कांग्रेसले राष्ट्रपति पाए प्रधानमन्त्रीमा पाँचै वर्ष समर्थन गर्ने बताएपछि माओवादीले भन्यो- ‘सम्भावना हुन सक्छ’

उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपालभ्यूजसँग भनेका छन्, ‘नेपाली कांग्रेसका प्रवक्ताको यो अभिव्यक्तिले दुई दलबीच थप छलफलको वातावरण बनेको छ ।’

नेपालभ्युज

कांग्रेसले राष्ट्रपति पाए प्रधानमन्त्रीमा पाँचै वर्ष समर्थन गर्ने बताएपछि माओवादीले भन्यो- ‘सम्भावना हुन सक्छ’

काठमाडौं । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति पाए प्रधानमन्त्रीमा पाँचैवर्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै समर्थन गर्न सकिने बतायो । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार भनेका छन्, ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई पूर्णकालका लागि निरन्तरता दिनेछ ।’

त्यसो त प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) ले यसलाई स्वाभाविक र सामान्यरूपमा लिएको छ । माओवादी केन्द्रका नेताहरूले कांग्रेसको यो अभिव्यक्तिले दुई दलबीच थप छलफलको वातावरण बनेको ठानेका छन् ।  उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपालभ्यूजसँग भनेका छन्, ‘नेपाली कांग्रेसका प्रवक्ताको यो अभिव्यक्तिले दुई दलबीच थप छलफलको वातावरण बनेको छ ।’

छलफलका लागि आफूहरू तयार रहेको बताउँछन् उपमहासचिव शर्मा, भन्छन्— ‘उहाँ (डा. प्रकाशशरण महत) को अभिव्यक्तिले छलफलको बाटो खुला भएको छ । छलफलका लागि हामी तयार छौँ । छलफल गर्दै कुनै कुरा सप्रिहाल्ने र बिग्रिहाल्ने भन्ने हुँदैन ।’

माओवादी केन्द्रका अर्का एक पदाधिकारी कांग्रेसले बोलेको यो विषय ‘हुन नसक्ने’ कुरा नभएको बताउँछन् । ‘यो हुनै नसक्ने कुराचाहिँ होइन,’ उनले भने । त्यसअघि उनले भने, ‘पार्टीको प्रवक्ताले नै बोलिसकेपछि यसलाई पार्टीकै धारणाको रूपमा बुझ्ने कि नबुझ्ने त्यसबारे हाम्रो पार्टीमा पनि छलफल होला, उहाँले बोलेको विषयबारे पनि पार्टीले विचार गर्ला ।’

त्यसो त पछिल्लो समय कांग्रेस नेताहरू राष्ट्रपति पाउनेमा ढुक्कप्राय: देखिन थालेका छन् । पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारबाहिरै बसेको कांग्रेस राष्ट्रपतिको दौडबाट भने बाहिरिएको छैन ।

उता प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) मा भने राष्ट्रपति गुमाउनुपर्ने डर छ । यहीकारण एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर प्रधानमन्त्री प्रचण्डसँग संवादमा छन् । बिहीबारमात्रै प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतीय निर्वाचनकै बारेमा छलफल गरेका ओलीले शुक्रबार आफ्नै निवास बालकोट बोलाएर छलफल गरेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताएको माओवादी केन्द्रको ‘भर्सन’ कांग्रेससँग मिल्दा सशंकित देखिएको एमाले नेताहरूले पुस १० कै सहमतिअनुसार राष्ट्रपति आफ्नो दलबाट हुनुपर्ने बताउँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved