समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भइरहेको भन्दै भीम रावलले सम्झाए ३ विशेषता !

‘जो व्यक्तिहरू पिछडिएका छन्, जसलाई समाजले माथि उठाउनुपर्ने छ, जो आर्थिकरूपमा विपन्न छन्, उनीहरूको उत्थान र प्रवर्द्धनका लागि यो प्रणाली ल्याइएको हो । त्यो त देखिँदैन, यो पनि कहीँ हुने कुरा हो त ?’

नेपालभ्युज

2398980126926834

काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भइरहेको बताएका छन् । बिहीबार रिपोटर्स क्लबमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले संविधानमा जुन उद्देश्यका साथ समानुपातिक प्रणालीबारे लेखेका थियौँ, अहिले ठिक त्यसको उल्टो भइरहेको छ, दुरुपयोग भइरहेको छ ।’

त्यसअघि उनले भने, ‘समानुपातिक निर्वाचन प्रणाली अहिले आफ्नाहरूलाई समेट्ने ठाउँ बनेको छ । श्रीमती, दाइ-भाइ, दिदी-बहिनी, भान्जा-भान्जी, काका-मामालाई समानुपातिकतर्फबाट संसद् पठाउने काम भइरहेको छ । यो समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत भएका कामहरू हुन् ।’

नियामक निकाय त्यसको मूकदर्शक बनेको भनाइ नेता रावलको थियो । ‘निर्वाचन आयोग टुलुटुलु हेरेर बसेको छ,’ उनले भने, ‘निर्वाचन आयोगको काम के ? छानबिन गर्नुपर्दैन ? बुझ्नु पर्दैन ? सच्याउनु पर्दैन ? टुलुटुलु हेरेर बस्न मिल्छ ?’

नेता रावलले संविधान निर्माणमा आफूले सक्रिय भूमिका निभाएकाे र समानुपातिक निर्वाचन प्रणालीको मर्म अहिले भइरहेकोभन्दा निकै पृथक भएको बताए । उनले समानुपातिक निर्वाचन प्रणालीका मुख्यत: ३ वटा विशेषताहरू रहेको सम्झाए ।

१, पछि परेका व्यक्ति/समुदायको उत्थान:

नेता रावलले समानुपातिक निर्वाचन प्रणालीको पहिलो विशेषता पछि परेका व्यक्ति तथा समुदायलाई अगाडि ल्याउने रहेको स्मरण गराए । ‘सार्वभौम संसद्‌मा पछि परेका व्यक्ति तथा समुदायलाई ल्याउने भनेर त्यो प्रणाली राखिएको हो । आज यो देखिँदैन । ठ्याक्कै यसको उल्टो देखिन्छ,’ उनले भने ।

त्यसअघि उनले भने, ‘जो व्यक्तिहरू पिछडिएका छन्, जसलाई समाजले माथि उठाउनुपर्ने छ, जो आर्थिकरूपमा विपन्न छन्, उनीहरूको उत्थान र प्रवर्द्धनका लागि यो प्रणाली ल्याइएको हो । त्यो त देखिँदैन, यो पनि कहीँ हुने कुरा हो त ?’

२, पिछडिएका क्षेत्रहरूको प्रतिनिधित्व:

‘समानुपातिक निर्वाचन प्रणाली भनेर नेताहरूले सुगम जिल्लाका आफूलाई मन पर्ने नेतालाई पिछडिएका क्लस्टरबाट सांसद बनाइरहेका छन्,’ नेता रावलले असन्तुष्टि पोखे ।

संसद्‌मा सबै क्षेत्रकाे प्रतिनिधित्व होस् भनेर ल्याइएको समानुपातिक निर्वाचन प्रणालीमा ठूलाहरूको मात्रै रजाइँ भएको उल्लेख गर्दै उनले भने, ‘यो प्रणाली नेताहरूको राजनीति गर्ने थलो बनेको छ ।’

३, महत्त्वपूर्ण व्यक्तिहरू नछुटून् भन्ने ध्येय:

यसबाहेक देशका लागि चाहिने र मुलुक निर्माणमा चाहिने महत्त्वपूर्ण व्यक्तिहरू नछुटून् भनेर समानुपातिक निर्वाचन प्रणाली ल्याइएको उनले स्मरण गराए । ‘क्लस्टर कहाँ, के हो थाहा छैन, नेतालाई मन परेपछि पर्‍यो, पर्‍यो । अहिले त हामीकहाँ यस्तो छ,’ उनले भने ।

त्यसअघि उने भने, ‘देशका लागि अति महत्त्वपूर्ण व्यक्तिहरू ल्याउने, कानून निर्माणका विषय, राष्ट्रिय सुरक्षाको विषय भयो, समाजलाई योगदान गर्ने कुनै त्यस्ता महत्त्वपूर्ण व्यक्तिहरू छुटेका छन् भने त्यस्तोलाई समेट्ने भनेर यो प्रणाली ल्याइएको हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved