नेम्वाङले भेटे लिङ्देन, आफूलाई मतदान गर्न आग्रह

नेपालभ्युज

नेम्वाङले भेटे लिङ्देन, आफूलाई मतदान गर्न आग्रह

काठमाडौं ।  नेकपा(एमाले)बाट राष्ट्रपतिका उम्मेदवार रहेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् । नेम्वाङले बिहीवार पार्टीका नेताहरुसहित राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा पुगेर आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् ।

नेम्वाङ एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुविर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरे लगायतका नेताहरुसहित त्यहाँ पुगेका थिए । भेटघाटमा राप्रपाको तर्फबाट अध्यक्ष लिङदेनसहित नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रविन्द्र मिश्र, धवलसमशेर राणा लगायतको उपस्थिति थियो ।

भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सौहार्दपूर्ण तरिकाले कुराकानी भएको बताए । उनले राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा फागुन २४ गते बस्ने केन्द्रिय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने बताए ।

उनले भने- ‘उहाँहरुसँग सौहार्दपूर्ण तरिकाले कुराकानी भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्ने भन्ने कुरा चाहीँ २४ गते केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्छ । त्यसले गरेको निर्णय अन्तिम हुन्छ ।’ भेटघाटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) की सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरुको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्यको निरन्तरता हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘हामी हाम्रो आग्रह लिएर आयौँ ।   उहाँहरुको  २४ गतेको बैठकले निर्णय गर्छ  तर एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार जो हुनुहुन्छ, उहाँ असाध्यै योग्य व्यक्ति हो, उहाँप्रति हाम्रो सकारात्मक, सद्भावपूर्ण धारणा रहेको छ भनेर व्यक्त गर्नुभएको छ ।’

‘हाम्रो कार्यालयसम्म आएर  राजनीतिक संस्कृति प्रदर्शन गर्नुभएकोमा हामी अत्यन्त खुशी छौँ, हिजोदेखिको जुन सहकार्य हो राप्रपासँगको हाम्रो पटक–पटकको त्यो सहकार्यको निरन्तरता हुने विश्वाससहित हामीलाई उहाँहरुले आज स्वागत र बिदाई पनि गर्नुभयो,’ उनले भनिन् ।

राप्रपा नेताहरुले उम्मेदवार स्वयं आफूहरुको कार्यालयसम्म आएर मत मागेको प्रति खुशी व्यक्त गरेका सांसद भट्टराईले उल्लेख गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved