गठबन्धनका उम्मेदवारलाई भोट माग्न प्रधानमन्त्रीसहित शीर्ष नेताको दौडधुप

प्रधानमन्त्री भोलि तनहुँ पर्सी बारा जाने

नेपालभ्युज

गठबन्धनका उम्मेदवारलाई भोट माग्न प्रधानमन्त्रीसहित शीर्ष नेताको दौडधुप

काठमाडौं। वैशाख १० मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले भोलिदेखि ती क्षेत्रमा दौडधुप गर्ने भएका छन्।

चितवन २ तनहुँ १ र बारा २ मा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट तनहुँ १ र चितवन २ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र जितनारायण श्रेष्ठ तथा बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

ती नेतालाई भोट माग्न सत्ता गठबन्धनका दोस्रो तहका नेता फिल्डमै खटिइरहेका छन् भने बुधबारदेखि शीर्ष नेता पनि जाँदै छन् । तनहुँ–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार त्यता जानेछन्।

यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि बुधबार तनहुँको डुम्रेबजार पुग्दै छन्। उनीहरूले दिउँसो २ बजेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।

तनहुँमा गठबन्धनले कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङ, समाजवादीका नेता किसान श्रेष्ठ लगाएतलाई आजै तनहुँ पठाएको छ।

त्यसैगरी, बारा-२ मा बिहीबार प्रधानमन्त्रीसहित शीर्ष नेता पुग्दैछन्। जसपा अध्यक्ष एवं गठबन्धनका उम्मेदवार उपेन्द्रको पक्षमा माहोल बनाउन गठबन्धनले चैत ७ गते महागढीमाईमा आमसभा गर्ने तयारी गरेको छ।

आमसभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले सम्बोधन गर्दैछन्।

त्यसपछि, शीर्ष नेताले चितवन-२ को कार्यक्रमलाई समेत सम्बोधन गर्ने छन्। चितवनमा गठबन्धनका तर्फबाट कांग्रेसका नेता जितनारायण श्रेष्ठ उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved