएको छ । राज्य निगरानी र डिजिटल ट्रयाकिङ प्रणालीका लागि प्रहरीलाई धन्यवाद दिन पर्छ । सजिलै अनुहार चिन्ने क्यामेरा जताततै छन् ।

कम्युनिस्ट पार्टी वा राष्ट्रपति सी चिन फिङको शासनले जुनसुकै चुनौतीलाई कुल्चिन सक्दछ । यो भन्न कसैमा कुनै भ्रम हुन जरुरी छैन । चिनियाँ कम्युनिस्ट पार्टीको यस्तो पकड चिनियाँ जनताको कठोर मेहनत र वचतको प्रतिफल पनि हो । जसले गर्दा पार्टी र राज्यले विश्वस्तरका पूर्वाधार बनाउन सकेको छ । यस्ता पूर्वाधार र सार्वजनिक वस्तुले चिनियाँ मध्यम र निम्न वर्गको जीवनलाई निरन्तर उन्नत बनाएको छ।

बेइजिङ र सांघाई धेरै राम्रा, जीवन्त, हरियालीपूर्ण, हिँड्न र बस्न योग्य शहर भएका छन्। यहाँ वायू प्रदुषण पनि धेरै कम गरिएको छ । सन् २०२१ मा मेरा मित्र केथ ब्राडशेरले गरेको रिपोर्टिङ अनुसार सांघाईमा भर्खरै ५५ नयाँ पार्क बनाइएका छन्, जम्मा ४०६ पुगेका छन् र ६०० भन्दा बढी बनाउने योजना छ । उनका अनुसार चीनमा ९०० जति शहर द्रुतगतिको रेलबाट जोडिएका छन् । यसले दूर्गम क्षेत्रका समुदायको यात्रालाई सहज, सस्तो र सुविधाजनक बनाएको छ ।

विगत २३ वर्षमा अमेरिकाले भने वासिङगटन डिसीदेखि बोस्टनसम्म १५ वटा स्टेशन छुने तीव्र गतिको रेल बनाएको छ । कहाँ १५ वटा कहाँ ९०० वटा । मैले यो भन्न खोजेको हैन कि द्रुत गतिको रेल सेवा स्वतन्त्रताभन्दा ठूलो कुरा हो । मैले यो मात्र भन्न खोजेको हो कि चीनको स्थायित्व प्रहरी–राज्य र जीवनस्तर सुधार दुवैको उत्पादन हो । चीनको शासनले नियन्त्रण र राष्ट्र निर्माण दुवै कामलाई उत्तिकै गम्भीरतापूर्वक लिन्छ ।

एक अमेरिकीका रूपमा न्युयोर्कको केनेडी विमानस्थलबाट बेइजिङको क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलको यात्रा गर्नु भनेको भीडभाडको बस टर्मिनलबाट ‘डिज्नेजस्तो टुमारोल्यान्ड ’ मा उडान भरेजस्तो हो । डोनाल्ड ट्रम्पजस्तो नक्कली राष्ट्रनिर्माताको कुरा गर्दै हामीले वितेका ८ वर्ष वितायौैं । यो बर्बाद भएको समय सम्झेर मलाई रुन मन लाग्छ ।

यात्राको पहिलो दिन मैले बेइजिङमा एक चिनियाँ युवतीसँग कुरा गरेँ। उनी कलेजकी विद्यार्थी थिइन् । उनको पहिलो प्रश्न मैले लेखेको एक किताबप्रति लक्षित थियो । उनले भनिन्– ‘मिस्टर फ्रिडम्यान के संसार अझै चेप्टो छ ?’

मैले व्याख्या गरेँ कि मेरो परिभाषाअनुसार कनेक्टिभिटी र डिजिटलाइजेसनले कसरी मानिसले कमै पैसामा धेरै ठाउँ र चिजसँग सम्बन्ध बनाउन सक्दछन् । सम्पर्क बढाउन, प्रतिस्पर्धा र सहकार्य गर्न सक्दछन् । मैले बेइजिङमा चिनियाँ शिक्षितहरू पहिलेभन्दा धेरै जोडिएका र डिजिटल ‘अग्निपर्खाल’ भित्र परेको पाए, म छक्क परेँ ।

ती महिलाले मलाई भनिन् कि, उनले भर्खरै च्याट जिपिट प्रयोग गरिन्। मैले भने– तिमी बेइजिङ बसेर च्याट जिपिट चलाउँछौ र मलाई सोध्छ्यौं कि संसार अझै चेप्टो छ ?

धेरै चिनियाँले कम्युनिस्ट पार्टीको स्थानीय सेलले दिने वैचारिक गृहकार्य गर्न च्याट जिपिटी प्रयोग गर्न थालेका छन् । किनकि, यसमा उनीहरूको धेरै समय बर्बाद नहोस् । यो आफैँमा एक हास्यास्पद कुराजस्तो लाग्दछ ।

कृत्रिम बौद्धिकतामा चीनले दुई क्षेत्रमा भर्खरै फड्को मारेको छ । अनुहार चिन्ने प्रविधि र स्वास्थ्य अभिलेख । तर, च्याट जिपिटले किसानदेखि प्राध्यापकसम्म जो कसैलाई आफ्नै भाषामा कुनै पनि प्रश्न सोध्ने शक्ति दिएको छ।

यो कुरा चीनका लागि ठूलो समस्या हुन सक्दछ किनकि, यसले गर्दा चीनले आफ्ना कृत्रिम बौद्धिकता सञ्जालमा तारबार सिर्जना गर्नुपर्ने हुन्छ । चिनियाँ नागरिकले कम्प्युटरसँग के-के प्रश्न सोध्न सक्दछन् र त्यसले के-के उत्तर दिनुपर्ने छ भन्ने बारेमा निगरानी गर्नुपर्ने हुन्छ ।

जस्तो कि, कसैले सोध्यो कि सन् १९८९ जुन ४ मा तेनमियान स्क्वायरमा के भएको थियो ? यदि, तपाईंको यो प्रश्नलाई ‘एआई’ ले कहाँ, कति, कसरी र कसका लागि सेन्सरसिप गर्ने भन्ने हो भने प्रभावकारिता सीमित हुन्छ ।

एक चिनियाँ राजनीतिशास्त्री डिन डिङ चेनले हामीलाई भने कि च्याट जीपीटीले धेरैलाई ‘के सन् १९९० को बेलाजस्तै फेरि अमेरिकाको उदय हुन्छ ? ’ भन्ने प्रश्न सोध्न प्रेरित गरिरहेको छ ।

यी सबै कारणले गर्दा अमेरिका र चीनबीचको बद्लिदो शक्ति सम्बन्धलाई तौलिनु दुवै देशका सम्भ्रान्त वर्गका लागि लोकप्रिय मनोरञ्जन बनेको छ। धेरै चिनियाँ र ताइवानी अमेरिकाबारे कुरा गर्न रुचि राख्दछन् । तर, अधिकांशको प्रश्न भने त्यही हुन्छ– के चीन र अमेरिकाबीच युद्ध हुनै लागेको हो ? यो यस्तो प्रश्न हो– जसको सही उत्तर न बेइजिङमा भेटिन्छ न वासिङटनमा ।

अमेरिका–चीन सम्बन्धका केही पुराना र प्रष्ट परम्परागत आधार छन् । जस्तो कि, विद्यमान शक्ति राष्ट्र अमेरिका र उदयमान शक्ति चीन बीचको प्रतिस्पर्धा । तर, त्यस्ता थुप्रै नयाँ विकासक्रम पनि छन्, जो नांगा आँखाले सधै देखिदैनन् ।

चीन भन्छ ताइवान उसको अभिन्न अंग हो । अमेरिका एक्काइसौं शताब्दिको नयाँ विश्व व्यवस्था कसरी आकारित होला भन्ने भयले यो कुरा स्वीकार गर्न सक्दैन । अमेरिकालाई नाजी जर्मन र सोभियत संघसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने थाहा थियो । त्यो एक प्रकारको वैचारिक र सैन्य संघर्ष थियो । आज चीन र अमेरिका दुवैका स्थिति फरक छन् । ती लगानी र व्यापारद्वारा एक-अर्कामा जोडिएका छन् । यस्ता देशले एक-अर्कासँग कस्तो व्यवहार गर्ने ?

यी देश कसरी जोडिएका छन त ? एउटा उदाहरणमा हेरौं –’अमेरिकीलाई सबैभन्दा मनपर्ने आइफोन धेरैजसो चीनमा एलेम्बल्ड हुन्छ । अर्कोतिर चिनियाँ विद्यार्थीको सबैभन्दा मन पर्ने गन्तव्य अमेरिका हो । करिब ३ लाख चिनियाँ विद्यार्थी आज अमेरिकामा पढ्दैछन् । यस्तो सम्बन्ध परम्परागत आकलनको विषय हैन । अर्को नयाँ कुरा अन्तर्राष्ट्रिय मामिलामा दुवै देशको भूमिकाको महत्त्व बढ्नु पनि हो ।

शीतयुद्धकालमा लडाकु विमान हतियार हो र फोन औजार हो भन्न सजिलो थियो । आज कुन औजार र कुन हतियार हो भन्न त्यति सजिलो छैन । आज अटोमेटिक कार हतियार हुन्छ कि औजार ? दुवै हुन सक्दछ । ठीक त्यसरी नै ३० वर्ष यता चीनका लागि विश्व खुल्ला भएपछि अमेरिका र चीन यसरी जोडिएका छन् यी दुई बीचको सम्बन्धमा जुनसुकै चीज हतियार वा औजार हुन सक्दछन् ।

बेइजिङपछि म ताइवान फर्किएँ । त्यहाँ एक मध्याह्न बिताएँ । राजधानी ताइपेईभन्दा ९० किमी टाढा सिन्चु शहरको एक पार्कमा बसेर सेमिकन्डर उत्पादक कम्पनीका अधिकारीसँग कुरा गरे । ताइवान र अमेरिकाको व्यापारिक तथा लगानी सम्बन्धबारे कुरा गरे ।

चीन र ताइवान– यी दुवैको भाषा एउटै छ । निकट विगतको इतिहास एउटै छ । संस्कृति एउटै छ । ताइवानसँग पनि अमेरिकाको लगानी र व्यापार सम्बन्ध उत्तिकै गहिरो छ।

माओको क्रान्तिले चीन र ताइवानलाई फरक बनाएको थियो । माओको शासनकालभरि अमेरिकाले ताइवानलाई नै चीनको मान्यता दिइरहयो । माओ चे तुङको निधनपछि भने नयाँ नेता तङ स्याओ पेङले १८० डिग्रीको फन्को मारे ।

तङ र उनका उत्तराधिकारीको समयमा, सन् १९८०, ९० र २००० को दशकमा चीन र अमेरिका आर्थिक र शैक्षिकरूपमा जोडिए । यही कारणले चीन विश्व व्यापार संगठनमा आयो । चीनले आफ्नो निर्यातलाई विश्वभरि बढाउने काम मात्र गरेन, आफ्नो देशलाई विदेशी पुँजीका लागि खुल्ला पनि गर्‍यो।

सन् २०१२ मा सीको उदयपछि भने तङका नीति परिवर्तन हुन थाले । राष्ट्रपति सीको शासनकालमा चीनको शासनसत्ता झनै बढी अधिनायकवादी मात्र भएन, रुससँगको सम्बन्धलाई महत्त्व दिएको कारणले अमेरिकासँग तङ र उनका उत्तराधिकारीले निर्माण गरेको विश्वासको आधारसमेत खस्कायो ।

एक उच्च अधिकारीले मलाई बताएअनुसार राष्ट्रपति सीले बाइडेनलाई गत नोभेम्बरको बाली शिखर बैठकमा यो प्रष्ट भनेका छन् कि उनी ताइवान गुमाउने राष्ट्रपति हुन चाहँदैनन् । यदि, तपाईं मलाई बाध्य गर्नुहुन्छ भने त्यहाँ युद्ध हुन्छ । तपाईं यो बुझ्न सक्नु हुन्न कि चिनियाँ जनताका लागि ताइवान कति महत्त्वपूर्ण छ । तपाईं आगोसँग खेल्दै हुुनुहुन्छ।

यति हुँदाहुँदै पनि मैले चिनियाँ अधिकारीबाटै यो पनि बुझे कि सबै मोर्चामा आक्रामक कारबाहीका बाबजुद तिनीहरू भित्रभित्रै चाहिँ डराएका छन् । यो डरका पछाडि मुख्य दुई कारण छन् । एउटा बाँकी विश्वले के भन्ला भन्ने डर अर्को आफ्नै आविष्कारकका लागि युद्ध मूल्य चुक्ता गर्न नसक्ने गरी खराब समय हुने आशंका ।

मैले भेटेका चिनियाँ अधिकारी यो भन्छन् कि चीन खुल्ला छ र विदेशी लगानीका लागि आतुर छ । र देखिने सत्य पनि यही हो कि चीन खुला छ किनकि चीनका प्रान्त र स्थानीय सरकारलाई कोभिड नियन्त्रण गर्न भएको खर्च क्षतिपूरणका लागि पुँजी अत्यन्त आवश्यक छ । यसो गर्दा उनीहरू पैसा अभावले राज्य–स्वामित्वमा रहेका उद्योगको जग्गा बेच्नुपर्ने स्थितिबाट बाहिर आउँछन्।

मलाई यो भन्न कुनै समस्या छैन कि म त्यस्तो संसारमा बाँच्न चाहन्छु, जहाँ चिनियाँ जनता सँगसँगै फष्टाउन सकून् । हामी अमेरिकी मात्र हैन, अन्य सबै सँगसँगै । चीनको कुरा गर्नु भनेको यो धर्तीका प्रत्येक ६ मान्छेमा १ भन्दा बढी मान्छेको कुरा गर्नु हो । म यो भन्दिन कि हामी युद्धको नियतिमा छौं । तर, यो विश्वास गर्छु कि हामी प्रतिस्पर्धा गर्न, सहकार्य गर्न र सन्तुलन खोज्न बाध्य छौं । अन्यथा हामी दुवै देशको एक्काइसौं शताब्दी निकै खराब हुनेछ । हामी दुवै बर्बाद हुने छौं ।

मैले इजरायली र प्यालेस्टिाइनीबारे भनिने यो कुरा चिनियाँ र अमेरिकीलाई सम्झाउनै पर्छ कि ती एक-अर्काको असुरक्षा भावलाई बढाउन विज्ञ छन् । चिनियाँ कम्युनिस्ट पार्टी अब यो कुरामा विश्वस्त भइसकेको छ कि अमेरिका उसलाई तल झार्न, सत्ताबाट ओराल्न खोज्दैछ । केही अमेरिकी राजनीतिज्ञ साँच्चै यस्तो सुझाउन लाज मान्दैनन् पनि । तसर्थ, अमेरिकालाई खाल्डोमा हाल्ने शर्तमा चीन पुटिनजस्तो एक युद्ध अपराधीसँग ओछ्यानमा सँगै सुत्न तयार भएको छ ।

अमेरिकीलाई अहिले यो डर छ कि कम्युनिस्ट चीन जो अमेरिकी नियममा आकारित विश्व बजारको फाइदा उठाएर धनी भयो, ती नियमलाई अब उसले नयाँ प्राप्त बजार शक्तिलाई उपयोग गरी आफ्नो एकलौटी फाइदामा बदल्न खोज्दैछ ।

यही डरको कारण हामीले बेइजिङको तुलनामा आफ्नो घट्दो शक्तिमा ध्यान केन्द्रित गरेका छौं । हामी यो भन्दै छौं कि चिनियाँहरू माइक्रोचिप्समा हामीभन्दा सधैँ एक दशक पछाडि रहनेछन् । तसर्थ, उनीहरूले हामीलाई उछिन्नसक्ने छैनन् ।

मलाई यो थाहा छैन कि यी प्रवृत्तिलाई पर्याप्तरूपमा केले उल्टाउन सक्नेछ तर मलाई यो थाहा छ कि यतिखेर के आवश्यक छ । यदि, अहिलेको अमेरिकी विदेश नीतिको लक्ष्य चीनको कम्युनिस्ट शासनलाई पतन गराउनु हैन भने अमेरिकाले यो कुरा एकदमै प्रष्ट गर्नुपर्दछ किनकि, मैले बेइजिङमा भेटेका मान्छेहरू पहिलेभन्दा धेरै यस्तो सोच्ने भएका छन । र आजको बिश्रृंखलित संसारमा चीनको आर्थिक पतन हुँदा अमेरिका फष्टाउँछ भन्ने मान्यता पूर्णतया काल्पनिक हो ।

चीनको बजार आकारलाई ध्यानमा राख्दा यस्तो प्रयासमा युरोपेलीहरू सधैं अमेरिकाको पक्षमा हुन्छन् भन्ने मान्यता पनि काल्पनिक सावित हुन सक्दछ । गत हप्ताको फ्रान्सेली राष्ट्रपति इम्मानुअल म्याक्रोनको बेइजिङ रुझानलाई ध्यान दिनुपर्ने हुन्छ ।

विश्वास आजको सबैभन्दा ठूलो आवश्यकता हो । यो आजका लागि भन्दा सत्य कहिल्यै सावित भएको थिएन र चीनका लागि यो सत्य आत्मसात् गर्नुपर्ने आवश्यकता आजभन्दा धेरै कहिल्यै भएको थिएन ।

(न्युयोर्क टाइम्सबाट संक्षेपीकरणसहितको अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved