विवादै विवादको घेरामा नेपाल टी-२० लिग, क्यान भन्छ खेलाडीलाई मर्कामा पार्दैनौ

सम्झौताअनुरूप खेलाडीले प्रतियोगिता सुरु हुनु एक दिन अगाडि ४० प्रतिशत र खेलको दौरान ६० प्रतिशत रकम पाउने उल्लेख गरिएको थियो। तर, अधिकांश खेलाडीले रकम नपाएको गुनासो गरिरहेका छन् । किन यस्तो भएको छ ? क्यानका महाप्रबन्धक तथा नेपाल टी–२० लिगका टुर्नामेन्ट डाइरेक्टर वृत्तान्त खनालसँगको कुराकानी ।

विवादै विवादको घेरामा नेपाल टी-२० लिग, क्यान भन्छ खेलाडीलाई मर्कामा पार्दैनौ

काठमाडौं । विभिन्न शङ्का- उपशंकाबीच नेपाल टी–२० लिगको सुरुवात भयो । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको लिगमा एकपछि अर्को गर्दै विवाद बढ्दै गइरहेका थिए।

लगातार लिग पछि सर्नु, फ्रेन्चाइज टोली ‘काठमाडौं गुर्खाज’ ले नाम फिर्ता लिनु, मालिकको को हो भन्ने थाहा नहुनु, विदेशी खेलाडी फर्कनु, नाम नचलेका विदेशी खेलाडी कप्तान बन्नु र बेला-बेलामा आयोजक सम्पर्कविहीन हुनु जस्ता घटनाले लिग सुरु नहुँदै विवादमा परेको थियो ।

यी प्रश्नहरूको उत्तर नआउँदै फेरि अर्को प्रश्न उठेको छ । प्रसङ्ग हो ‘स्पट फिक्सिङ’ को आरोप । मङ्गलबार बिहान लिगमा कमेन्ट्री गर्दै आएका सचिन तिमल्सिनाले प्रतियोगितामा स्पट फिक्सिङ भएको आशंका व्यक्त गर्दै छाडेको जानकारी गराए। उनले लिगको दौरान देखिएको खेल शैलीले म्याच फिक्सिङ भएको सङ्केत गरेको सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै बताएका थिए।

लिगमा दोस्रो चरणमा पुग्दा खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै खेल्नै अस्वीकार गर्न थाले। मङ्गलबार काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सले पारिश्रमिकको विषय उठाउँदै टस गर्न मानेनन्।

सम्झौताअनुरूप खेलाडीले प्रतियोगिता सुरु हुनु एक दिन अगाडि ४० प्रतिशत र खेलको दौरान ६० प्रतिशत रकम पाउने उल्लेख गरिएको थियो। तर, अधिकांश खेलाडीले रकम नपाएको गुनासो गरिरहेका छन् ।

यसबारे नेपालभ्युजले क्यानका महाप्रबन्धक तथा नेपाल टी–२० लिगका टुर्नामेन्ट डाइरेक्टर वृत्तान्त खनालसँग कुराकानी गरेको छ।

किन नेपाल टी–२० लिगमा सहभागी खेलाडीले पारिश्रमिक पाइरहेका छैनन् ?

फ्रेन्चाइज कम्पनीको बैंक अकाउन्ट खोल्नु नै समस्या उत्पन्न भएकोले पारिश्रमिक दिन पनि समस्या आएको हो। बैंक टु बैंक लेन देन हुनु आवश्यक छ। साथै, बैंकबाट नभई नगदमा बुझाउनु पनि अपराध हुन जान्छ । त्यसैले पनि पारिश्रमिक दिन समस्या आएको हो। टोलीहरूले बैंक खाता खोले लगत्तै पारिश्रमिक प्रदान गरिनेछ।

काठमाडौं र विराटनगरबीचको खेलको दौरान पारिश्रमिकमा विवाद भयो, कसरी मिलाउनुभयो ?

नेपालमा विदेशी कम्पनीको बैंक अकाउन्ट खोल्न बडो समस्या भइरहेको छ । सोही समस्याका कारण खेलाडी अलि रुष्ट भएका हुन्। त्यही कारण टसमा ढिलाइ भएको हो। किनकि, खेलाडी होटलमा नभई मैदानमा नै कुरा गर्न चाहन्थे।

कमेन्टेटर सचिन तिमल्सिनाले स्पट फिक्सिङ भएको भन्दै लिग छाडे। यसलाई कसरी हेर्नुहुन्छ ?

यसको उत्तर एन्टी करप्सन युनिटसँग हुन्छ। लिगमा आपराधिक गतिविधि नहोस् भनेर राखेको युनिट नै हामीसँग छ। कसैलाई सामाजिक सञ्जालमा भाइरल हुनु छ भने शेरबहादुर देउवालाई भरङ्कर गाली गरे पनि रन्किन्छ । तर, त्यो सत्य त हुँदैन। सत्य हुनु प्रमाण देखाउनुपर्‍यो नि! प्रमाणविहीन कथनलाई मान्न सकिँदैन ।

विभिन्न विदेशी खेलाडी तथा प्रशिक्षक खेल नसकिँदै घर फर्किसकेका छन्, यसको कारण पनि पारिश्रमिक नै हो त ?

विदेशी खेलाडीले एजेन्टको माध्यमबाट लिग खेल्ने गर्दछन्। क्रिकेट फ्रेन्चाइज टोलीले एजेन्टमार्फत खेलाडीलाई आबद्ध गर्छन्। सामान्यता फ्रेन्चाइजले एजेन्टलाई र एजेन्टले खेलाडीलाई पारिश्रमिक दिने प्रक्रिया हुने गर्दछ। त्यसमा हाम्रो संलग्नता नहुने भएकाले विदेशी खेलाडी फर्कनुमा क्यानलाई दोषी भन्न मिल्दैन।

क्यानको व्यस्थापन गुणस्तरीय नभएकै त हो नि ?

म स्विकार्छु कि, क्यानको पनि कमजोरी नभएका होइनन्, तर क्यानलाई निकै नै तल पारेर व्यवस्थापनमा कमजोर देखाउने कार्य भइरहेको छ । जुन पक्कै पनि गलत हो।

क्यानलाई मात्र दोष दिएर, कसैले मुद्दा हाल्दिने। कसैले अर्को विवाद ल्याउने गरेर नै काममा अवरोध आएको हो। त्यतातिरबाट पनि सोच्न आवश्यक छ। हामीबाट पनि केही त्रुटि अवश्य भएको छ । त्यसका लागि हामी क्षमाप्रार्थी छौँ। तर, त्यही स-साना कुरालाई लिएर विवाद गर्नु आवश्यक छैन ।

लिगमा खेलिरहेका नेपाली खेलाडी पारिश्रमिककै कारण मर्कामा पर्छन् कि ?

क्यान खेलाडीको प्रतिनिधित्व गर्ने संस्था हो। अझ अभिभावक संस्था हो। हामी खेलाडीलाई मर्कामा पार्दैनौँ। आजको राष्ट्रिय खेलाडीसँगको छलफलमा उहाँहरूको माग र आवश्यकताबारे विस्तृत रूपमा कुरा भएको छ। हामी त्यसको सम्बोधन गर्नेछौँ।

 

यो पनि पढ्नुहोस्

टी-२० लिगमा नेपालकै छवि धुमिल, खेलाडीले टस गर्नेसमेत मानेनन्

पारिश्रमिकमा सहमति भएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका, सचिनले लिग छाडे

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved