के ‘पुराना दल’ कहिल्यै नसुध्रिन अभिशप्त छन् ?

परिस्थिति निरन्तर भड्किँदै छ, दलहरूको लोकप्रियता र विश्वसनीयता झन् पछि झन् संकटमा पर्दैछ । अझै पनि तिनले आफूलाई सुधार्नुपर्ने आवश्यकता महशुस गर्दैनन् भने कहिले गर्छन् ? कि सुध्रिन कि सक्किन यी आफैँ बाध्य छन्, तथापि पुराना दलको चेत किन अझै राम्ररी खुलेको छैन ?

के ‘पुराना दल’ कहिल्यै नसुध्रिन अभिशप्त छन् ?

काठमाडौं। राजनीतिक दलको विचार, एजेन्डा जे-जस्तो, संख्या जे-जति भए पनि प्रवृत्ति र चरित्रका दृष्टिले तीनवटा प्रकारमा विभाजन गर्न सकिन्छ । एक– पुराना दल, दुई–संसदमा उदाएका नयाँ दल र तीन–सम्भावित वैकल्पिक दल ।

‘पुराना दल’ को वर्गमा कांग्रेस, कम्युनिस्ट, राजावादी र मधेस–केन्द्रित पार्टीहरू पर्दछन् । यस्तो वर्गीकरणअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा ‘पुराना दल’ हुन् ।

नयाँ उदाएका दलहरूमा– राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन्। तेस्रो वर्गमा ती सबै पार्टी, समूह र प्रयास पर्दछन्, जो अहिले संसदभित्र छैनन्।

यी तीन प्रकारका राजनीतिक दल र समूहप्रतिका जनअपेक्षा फरक-फरक छन् । जनतामा पुराना दल सुध्रिदिए हुन्थ्यो भन्ने अपेक्षा देखिन्छ । नयाँ उदाएका दलप्रति निर्वाचनको बेला जुन उत्साह र अपेक्षा थियो त्यो अहिले आशंकामा परिणत हुँदैछ ।

नयाँ भनिएका तीनवटै दल छोटो अवधिमै सकारमा सामेल भए वा पुरानै दलको नेतृत्वमा बनेको सरकारलाई समर्थन दिए । यी दलले गठबन्धनको वैचारिकी र चरित्रलाई समेत ध्यान दिएको देखिएन। एमाले–माओवादी गठबन्धनलाई पनि यी दलको समर्थन थियो, १०० दिन नपुग्दै बदलिएको नेपाली कांग्रेस–माओवादी केन्द्र लगायतको गठबन्धनलाई समेत विश्वासको मत दिएका छन् ।

टिकापुर विद्रोहका राजबन्दीको रिहाइ र रेशम चौधरीलगायतको न्यायको विषयमा बनेको नागरिक उन्मुक्ति पार्टी ती प्रक्रिया अघि नबढ्दै सरकारमा सामेल भएको छ । जनमत पार्टी उद्योग मन्त्रालय नपाएर सरकारबाट फिर्ता भए पनि समर्थन कायमै राखेको छ । एउटा उद्योग मन्त्रालय लिएर त्यो पार्टीले के त्यस्तो चमत्कार गर्थ्यो, परीक्षण हुन दिएको भए हुन्थ्यो । जनमत पार्टीको त्यति सानो मागलाई प्रधानमन्त्री र गठबन्धनका ठूला दलले महत्त्व दिएनन् । तर, पनि त्यो दल सरकारलाई समर्थन दिएर बसेको छ।

रास्वपाको चरित्र र व्यवहार यसबीच झनै अनौठो रह्यो। पुराना दलको बद्लामा एक नयाँ राजनीतिक विकल्प दिने उद्घोष गरेर चुनाव लडेको यो दल लगत्तै सरकारमा सामेल गयो । सरकारमा सहभागिताका लागि केही समय एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीसँग निकट भयो। एमाले–माओवादी केन्द्र लगायतको गठबन्धनमा सामेल भयो।

अध्यक्ष रवि लामिछानेको नागरिकता विवाद र सर्वोच्चको फैसालापछि उनले सांसद पद नै गुमाए । सांसद पद गुमाएर पनि उनले मन्त्री पदमा पुनर्नियुक्तिको प्रयत्न गरे । त्यो सम्भव नभएपछि सिंगो पार्टीलाई नै सरकारबाट निकाले तर गठबन्धन परिवर्तन भइसक्दा पनि सरकारलाई यो पार्टीले विश्वासको मत दिइरहेको छ । डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणपछि त यो दल झनै ठूलो नैतिक संकटमा फसेको छ । जटिल नैतिक तथा राजनीतिक संकटबीच यसका अध्यक्ष रवि लामिछाने चितवन–२ मा उपचुनाव सामना गर्दैछन् ।

यी तीन नयाँ भनिएका दलले छोटो समयमै देखाएको सत्तामोह र अपरिपक्कतालाई जनताले मन पराएका छैनन् । यसले गर्दा दुई प्रकारका मनोविज्ञान विकसित हुन खोजेको छ ।

एक– नयाँ दलको यस्तो चरित्रले बरु पुरानै पो ठीक थिए कि, यी नयाँ भनिएकाहरू झन पुराना जत्तिका पनि भएनन्, पुरानै दल सुध्रिदिए हुन्थ्यो भन्ने मनोभावनालाई बल प्रदान गरेको छ ।

दोस्रो– पुराना दल सुध्रिने कुनै सम्भावना छैन, नयाँ दलको पनि हालत, हविगत देखियो । यी गम्भीर विचार, सिद्धान्त र एजेन्डाप्रति प्रतिबद्धभन्दा बढी सत्तालोलुप, पपुलिस्ट र हावादारी देखिए । तसर्थ गम्भीर र संवेदनशील प्रकृतिका वैकल्पिक दलको स्पेस र आवश्यकता पूरा भएन । त्यस्ता दल अघि आइदिए हुन्थ्यो ।

यहाँनेर, एक गम्भीर प्रश्न उठ्दछ– के पुराना दल नसुध्रिन अभिशप्त छन् ? हैन भने ति दलले अब के पर्खिएको हो ? परिस्थिति निरन्तर भड्किँदैछ, दलहरूको लोकप्रियता र विश्वसनीयता झन् पछि झन् संकटमा पर्दैछ । अझै पनि तिनले आफूलाई सुधार्नुपर्ने आवश्यकता महशुस गर्दैनन् भने कहिले गर्छन ? कि सुध्रिन कि सकिन्न यी आफैँ बाध्य छन्, तथापि पुराना दलको चेत किन अझै राम्ररी खुलेको छैन ?

लोकतन्त्रमा दलहरू नै देश बनाउने, देश चलाउने राजनीतिक शक्ति हुन् भन्नेमा कुनै विवाद छैन । लोकतन्त्रप्रति जनताको विश्वास र अपेक्षा निर्शत देखिन्छ । तर, देश बनाउने र लोकतन्त्रलाई गतिशील राख्न सक्ने भर पर्दा र विश्वासनीय दलको अभावले लोकतन्त्र नै संकटमा पर्ने त हैन भन्ने आशंका बढ्दै गएको छ।

पुराना दल नसुध्रिने, नयाँ भनिएकाको चरित्र अझै कमजोर, संदिग्ध हुने र वैकल्पिक दलले राम्रो आकार लिन नसक्ने हो भने लोकतन्त्र कसरी चल्ला ? देश कसरी बन्ला भन्ने चिन्ता छाएको छ । यो कोणबाट हेर्दा देशमा एक प्रकारको राजनीतिक रिक्तता वा शक्ति शून्यताको अनुभूति हुन थालेको छ । यो प्रश्न सबैको मनका आँधी तुफानजस्तै उठ्न थालेको छ– खै त देश बनाउने भरपर्दो र विश्वासनीय राजनीतिक शक्ति ?

कुनै चिज बन्न बनाउने शक्ति वा पात्र चाहिन्छ । देश एक राजनीतिक इकाइ हो । त्यसको प्रबन्धन गर्न बनेको संस्थालाई राज्य भनिन्छ । अर्थात् देश वा राज्य भनेको एक संस्था हो । सयौं संस्था र निकायको समुच्चता हो । एक जटिल र जालोजस्तो संस्था हो । कसैले नचलाइकन यो आफैँ चल्दैन । चलाउने सुपात्र छैनन् भने अपेक्षित परिणाम प्राप्त हुँदैन ।

देश वा राज्य मात्रै हैन, अरु कुनै पनि संस्था न आफैँ बन्छ न आफैँ चल्छ । जस्तो विद्यालय, आफैँ बन्ने चल्ने हैन । विद्यालय संस्थापकले बनाए । शिक्षकले चलाउँदैछन् । संस्थापक र शिक्षक बिनाको विद्यालय त हुँदैन होला । मालिक र मजदुर विनाको कारखाना चल्दैन होला ?

देश वा राज्य भनेको पनि त्यस्तै हो । कसले बनाउने देश ? कस्ले चलाउने देश ? त्यस्तो शक्ति वा पात्र चाहियो । तसर्थ, देश बनाउने कुरा गर्नुभन्दा पहिले बनाउने शक्ति चाहिने रहेछ । देश बनाउने शक्ति नै छैन भने कसरी बन्छ ? देश चलाउने शक्ति नै छैन भने कसरी चल्छ ? जनताले देश बनाउने, चलाउने शक्ति नै देख्न छोडे । तसर्थ, अविश्वास र निरासा हावी भयो । यो अविश्वास र निराशाले अस्थिरता र अराजकतालाई बल प्रदान गर्न सक्छ । देशमा शक्ति रिक्तताको अवस्था आउन सक्छ ।

देश बनाउन त्यस्तो सोच, सामर्थ्य र प्रतिबद्धता भएको शक्ति चाहिन्छ । सोच भनेको विचारधारा, प्रष्ट दृष्टिकोण र दुरदृष्टि हो । शक्ति भनेको संगठन र जनसमर्थन हो । प्रतिबद्धता भनेको इच्छाशक्ति र व्यवस्थापन कौशल हो । यी तिनवटै कोणबाट ‘पुराना’ र ‘नयाँ’ दुवै प्रकारका दलमा व्यापक समस्या देखिन्छ । देश नबनोस् भन्ने चाहना कसैको हैन होला तर बनाउने कसरी ? सोचको अभाव छ ।

सोच, योजना नीति तथा कार्यक्रम छ भनेर मान्ने हो भने पनि (यद्यपि, त्यो अहिलेसम्म कतैबाट पनि राम्ररी प्रकट भएको छैन) शक्तिले त्यसलाई समर्थन गरिरहेको छैन । शक्ति बिनाको सोच आफैँ कार्यान्वयन हुँदैन । त्यो कागजमा मात्रै सीमित हुने हो ।

एकाध योजना हुनु, ठूलो पार्टी संगठन र भोट बटुल्ने ताकत हुनु मात्र पनि देश बन्नका लागि पर्याप्त आधार हैन । यदि, त्यसो हुन्थ्यो त एमाले र कांग्रेसजस्ता ठूला दलले त्यो आवश्यकता पूरा गरिसक्नुपर्ने हुन्थ्यो ।

ठूला र शक्तिशाली भनिएका दलसमेत फिका र निरिह हुँदै गइरहेका छन् । किनकी उनीहरूसँग पर्याप्त इच्छा शक्ति र व्यवस्थापन कौशल वा सीप भएन । ठीक यही विन्दुमा विचार, एजेन्डा , सोच, इच्छाशक्ति र व्यवस्थापन कौशलसहितका वैकल्पिक दलको आवश्यकता चर्को अनुभूति हुने हो । तर, अर्को ‘ग्याप’ यहाँनेर पनि छ । तिनले सजिलै संगठन बनाउन र जनसमर्थन हासिल गर्न सजिलो छैन ।

यस अर्थमा पुराना दल सुध्रिनु आफैँमा नराम्रो उपाय हैन । बरु यो छिटो, छरितो र व्यवहारिक दृष्टिकोणले सम्भव र उपयुक्त बाटो हुन सक्दछ । पुराना दल सुध्रिन असम्भव कुरा पनि हैन । तिनले पद, प्रतिष्ठा, सत्ता लिप्सा, गुटस्वार्थ, अहं तुष्टीकरणको बाटो छोडेर देश र जनताका समस्याप्रति गम्भीर र संवेदनशील भइदिने हो भने त्यो आफैमा एक ठूलो सुधार मानिने छ ।

तर, यति गर्न पनि दल र नेताहरू तयार छैनन् भने यी दल कहिल्यै नसुध्रिन अभिशप्त छन् भन्ने अर्थ लाग्दछ, जुन आफैँमा एक ठूलो विडम्बना हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved