कर्णालीमा कसले थाप्यो ढोक्सा ? कांग्रेसले कि एमालेले !

कर्णालीमा कसले थाप्यो ढोक्सा ? कांग्रेसले कि एमालेले !

सुर्खेत। संघीय सरकार पहिलो पटक (पुस १६ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा कांग्रेसले पनि समर्थन गरेको थियो ।

त्यो बेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई लक्षित गर्दै भनेका थिए । ‘यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’

प्रचण्डले पहिलोपटक विश्वासको मत लिँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेक सबै सांसदले समर्थन गरेका थिए । त्यो बेला प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले अध्यक्ष ओलीको पार्टी अहिले सरकार बाहिर रहेको छ ।

त्यस्तै, कर्णालीमा शुक्रबार माओवादी केन्द्रका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिँदा एमाले, कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरे । यहाँ पनि राप्रपा सांसद सन्तोषी शाह मात्र विपक्ष रहिन ।

संघमा एमाले र माओवादीको गठबन्धन हुँदा कर्णालीमा एमालेको समर्थनमा माओवादीले मुख्यमन्त्री पायो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले माओवादीलाई पाँचै वर्ष मुख्यमन्त्री दिने सहमतिलाई अढाई-अढाई वर्ष हुने गरी मिलाए । पहिलो चरणमा माओवादी केन्द्र र द्रोस्रो चरणमा एमाले ।

पछिल्लो समयमा संघमा कांग्रेसले थापेको ढोक्सामा माछा परिसकेको छ । तर, कर्णालीमा अहिले कांग्रेस र एमाले दुवैले माछा पार्न ढोक्सा थापेका छन् । कसले ढोक्सामा माछा पार्छ त्यो हेर्न बाँकी नै छ ।

विश्वासको मत लिँदा देखिएका केही दृश्य

शुक्रबार मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागे । उनले बहुमतमा हुँदा हुँदै पनि विश्वासको मत मागेका थिए । एमालेले समर्थन फिर्ता लिएको थिएन् । ‘राप्रपाले समर्थन फिर्ता लिएका कारणले म बहुमतमा हुँदाहुँदै पनि विश्वासको मत माग्न आएको छु ।’ उनले भने, ‘एक जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि विश्वासको मत माग्न आएको हुँ ।’

विश्वासको मत लिने बाहनामा माओवादीको चाहना खासमा के देखिन्थ्यो भने संघको गठबन्धन कर्णालीमा ब्युताउँने । माओवादी संसदीय दलले त्यो निर्णयसमेत गरिसकेको थियो ।

शर्माले बोलिसकेपछि बोल्ने पालो आयो, सबैभन्दा ठुलो दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको । उनले रोस्ट्रमबाट सीधै ‘विश्वासको मत दिन्छौँ’ भनेनन्, अलिकति संशय राख्दै चलाखीपूर्वक ‘अप्ठेरो परेमा विश्वासको मत दिनेबारे सोच्छौँ’ भने ।

यता एमाले संसदीय दलका नेता यामलाल कँडेलले कुरो बुझे । शाहीपछि रोस्ट्रममा आएका कँडेलले समर्थन शर्मालाई विगतमा दिएको समर्थन कायम रहेको बताए ।

केन्द्रमा एमाले अध्यक्ष ओलीले कांग्रेसलाई भने जस्तै कर्णालीमा एमालेका संसदीय दलका नेता कँडेलले भने, ‘हामीले समर्थन फिर्ताका विषयमा सोचेका छैनौँ, हाम्रो अहिले पनि समर्थन छ, भरिएर पोखिए पनि पोखिन्छ भनेर दिने भए देऊ, तर हाम्रो समर्थन कायम नै छ, सरकार संकटमा छैन ।’

एमालेका गतिविधि नियालिरहेका कांग्रेसका सांसद केहीबेर बेन्चमा नै बसे । कैयौंले अनुमान गरेकी कांग्रेस तटस्थ बस्ने भयो भनेर तर, दुई मिनेट बेन्चमा बसेका कांग्रेस सांसद पछि शर्मालाई समर्थन गर्न गए ।

खासमा कसले पार्ला ढोक्सामा माछा

कर्णाली प्रदेशमा ढोक्सामा माछा एमालेले पार्छ कि कांग्रेसले त्यो हेर्न बाँकी नै छ । विगतमा हेर्दा प्रदेशसभामा प्रत्यक्षमा एउटा मात्र सिट जितेको कांग्रेसको ढोक्सामा माछा पारेर जीवनबहादुर शाही मुख्यमन्त्री भएका थिए । त्यो बेला एमालेको स्पष्ट बहुमत थियो ।

पहिलो प्रदेशसभाबाट नै मुख्यमन्त्री आंकाक्षी रहेका थिए, एमाले संसदीय दलका नेता यामलाल कँडेल । त्यो बेला ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० जना सांसद रहेका थिए । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राप्रपा नेपालका १ जना सांसद थिए ।

एमाले र माओवादीबीच भएको चुनावी गठबन्धन पछि पार्टी एकता नै भएर नेकपा बन्यो । माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने । त्यो बेला पनि शाहीलाई हटाएर आफु मुख्यमन्त्री हुने कँडेलले निकै प्रयास गरे । तर सफल भएनन् ।

नेकपा विभाजन भएर एमाले र माओवादी पार्टी बने । कँडेलले पुनः अविश्वासको प्रस्ताव ल्याए । एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिए । कँडेलको मुख्यमन्त्री हुने सपना तुहियो ।

पहिलो चरणमा एमालेको समर्थनमा मुख्यमन्त्री भएका शर्माले पहिलो अढाई वर्ष माओवादी केन्द्र र पछिल्लो अढाई वर्ष एमालेलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । त्यही सहमति अनुसार नै एमालेले माओवादी केन्द्रका मुख्यमन्त्री शर्मालाई समर्थन गरेको हो ।

यही अवस्था देखेको एमालेले यसअघि बागमती र सुदूरपश्चिममा अंगीकार गरेको नीतिविपरीत शुक्रबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ ।

मुख्यमन्त्री दाबी कांग्रेसको

एमाले कर्णाली सरकारबाट बाहिरिएको छैन । यहाँ एमालेका तीनजना मन्त्री सरकारमै छन् । प्रदेश सभामा दोस्रो ठूलो दल माओवादीको नेतृत्वमा सरकार रहेका बेला एमालेले विश्वासको मत दिएको हो ।

खासगरी, प्रदेश सभामा पहिलो रहेको दल कांग्रेसले मुख्यमन्त्री दाबी गरिरहेको छ, तर कांग्रेस–माओवादीबीच सहमति जुटिसकेको छैन । कांग्रेसका जीवनहादुर शाहीले पहिलो चरणमा मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

उनले आफूलाई पहिले प्रचण्डले मुख्यमन्त्री बनाउने बचन दिएको र त्यही आधारमा पाउनु पर्ने दाबी गर्दै आएको बताइन्छ । तर, कर्णालीमा माओवादीले मुख्यमन्त्री छाड्न नमानेका कारणले गलाउने रणनीति कांग्रेसको छ ।

कांग्रेसले कर्णालीमा माओवादीलाई विश्वासको मत दिने निर्णय गरिसक्दा पनि अन्तिमसम्म संसदीय दलका नेता शाहीले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा केन्द्रकै गठबन्धन ब्युँताउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कर्णाली प्रदेश संसदीय दलको बैठकले केन्द्रकै गठबन्धन ब्युँताउने निर्णय गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved