विवादका बीच दुबईमा नेपाल फिल्म महोत्सव सुरु

बोर्ड अध्यक्षले परिवार लगे, कलाकार लगेनन्

झण्डै ३० लाख खर्च हुने ‘नेपाल्स फिल्म फेस्ट’को व्यवस्थापकीय जिम्मेवारी विवादित निजी कम्पनी सूर्य कर्पोरेसनलाई दिएपछि बोर्ड अध्यक्ष केसीको आलोचना भएको छ ।

नेपालभ्युज

विवादका बीच दुबईमा नेपाल फिल्म महोत्सव सुरु

काठमाडौं। नेपाली चलचित्र बजारमा सबैभन्दा उत्कृष्ट व्यावसायिक कमाइ गरेको नेपाली कथानक चलचित्र ‘कबड्डी ४’को विशेष प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव दुबईमा सुरु भएको छ।

चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ गरिएको हो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरू सहभागी रहे ।

तर, चलचित्र विकास बोर्डले विवादित कम्पनीलाई व्यवस्थापन जिम्मा दिएको भन्दै धेरै कलाकारले दुबई जान इच्छा देखाएनन् । यता बोर्डका अध्यक्ष भुवन केसीले आफ्ना परिवार र सिनेमाभन्दा बाहिरका व्यक्ति लिएर गएको, तर लैजानैपर्ने कलाकारलाई बजेट छैन भन्दै नलगेको गुनासो गरेका छन्।

सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरू उपस्थित थिए ।

सोही अवसरमा अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको प्रतिक्रिया दिए । गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाले यूएईका दर्शकमाझ नेपाली फिल्मको पहुँच पुर्‍याउन एनआरएनएले सहयोग गर्ने बताए । सञ्चारकर्मी तथा निर्देशक भूषण दाहालले नेपाली फिल्मलाई विश्वमाझ लैजान ढिला भइसकेको भन्दै अन्तर्राष्ट्रिय दर्शकलाई लोभ्याउने फिल्म बनाउन जरुरी रहेको बताए ।

महोत्सवमा भाग लिन नेपालबाट ४० फिल्मकर्मी, बोर्ड र सञ्चार मन्त्रालयका कर्मचारी र चलचित्र पत्रकारसहित केही सञ्चारकर्मी दुबई पुगेका छन् । सूर्य कर्पोरेसनको व्यवस्थापनमा आयोजना भएको फेस्टिभल चार दिनसम्म चल्नेछ । कर्पोरेसनका कार्यकारी प्रमुख वासुदेव लामिछानेले फेस्टिभलमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्नु आफूहरूको उद्देश्य रहेको बताए ।

फेस्टिभलको दोस्रो दिन आज रेड कार्पेट समारोह, अवार्ड घोषणालगायत कार्यक्रम गरिनेछ । बोर्डको झण्डै ३० लाख खर्च हुने ‘नेपाल्स फिल्म फेस्ट’को व्यवस्थापकीय जिम्मेवारी विवादित निजी कम्पनी सूर्य कर्पोरेसनलाई दिएपछि बोर्ड अध्यक्ष केसीको आलोचना भएको छ ।

अध्यक्ष केसीसँगै ३९ जनाको टोली दुबई उडेको र जसमा उनका घरका दुई सदस्य जिया केसी र अनमोल केसी पनि सहभागी छन् । उनले फेस्टिभलमा सहभागिताका लागि धेरै कलाकारलाई प्रस्ताव गरिएको भए पनि विभिन्न कारणले सहभागी हुन नसकेको बताए ।

राजेश हमाल, हरिवंश आचार्यसँगै अनमोल केसीका समकालीन कलाकारहरूलाई समेट्न प्रयास गरेको बताएर विवादबाट मुक्त हुन खोजेका केसीलाई धेरै फिल्मकर्मीले आलोचना गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved