नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका, सचिनले लिग छाडे

नेपालभ्युज

नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका, सचिनले लिग छाडे

काठमाडौं। नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’का कारण कमेन्टेटर सचिन तिमल्सेनाले लिग छाडेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै कमेन्टेटर सचिनले लिग छाडेका हुन्।

प्रतियोगिताको सुरुवाती १० दिन कमेन्ट्री गरेका सचिनले लिग छाडेको बताएका हुन्। सुरूदेखि नै विवादमा परेको लिगलाई नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको थियो। सचिनले दोस्रो चरणको खेल चलिरहँदा उनले लिग फिक्सरको हातमा गएको दाबी गरेका छन्।

‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ। आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन। तर, खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ। ’ उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो मा भनेका छन्।

फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको समेत उनको दाबी छ।केही टिममा खासै नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको देख्दा नै सचिन आश्चर्यमा परेका थिए।

‘सिकन्दर राजाजस्ता खेलाडीलाई खेल्दाखेल्दै पनि ड्रप गर्नु तथा बलिङ धार नभएका खेलाडीलाई बलिङ गर्न लगाउने, सोमपाललाई बलिङ नदिएर खासै प्रभाव नभएको बलरलाई रन खानका लागि बलिङ गर्न दिइएको थियो।’, सचिनले भिडियोमा भनेका छन्।

उनले नेपाली खेलाडीलाई समेत फिक्सिङमा प्रयोग गरिएको दाबी गरेका छन्।

‘सबैभन्दा पीडादायी क्षण के रह्यो भने एक जना नेपाली राष्ट्रिय टिमबाट खेलिसकेको अलराउन्डर छन्, उनले नो बल फाले। त्यति लामो नो बल व्यावसायिक क्रिकेटरले गर्नै सक्दैन,’ उनले भनेका छन्।

उनले फिक्सिङको आशंका गर्दै लिगका लागि खटिएका एन्टी करप्सन युनिटका व्यक्तिलाई उजुरी पनि दिएको बताए।

लिगमा हदैसम्मको बदनियत देखेको र यसले नेपाली क्रिकेटलाई बिगार्ने सचिनले आशंका गरेका छन्। उनले कमन्ट्री गर्दा हरेक बल नियालेर हेरेकाले यस्तो अभिव्यक्ति दिएको पनि भिडियोमा बताएका छन्।

जारी टी–२० लिगमा ६ टिमको सहभागिता छ। लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved