मैले गगन थापाका विषयमा लेख्नु र उनीप्रति सहानुभूति देखाउनुको अर्थ के हुनसक्छ भन्ने मलाई खासै अनुमान छैन । यसअघि पनि मैले उनका बारेमा सहानुभूति प्रकट गर्दै र राजनीतिक शक्ति हासिल गर्ने उनका प्रयासको समर्थन गर्दै लेखेको छु ।
तर, म उनको मतदाता हैन, उनको दलको पराजय र त्यसको साटो छिर्केमिर्के जस्ता वामपन्थी या कम्युनिष्ट पार्टीहरूले जितून् भन्ने चाहन्छु । उनी र म फरक डुंगामा यात्रारत छौँ र यो अविकास, लम्पट शासकीय शैली र मुलुकको दुरावस्था हटोस् भन्नेमा केही हाम्रा समान आकाङ्क्षा छन् ।
उनी नेपाली कांग्रेसको सभापति र देशको प्रधानमन्त्री हुने योजनासहित सक्रिय छन् र अहिले नै पार्टी महामन्त्री छन् । म अहिले पनि कुनै दलको नेतृत्वमा छैन । कमसेकम अहिले भन्न सकिन्छ कि भविष्यमा पनि कुनै दलको नेता हुने, प्रधानमन्त्री त के कुनै पनि तहको जनप्रतिनिधि बन्ने सम्भावनासमेत छैन । (गत निर्वाचनका समयमा मलाई प्रतिनिधिसभा सदस्यका रूपमा जान मन लागेको साँच्चै हो । आफ्नो किशोर र युवावय राजनीतिमा बिताएको र एमाले निर्माणमा भूमिका खेलेको हुनाले पनि म आग्रहवश त्यस्तो मनोदशामा पुगेको हुँदो हुँ । अहिले फर्केर हेर्दा एमालेमा आफ्ना लागि स्पेस खोज्न जाने मेरो बुझाइ नै गलत रहेछ, आफ्नै मूल्याङ्कन बढाइचढाइ गरेछु जस्तो लाग्छ । कमरेड केपी ओलीलाई मेरो उपस्थिती फिटिक्कै रुचिकर लागेन । सायद उनी मप्रति निकै पूर्वाग्रह राख्थे होला। मैले लेखनमार्फत उनका कतिपय राजनीतिक दृष्टिकोण र निर्णयहरूको आलोचना गरेकोमा प्रतिशोधको भावना पनि हुँदो हो । उनले टिकट नदिएका मात्र हैनन्, पार्टीको मैदानमा प्रवेश गर्न पनि दिएनन् । अहिलेचाहिँ नकारात्मक रूपमा भएपनि उनले मेरो हित नै गरेछन् भनेर मनमनै धन्यवाद दिने गर्छु । कमसेकम अहिलेको संसदमा भइरहेका गैरसंसदीय चलखेलको मूक साक्षी बस्नुपर्दा हुने हीनताबोधबाट म बचेको छु । दलको मर्यादाहीन स्वार्थी चलखेलको बचाउ गर्ने बाध्यताबाट बच्न पाएकोमा खुसी छु) ।
मेरो लेखनले गगनको राजनीतिक यात्रामा सहयोग या असहयोग गर्न सक्छ भन्ने कुरा पनि कुनै प्रमाणित सत्य हैन । तर, उदीयमान नेताका रूपमा उनले गरिरहेका प्रयासहरू सफल हुँदा कमसेकम अहिलेको जस्तो निराशा केही चिर्न सम्भव छ कि भन्ने आशा राख्छु । यसैगरी राजा ज्ञानेन्द्रको शासनको अन्त्य गर्न भएका आन्दोलनमा हामी सँगै थियौं भन्ने राजनीतिक साइनो पनि धमिलो धमिलो रूपमा कायमै छ । त्यसैले यो लेख लेख्न लागेको हुँ । यहाँ गगनले हालैका दिनमा देखाइरहेको सक्रियताका राजनीतिक प्रभाववारे चर्चा गरिने छ ।
गगनले कोर्न खोजेको रेखा
महामन्त्री बन्ने क्रममा र त्यसयता पनि गगनले नेपाली कांग्रेसको राजनीतिक कार्यदिशा तय गर्न केही हस्तक्षेप गरेका छन् । पार्टीको आन्तरिक साङ्गठानिक जीवनलाई गति दिन उनले गरेका प्रयासले कांग्रेसलाई अलिकति जीवन्त बनाएको देखिन्छ । पार्टीभित्र र बाहिरका अनेक तह र तप्कालाई पार्टीमा जोड्ने र त्यस्तो शक्तिमूलतः कांग्रेसप्रति भन्दा पनि आफूप्रति बढी बफादार रहोस् भन्ने उनको प्रयास रहेको देखिन्छ ।
आजको व्यक्तिवादी राजनीतिमा यो प्रयासलाई अन्यथा लिनुपर्ने हुँदैन् । यसमा नोटेबल कामचाहिँ बीपि साहित्य मेला र जनतासँग कांग्रेसका नाममा उनले गरेको अभियान पर्छन् । योचाहिँ आन्तरिक जीवनको कुरा हो, जसले प्रकारान्तरले समाजलाई पनि गतिशील बनाइरहेको हुन्छ ।
उनले राजनीतिक विचारधाराका क्षेत्रमा गरिरहेको देखिने काम भने २०४६ सालमा गणेशमान सिंह, मदन भण्डारी तथा मनमोहन अधिकारीहरूले थालेको कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसबीचको सहकार्यको परम्परालाई तोड्न गरिरहेको प्रयास हो । यसका लागि पहिलो त उनले महाधिवेशनमा आफ्नो दललाई सामाजिक प्रजातन्त्रवादी पार्टीका रूपमा प्रस्तुत गर्न प्रयास गरेका थिए (यद्यपी त्यसमा महाधिवेशन हलमा चर्चा भएन)।
बीपिले कांग्रेसलाई २०१२ सालको वीरगञ्ज महाधिवेशनबाट प्रजातान्त्रिक समाजवादको अनुयायी दलका रूपमा उभ्याएका थिए । त्यस यता कांग्रेसले आफ्नो दस्तावेज र नेताहरूको भाषणमा जहिले पनि बिपिको त्यही परम्परालाई धानेको दाबी गर्दै आएको छ । उक्त कार्यक्रममा आर्थतन्त्रका क्षेत्रमा मार्क्सवादका प्रभावहरू थिए । राजनीतिक क्षेत्रमा उदारवादलाई सहि ठहर्याइएको थियो । यद्यपी कांग्रेसले २०४८ पछि उक्त कार्यक्रमलाई खोपामा थन्क्याएर नवउदारवादतिरको यात्रा तय गरेको थियो । गगनले अघि सारेको सामाजिक प्रजातन्त्रले अर्थतन्त्रका क्षेत्रमा नवउदारवादी दृष्टिकोण र सामाजिक सेवाका क्षेत्रमा लोककल्याणकारी राज्यको अवधारणा बोकेको छ।
अलिकति यूरोपेली लेबर पार्टीहरूको धारणाको नजिक भएपनि आर्थिक दृष्टिले यसले पच्छ्याउने भनेको मिल्टन फ्रायडम्यानहरूको नव–शास्त्रीय अर्थशास्त्रको अवधारणा हो । सारतः यो अहिलेको अमेरिकी बेलायती अर्थनीतिहरूकै प्रतिलिपि हो । कम्युनिष्ट पार्टीहरूले लिने आर्थिक नीतिहरू या त्यसको व्याकरण र गगनले अगाडी सारेका आर्थिक नीतिहरूमा अवधारणागत प्रभावका दृष्टिले फरक कोणहरू निर्माण हुनेछन् र यसले वैचारिक ध्रुवीकरणलाई गति दिने छ ।
गगन किन गठबन्धनका विपक्षमा छन् त ? प्रष्ट छ उनी देशमा तीव्र राजनीतिक ध्रवीकरण होस् र त्यस्तो ध्रुवीकरणले वामपन्थी भनिनेहरू एकातिर र दक्षिणपन्थी या मध्यदक्षिणपन्थी शक्तिहरू सबै कांग्रेसको वरपर जाने बाध्यता आओस् भन्ने चाहन्छन् । उनको निकटका सहयोगीहरूले सामाजिक सञ्जालमा कम्युनिष्टहरूविरुद्ध गर्ने निकृष्ट टिप्पणी हेर्दा पनि गगनको समूह कम्युनिष्टहरूप्रति घृणा फैलाएर आफ्नो राजनीतिक ‘स्पेस’ विस्तार गर्न चाहन्छ भन्ने देखाउँछ ।
व्यावहारिक राजनीतिका क्षेत्रमा गगनले पहिलो आक्रमण निर्वाचन पूर्वदलहरूका बीच सहकार्यको कांग्रेस संस्थापनको नीतिमाथि गरे । माओवादी र एकीकृत समाजवादीहरूसहितको गठबन्धनमा अघिल्लोपटक निर्वाचन लडेको कांग्रेसले त्यस्तो गठबन्धनकै कारण निर्वाचनमा पहिलो दल बन्ने अवसर पाएको थियो । माओवादी र नेकपा एकीकृतले ल्याएको समानुपातिक मत १५ प्रतिशत थियो । त्यो मतको ८० प्रतिशत प्रत्यक्षतर्फ कांग्रेसलाई गएको अनुमान गर्दा पनि कांग्रेसले जितेको ८९ सिटको महत्त्वपूर्ण हिस्सा गठवन्धनकै परिणाम थियो भन्ने अनुमान गर्न सकिन्छ । अहिले गठवन्धन नगरि उपनिर्वाचनमा जाँदा इलाममा र बझाङमा कांग्रेसले ल्याएको मत हेर्दा पनि त्यो कुरा पुष्टि हुन्छ।
त्यति हुँदाहुँदै पनि गगन किन गठबन्धनका विपक्षमा छन् त ? प्रष्ट छ उनी देशमा तीव्र राजनीतिक ध्रवीकरण होस् र त्यस्तो ध्रुवीकरणले वामपन्थी भनिनेहरू एकातिर र दक्षिणपन्थी या मध्यदक्षिणपन्थी शक्तिहरू सबै कांग्रेसको वरपर जाने बाध्यता आओस् भन्ने चाहन्छन् । उनको निकटका सहयोगीहरूले सामाजिक सञ्जालमा कम्युनिष्टहरूविरुद्ध गर्ने निकृष्ट टिप्पणी हेर्दा पनि गगनको समूह कम्युनिष्टहरूप्रति घृणा फैलाएर आफ्नो राजनीतिक ‘स्पेस’ विस्तार गर्न चाहन्छ भन्ने देखाउँछ । उनी वामपन्थीहरूसँग सहकार्य गर्नबाट तर्किरहेको अनूभव व्यक्तिगत रुपमा मसँग पनि छ ।
निर्वाचनहरूमा खसेको मतको प्रवृर्ति हेर्दा २०६४ र २०७४ को निर्वाचनमा बाहेक वामपन्थीहरूको कुल मतभन्दा गैरवामपन्थीले प्राप्त गरेको कुल मत संख्या बढी छ । यो मतको ठुलो हिस्सा आफूतिर तान्ने वातावरण बनेपछि मात्रै कांग्रेसले मुख्य दलका रूपमा विकास गर्न र सत्ता चलाउन सक्छ भन्ने उनको निष्कर्ष हुनसक्छ । यद्यपी नेपालको क्षेत्रीय तथा जातीय विविधतामा आधारित जनमतको एउटा हिस्सा सबैलाई यस्तो ध्रवीकरणमा सामेल गर्न सहज छैन ।
हाम्रो राजनीतिमा यस्तो ध्रुवीकरणको प्रयास केपी ओलीले पनि गरिरहेका छन् । केपी ओली र उनका महासचिव शंकर पोखरेलले राष्ट्रिय एकता र विकासका लागि बलियो शक्ति चाहिन्छ भन्दै गरिरहेको वकालत, वामपन्थी ध्रवीकरण हैन वामपन्थीहरूको एमालेमा सम्मिलनका लागि गरिएका प्रयासले यस्तो ध्रवीकरणलाई प्रोत्साहन दिन खोजेको प्रष्ट हुन्छ ।
योचाहिँ निश्चित हो कि अहिले कांग्रेस र कम्युनिष्टकाबीचका सहकार्य या जुनसुकै दल अर्को जुनसुकै दलसँग मिल्न सक्ने दिक्कलाग्दो राजनीतिक दाउपेच केवल सत्तामा पुग्न र त्यसमार्फत आफ्नाहरूले लुटखसोट गर्न पाउन भन्नेमा बढी लक्षित देखिन्छ । यस्तो स्वार्थको एकता र मोर्चाबन्दीको साटो विचारधाराका आधारमा प्रष्टाप्रष्टी रूपमा ध्रुवीकृत हुनु नराम्रो चैं होइन ।
यी दुवै पक्ष नेपाली राजनीतिमा राजतन्त्रका विपक्षमा मोर्चावन्दी गर्ने क्रममा स्थापित भएको कम्युनिष्ट कांग्रेस सहकार्यको परम्परा भत्काउने दाउमा छन् । देशभित्र बढ्दो निराशा र राजनीतिक दलहरूकाप्रति बढ्दो वितृष्णको शिकार हुनबाट बच्न यी दुवै पक्षले साना राजनीतिक दलहरूलाई दोष दिने र आफुलाई बलियो बनाउन अपिल गर्ने एकप्रकारको कपटी खेल पनि यही नारामा भेटेका छन् ।
योचाहिँ निश्चित हो कि अहिले कांग्रेस र कम्युनिष्टकाबीचका सहकार्य या जुनसुकै दल अर्को जुनसुकै दलसँग मिल्न सक्ने दिक्कलाग्दो राजनीतिक दाउपेच केवल सत्तामा पुग्न र त्यसमार्फत आफ्नाहरूले लुटखसोट गर्न पाउन भन्नेमा बढी लक्षित देखिन्छ । यस्तो स्वार्थको एकता र मोर्चाबन्दीको साटो विचारधाराका आधारमा प्रष्टाप्रष्टी रूपमा ध्रुवीकृत हुनु नराम्रो चैं होइन ।
गगनले गरिरहेको गल्ती
पछिल्लो समय सत्ताबाट बाहिरिएपछि कांग्रेस एकपटक बञ्चरो लागेर नढलेको राँगोझैँ रन्थनिएर यता र उता भागिरहेको जस्तो देखिन्छ । संसदमा आफू अल्पमतमा परिसकेपछि प्रतिपक्षको भूमिकामा रहनु र जनताका दैनिक सरोकारका विषयहरू तथा सत्ताका अनुचित निर्णयहरू उठाएर जनमत आफ्नो पक्षमा पार्नु स्वाभाविक हुन्थ्यो ।
तर, कांग्रेस संसदीय प्रक्रियालाई अवरुद्ध पारेर सरकार असफल बनाउने दाउमा लागेको छ । उसले यसबारेमा एमालेका गल्तीबाट राम्रो शिक्षा लिन नसकेको जस्तो लाग्छ । राष्ट्रपतिलाई दिइने धन्यवादलाई समेत संसदीय अल्पमत पक्षले बार्गेनिङको विषय बनाउनु संसदीय प्रणालीको नैतिक मापदण्डअनुरूप हैन भन्ने कांग्रेसलाई थाहा नभएको होइन ।
र, यो विवादको केन्द्रमा गगनले व्यवस्थित रुपमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई पारिरहेका छन् । संसदमा उनी जुरुक्क उठेर चर्को स्वरमा बोलिरहेका, पत्रकार सम्मेलन गरिरहेका र सामाजिक सञ्जालमा रविकै विरुद्ध लेखिरहेका देखिन्छन् । जेठ ९ गतेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले रवि लामिछानेको राजीनामा माग गर्दैै सडकमा ओर्लने निर्णयसमेत गरेको छ । तत्कालीन राजनीतिक दाउपेचका दृष्टिले यसलाई अन्यथा नमाने पनि गगनका लागि यो एउटा प्रत्युत्पादक कदम सावित हुने देखिन्छ ।
रवि लामिछाने गृह तथा उपप्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री, संसद र जनताप्रति उत्तरदायी छन् । उनले सहकारीको ब्रम्हलुटमा सामेल भएको भनेर आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ । आवस्यक परे कानूनी रूपमा सफाइ पनि लिनुपर्छ ।
उनलाई उत्तरदायी बनाउने काममा प्रतिपक्षका रूपमा कांग्रेसले र त्यसको एकजना नेताका रूपमा गगनले आवाज उठाउनु अस्वाभाविक हैन । तर, गगन रविका विपक्षमा यसरी लागिरहेका छन्, मानौं- रवि नै आगामी निर्वाचनमा गगन र कांग्रेसको प्रतिस्पर्धी हुन् । पहिलो त रविको दल रास्वपाको भविष्य त्यति उज्यालो छैन, जति एकवर्ष पहिले उपनिर्वाचनका समयमा थियो । दोस्रो रविको दलले मत बढाउँदा कांग्रेसलाई मात्र नोक्सान पर्ने हैन ।
रविको दल कमजोर हुँदा पनि या रवि नै कमजोर हुँदा पनि त्यसको प्रत्यक्ष लाभ सबै सोहोरिएर गगनको पोल्टामा जाने हैन । उदाहरणका लागि चितवनमा रवि हार्दा त्यसको लाभ नेकपा एमालेलाई जान्छ कांग्रेसलाई हैन । व्यक्तिका रूपमा पनि रवि गगनको प्रतिस्पर्धी हैनन् । कहाँ ८९ सिटको कांग्रेस, कहाँ २१ सिटको रास्वपा ।
तेस्रो रविको दल कमजोर हुँदा पनि या रवि नै कमजोर हुँदा पनि त्यसको प्रत्यक्ष लाभ सबै सोहोरिएर गगनको पोल्टामा जाने हैन । उदाहरणका लागि चितवनमा रवि हार्दा त्यसको लाभ नेकपा एमालेलाई जान्छ कांग्रेसलाई हैन । व्यक्तिका रूपमा पनि रवि गगनको प्रतिस्पर्धी हैनन् । कहाँ ८९ सिटको कांग्रेस, कहाँ २१ सिटको रास्वपा । उसले जति मत र सिट बढाएपनि अर्को निर्वाचनमा पहिलो दल बन्ने सम्भावना छैन । कांग्रेसले ढंग पुर्याउँदा त्यस्तो सम्भावना अझै राख्छ ।
अर्को कुरा नेपाली राजनीतिमा व्यक्तिका दृष्टिले गगनको प्रतिस्पर्धामा आउनुपर्ने एमालेका महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन हुन्। घनश्याम भुसाल र वर्षमान पुन तत्काल यस्तो प्रतिपस्पर्धामा आउन उनीहरूको दलको मताधारले दिँदैन । शंकर पोखरेल अहिले पनि एमालेका निर्णायक नेता हैनन् र निकट भविष्यमा अर्थात् आउने ८ वर्षसम्म ओलीबाट शंकरमा नेतृत्व आउने सम्भावना पनि छैन । एमालेको साङ्गठनिक तागतको भरबाहेक शंकरलाई गगनको जस्तो गैरपार्टी जनमतको लोकप्रिय समर्थन पनि हासिल भएको देखिँदैन ।
प्रचण्डको राजनीतिक तागत उनले अरु दलहरूसँग खेल्ने दाउपेचको खेलमा छ । जनमतलाई प्रभावित गर्ने साँगठनिक आधार माओवादीले गुमाइसकेको छ ।
शेरबहादुर देउवाको राजनीतिक आधार उनको उदारवादी विचार र काठमाडौंको सत्तारुढ वर्गसँगको उनको सम्बन्धमा आधारित छ । तर, उमेरका कारण उनी पनि आउने दिनमा नेपाली राजनीतिमा आफ्नो सान्दर्भिकता गुमाउने अवस्थाको सन्निकट छन् ।
यसरी हेर्दा आउने निर्वाचनमा गगनले, यदि उनी कांग्रेस सभापति बन्नसके भने प्रतिस्पर्धा गर्ने भनेको एमाले अध्यक्ष केपी ओलीसँग नै हो । ओलीसँग गगनको भन्दा राजनीतिक पुँजी निकै धेरै छ । पार्टीभित्र अहिले कसैले पनि ओलीको राजनीतिक ‘अथोरिटी’लाई चुनौती दिन सक्दैन, दिने व्यक्तित्व तयार भएको छैन । इतिहासले पनि र वर्तमानमा जनमतको दृष्टिले (०७९को निर्वाचनमा प्राप्त मत) सबैभन्दा बढी मताधार भएको दलका नेताका हैसियतले पनि ओली नै समकालीन राजनीतिका बलशाली नेता हुन् । यसर्थ, गगनले आगामी निर्वाचनमा, प्रधानमन्त्रीको उम्मेदवारका रूपमा कांग्रेसबाट अनुमोदन पाए भने पनि उनको चुनौती हुन् केपी ओली ।
तर, गगन अहिले जे गरिरहेका छन्, जो ओलीप्रति कतै लक्षित छैन् । आफूभन्दा धेरै जुनीयर र राजनीतिक पुँजी नभएका एकजना पपुलिष्ट रवि लामिछानेको पछि सुरुवाल खैंचेर दौडिरहेका देखिन्छन् । उनको प्रयासले रवि लामिछानेको पद तत्कालका लागि धरापमा परेछ नै भने पनि या रास्वपाको प्रभाव विस्तार स्थिर भएछ भने पनि त्यसको राजनीतिक लाभ गगनलाई मात्र हात लाग्ने होइन । कांग्रेस, एमाले र माओवादीबाट आजित भएर रविका पछि लागेको जनमतले जति कांग्रेसको मताधार भत्केको छ, त्यति नै एमालेको पनि भत्केको छ । यसरी बाहिरिएको जनमत आफ्ना घरतिर फर्क्यो भने त्यसको लाभ कांग्रेसलाई जति एमालेलाई पनि हुन्छ ।
तत्काल हेर्दा रवि र ओलीको स्वार्थ एकै ठाउँमा गाँसिएको देखिएपनि यो दुवैको राजनीतिक दाउपेचको विषय मात्र हो । दिर्घकालीन सहयात्राको गठबन्धन होइन । अन्तिममा रवि र प्रतिपक्षमध्ये एउटा रोज्नुपर्ने भयो या रविको छविको भारी बोक्न गाह्रो भयो भने ओलीले कुनैपनि बेला उनलाई काखबाट हुत्याइदिन सक्छन् ।
तत्काल हेर्दा रवि र ओलीको स्वार्थ एकै ठाउँमा गाँसिएको देखिएपनि यो दुवैको राजनीतिक दाउपेचको विषय मात्र हो । दिर्घकालीन सहयात्राको गठबन्धन होइन । अन्तिममा रवि र प्रतिपक्षमध्ये एउटा रोज्नुपर्ने भयो या रविको छविको भारी बोक्न गाह्रो भयो भने ओलीले कुनैपनि बेला उनलाई काखबाट हुत्याइदिन सक्छन् । आफ्नै सहकर्मी माधव नेपालहरूसँग पनि मिल्न नसक्ने ओलीले रविलाई अर्को निर्वाचनमा साथ लिएर जाने सम्भावना पनि छैन । त्यस्तो भयो भने पनि त्यो कमल थापा या राजेन्द्र लिङ्देनसँगको सहकार्यको हैसियतभन्दा माथि जाने सम्भावना झनै छैन । उनका लागि रवि लामिछानेसँग भन्दा प्रचण्डसँगको सहकार्य सहज हुनेछ ।
यस्तो अवस्थामा ओलीलाई छाडेर रविमाथि बर्साइरहेको लाठीले गगनलाई नै कमजोर हैसियतको देखाउने छ । यो मैले यसै भनेको पनि हैन । केहीदिन पहिले एकजना गगनका शुभचिन्तक पत्रकारले सोधेका थिए कि रवि र गगनजस्ता युवाका बीच प्रतिस्पर्धा देखिनुलाई कसरी लिनुहुन्छ ? यसको अर्थ कांग्रेसकै तल्लो तहमा पनि गगनले रविलाई देखाइदियो कमजोर बनायो भन्ने सन्देश जाला । तर, गगनको प्रतिस्पर्धा आफूभन्दा कमजोर व्यक्तिसँग भएको स्वीकार गर्दा उनको हैसियत पनि एक तह तल झरेको सन्देश जानेछ । उनले गरिरहेको गल्ती यही हो ।
रवि साथमा नभएपनि ओलीको शक्ति घट्ने हैन । ओली सत्ता र शक्तिका पुराना खेलाडी हुन् र उनी हारलाई कानूनी रुपमा बाहेक स्वीकार्ने मानसिकताका छोटो दूरीका यात्रु हैनन् । आउने माहाधिवेशनबाट पनि ओली अध्यक्ष हुने निश्चितजस्तो देखिएको छ । एमालेले आउने निर्वाचन ओलीकै नेतृत्वमा या उनलाई प्रधानमन्त्री मानेर लड्ने पनि पक्का छ । त्यतिबेला गगनले ओलीलाई इतिहासमा गरेका काम र व्यवहारका लागि आलोचना गर्न त पाउलान् तर, कांग्रेसले इतिहासमा गरेको गल्तीहरूको भारी पनि गगनको थाप्लोमा बोझ बनेर बसिरहने छ ।
यस्तो अवस्थामा अहिले नै गगनले आफूलाई रविको स्तरमा राखेर प्रतिस्पर्धा गरेको देखिनुले उनलाई कमजोर बनाएको छ । उनले त अब आफ्नो सम्पूर्ण ध्यान ओलीसँगको प्रतिस्पर्धाका लागि लगाउनुपर्ने हो । एकजना पर्यवेक्षकका रूपमा म गगनको ध्यान यतातिर आकर्षित गर्न चाहन्छु ।
Facebook Comment
Comment