पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

नेपालभ्युज

पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै अर्को विभागीय टोली एपिएफले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपिएफले पुलिसमाथि ३–१ सेटमा जित निकालेर च्याम्पियन बनेको हो । विभागीय तीन र दुई प्रदेशले सहभागिता जनाएको प्रतियोगिताको विजेता एपिएफले ४ लाख रुपैयाँ तथा उपविजेता पुलिसले २ लाख रुपैयाँ हात पारेको छ ।

लिग चरणको खेलमा पराजित भएको एपिएफले पुलिसबिरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो । पहिलो सेटमा २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने १७–२५ ले गुमाउन पुगेको थियो । १–१ को सेटपछि प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटको खेलमा एपिएफले पहिलो सेटमा देखाएको प्रदर्शनलाई निरन्तरता दियो । तेस्रो सेटको शुरुवातमा पुलिसले खाता खोल्दै अगाडि बढे पनि २५–१६ को सहज जित निकाल्दै एपिएफ २–१ को सेटमा अगाडि रह्यो ।

चौथो सेटमा पनि एपिएफले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदा २५–२२ ले खेल पक्षमा पार्दै च्याम्पियन बन्यो । प्रतियोगिता अन्तर्गत शनिवार नै तेस्रो स्थानका लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लवले  गण्डकी प्रदेशलाई ३–० को सेटमा हराएर तेस्रो स्थान हासिल गर्‍यो । आर्मीले गण्डकीमाथि २५–१८, २५–११ र २९–२७ ले हराएको हो । तेस्रो भएसँगै आर्मीले १ लाख र चौथो भएको गण्डकीले ५० हजार प्राप्त गर्‍यो ।

पाँच टोलीले सहभागिता जनाएको प्रतियोगितामा एपिएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी चुनिँदै नगद १५ हजार रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट स्पाईकर आर्मीका धन बहादुर भट्ट घोषित हुँदा उत्कृष्ट लिबेरोको उपाधि एपिएफका विनोद चन्दले पाए । यस्तै उत्कृष्ट सेटर एपिएफका लोकेन्द्र गिरी बन्दा, उत्कृष्ट ब्लकर एपिएफका सुनिल घर्ती मगर, उत्कृष्ट सरभर पुलिसका कप्तान इम राना मगर तथा उत्कृष्ट प्रशिक्षक एपिएफका महेश चौधरी चुनिए । उत्कृष्ट सबैले नगद १० हजार रुपैयाँ हात पारे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोस्टबहादुर स्मृति फाउन्डेसका पदाधिकारीले पुरस्कृत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved