सडक नहुँदा हुम्लामा खाद्यान्न अत्यधिक महँगो

सडक नहुँदा हुम्लामा खाद्यान्न अत्यधिक महँगो

सुर्खेत। राष्ट्रिय सडक सञ्जालले नजोडिएको एउटा मात्रै जिल्ला हुम्ला हो । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने १ सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्रयाक खुलेको छ ।

कालिकोटको खुलालुदेखि हुम्लाको सल्ली सल्लासम्मको १ सय २२ किलोमिटर सडकमा ट्रयाक खुलेको नेपाली सेनाले जनाएको छ । ट्रयाक खुलेसँगै यस क्षेत्रमा गाडी गुड्न थालेका छन् ।

सलिसल्लादेखि हुम्लाको सदरमुकाम सिमकोटसम्मको ५० किलोमिटर सडकमा अझै गाडी गुड्न सकेका छैनन् । सलिसल्लादेखि अगाडि १६ किलोमिटर सडक खुलेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले बताए ।

‘५० किलोमिटर सडकमध्ये ६ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको छ ।’ उनले भने,‘त्यो सडक नेपाली सेनाले खुलाउने काम गरिरहेको छ ।’

सलिसल्लाको कर्णाली नदीमा पुल नबनेका कारणले अहिले सडक सञ्जालमा नजोडिएको पुलको ठेक्का भइसकेको यादवले जानकारी दिए ।
करिडोर नखुल्दा महङ्गो भाडा कर्णाली करिडोर पूर्णरूपमा सञ्चालनमा नआउँदा हुम्लामा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य महँगो रहेको छ ।

हवाइजहाज र हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको कारणले खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य महँगो भएको हो ।

सुर्खेत नेपालगञ्जबाट आयात हुने वस्तु हवाइजहाज र हेलिकप्टरबाट आयात गर्दा व्यापारीहरूले महँगो रूपमा बेच्नुपरेको र त्यसको मार उपभोक्तालाई परेको उद्योग वाणिज्य संंघ हुम्लाका अध्यक्ष नाग्म्याल लामाले बताए ।

‘हाम्रो दुर्भाग्य भनेको सडक अहिलेसम्म पुगेको छैन । महँगोमा हवाई ढुवानी गर्दा यहाँ दैनिक उपभोग्य वस्तुको मूल्य अकासिँदो रूपमा रहेको छ ।’ उनले भने, ‘सडक सञ्जालले छायो भने मात्रै हामीले यहाँ अलि सस्तो मूल्यमा बजारमा वस्तु बिक्री गर्न सक्छौँ ।’

हुम्लाका लागि चालु आर्थिक वर्ष २०७९-०८०मा २७ हजार ५ सय क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । यसमा हवाईमार्गबाट १० हजार र स्थलमार्गबाट १७ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने गरी कोटा स्वीकृत भएको छ ।

हुम्लामा हवाईबाट महँगो भाडामा र सडक सञ्जालले नछोएका कारणले ठेकेदारले खाद्यान्न ढुवानीमा बदमासी गर्ने भएका कारणले सजिलो तरिकाले हुम्लामा कहिलै पनि खाद्यान्न नपुग्ने गरेको हुम्ला सिमकोट गाउँपालिका–१ का स्थानीय राजबहादुर मल्लले बताए ।

गाउँमा रहेको डिपोमा ५० देखि ६० रुपैयाँमा खाद्यान्न पाउने भए पनि खाद्यान्न कहिले आउने हो थाहा छैन नभएका कारणले हिँडेर मुगु पुग्नुपर्ने भयो कित व्यापारीले ल्याएको खाद्यान्न महँगो मूल्य तिरेर खानुपर्ने बाध्यता रहेको सर्केगाड गाउँपालिका–३ का गौतम रावलले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved