महत भन्छन्- कांग्रेसलाई राष्ट्रपति दिए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्री स्विकार्ने कांग्रेसले संकेत गरेको छ।

नेपालभ्युज

महत भन्छन्- कांग्रेसलाई राष्ट्रपति दिए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री

काठमाडौं। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गरे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५ वर्ष नै प्रधानमन्त्री स्विकार्ने कांग्रेसले संकेत गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेमा कांग्रेसले पनि ५ वर्ष नै दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने बताए । उनले यो अवस्था बन्दै गएको र कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुनेसमेत जिकिर गरे ।

‘अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने देखिन्छ’ उनले भने–‘संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो, त्यसैले ठूलो दल भएकोले राष्ट्रपतिमा हाम्रो दाबी हो।’

राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम गर्नु उत्तम विकल्प भए पनि त्यसका लागि नेकपा एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षा गर्न कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति निर्वाचित गर्नुपर्नेमा जोड दिए।

उनले राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर, संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको बताए । एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्नेकुरालाई ध्यान दिन जरुरी भएको उनको जिकिर थियो । ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनेछ।’

प्रवक्ता डा. महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने बताए ।‘त्यसैले पनि कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुनु स्वाभाविक हो’ उनले भने–‘संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन।’

डा. महतले सबैभन्दा ठूलो दल बनेर सत्ताबाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको आरोप समेत लगाए । उनले यो गठबन्धन धेरै लामो समय जानेमा समेत शंका रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved