विभागीय डर्बीमा आर्मी स्तब्ध

नेपालभ्युज

विभागीय डर्बीमा आर्मी स्तब्ध

काठमाडौं । मणि लामाको निर्णायक गोलको सहयोगमा बुधवार विभागीय टोली एपिएफले अर्को बलियो विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा बलियो आर्मीविरुद्ध एपिएफले सुखद् नतिजा निकाल्दा १–० को रोमाञ्चक जित निकालेको हो ।

एपिएफलाई स्पष्ट अंक दिलाउने क्रममा मणि लामाले ३७ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । पेनाल्टी बक्सभित्र विपिन श्रेष्ठले उपलब्ध गराएको बललाई मणिले जाली चुमाउन सफल भएका थिए । यस जितसँगै एपिएफले चार खेलबाट ७ अंक बनाएको छ । पहिलो पराजय व्यहोरेको आर्मीको समान ४ खेलबाट ५ अंक भएको छ । यसअघि आर्मीले तीन खेलबाट एक जित र दुई बराबरी खेलेको थियो ।

पहिलो खेलमा संकटासँग बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा साविक विजेता मछिन्द्रलाई पराजित गरेको थियो । यस्तै तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको थियो । यता एपिएफले भने तीन खेलमा समान जित, बराबरी र हारको नतिजा निकालेको थियो । थ्री स्टार क्लवमाथि जितसहित लिगमा सुखद् शुरुवात गरेको एपिएफले दोस्रो खेलमा सातदोबाटोसँग पराजय भोगेको थियो । तेस्रो खेलमा एपीएफले जावलाखेल युथ क्लवसँग बराबरी खेलेको थियो ।

यसअघि पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर बनाएका थिए । दुवैले अवसर खेर फाल्न पुगेका थिए । सुरुवातबाट आक्रामक खेल देखाएको आर्मीको अग्रतपंक्ति बारम्बार चुक्दा एपिएफविरुद्ध अग्रता लिने धेरै अवसर खेर गएको थियो ।  तर काउन्टर खेलेको एपिएफले १२ औं मिनेटको प्रयास असफल भएको थियो । कप्तान नवीन लामाको फ्रिकिक क्रसमा सनिश श्रेष्ठलेको हेडर बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

२८ औं मिनेटमा दिनेश हेन्जनको प्रहार एपिएफका गोलकिपर अन्जल श्रेष्ठले बचाउँदा आर्मीको पहिलो अवसर खेर गएको थियो । ६४ औं मिनेटमा मणीको प्रहार बाहिरिँदा एपिएफले अग्रता दोब्बर बनाउने मौका गुमाए । पहिलो हाफमा नतिजा सुम्पिएको आर्मी दोस्रो हाफमा बढी आक्रामक देखिएको हो । खेलअवधि अवसर पाएपनि सदुपयोग गर्न असफल नै देखियो । कप्तान भरत खवासले पेनाल्टी क्षेत्रमा पुर्‍याएको बललाई सही दिशा दिन नसक्दा बराबरी अवसर खेर गएको थियो । बाँकी समयमा दुवै टोलीले गोलका लागि अवसर खोजे पनि जाली चुमाउन असफल भए ।

लिगमा बिहीवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा च्यासल मैदानमा खुमलटार र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुने छ भने एन्फा मुख्यालयको मैदानमा हिमालयन शेर्पा र संकटा क्लवबीच खेल हुनेछ । दुबै खेल साढे २ बजे हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved