पार्टी जीर्ण अवस्थामा पुगेको छ, पुनर्निर्माण गर्छौँ : दीनानाथ शर्मा (भिडिओवार्ता)

'भोलिका दिनमा पनि नेतृत्व गर्नसक्ने सङ्गठन निर्माण गर्छौँ'

नेपालभ्युज

काठमाडौं । झन्डै डेढ वर्षपछि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक बुधबार सुरू भएको छ । साउन २१ गतेसम्म चल्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अब त्यसमाथि केन्द्रीय कमिटी सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

यही मेसोमा मुख्यगरी बैठकमा के-के विषयमा छलफल हुन्छ ? पार्टी र पार्टीका नेतृत्वमाथि उठेका प्रश्नहरूको सामना कसरी गर्छ पार्टीले ? भावी दिनमा माओवादीले कस्तो सङ्गठन बनाउँछ ? लगायतका विषयमा नेपालभ्यूजले पार्टीका सचिव एवम् पूर्वमन्त्री दीनानाथ शर्मासँग कुराकानी गरेको छ ।

झन्डै डेढ वर्षपछि केन्द्रीय कमिटी बैठक बस्दैछ, बैठकले के-के विषय छलफल गर्दैछ ?

मुख्यगरी दुईवटा विषयहरू छन् । पहिलो— सङ्गठनलाई परम्परागतरूपमा सञ्चालन नगर्ने । र, त्यसका लागि के-के गर्नुपर्ने भन्ने विषय छ । हिजो युद्धकालीन सङ्गठन, संरचना, स्वरूप र सोचाइ; त्यसमा पनि गुणात्मक परिवर्तन हुनुपर्ने भनेका छौँ भने दोस्रो— विचारको सवाल छ । समाजवाद र लोकतन्त्रलाई समानान्तररूपमा र विकसित बनाएर लाने हाम्रो उद्देश्य हो । यो बैठकमा यी दुवैलाई कसरी समानान्तररूपमा अगाडि बढाउन सकिन्छ भन्ने गम्भीर छलफल हुन्छ ।

यसैगरी मंसिर हाम्रो विधान महाधिवेशन हुन्छ। अब मूलत: पार्टीलाई कसरी अगाडि बढाउने ? यही प्रश्न मुख्य भएको छ । सङ्गठनलाई नयाँ युगसापेक्ष नबनाएसम्म, सङ्गठनात्मक सिद्धान्तलाई नयाँ युगको स्तरमा विकास नगरेसम्म यो भद्रगोल सङ्गठनले भोलिका दिनको नेतृत्व गर्नसक्ने अवस्था रहँदैन भनेर हामीले बुझेका छौँ । अहिले बहस यहाँ पनि केन्द्रित रहनेछ । यस्तो अवस्थामा अब त्यही सङ्गठनलाई रेट्रोफिट गर्दा हुन्छ कि त्यसलाई पुन: निर्माण नै गर्नुपर्ने भन्ने विषय छ । यस्तो अवस्थामा अब कार्यक्रम बन्छ, नीति बन्छ । यसमा छलफल गर्नेछौँ । अब कार्यक्रम र विचार दुवैका हिसाबले पार्टी पुन: गठन हुनुपर्छ । हामीले अब केन्द्रीय नेताहरू कम्तीमा ३ वर्षसम्म गाउँ रहनुपर्ने भनेका छौँ । हिजो जनयुद्धकालमा हामी वर्षौँ-वर्ष गाउँ रहँदा भयो भने अब नहुने के छ ? यी विषयहरूमाथि हामीले गम्भीर छलफल र समीक्षा गर्नेछौँ ।

माओवादी सत्ताकेन्द्रित मात्रै हुँदा सङ्गठनचाहिँ भद्रगोल भयो भन्ने कुराहरू उठिरहेका छन्, यो बैठकले यसको समाधान निकाल्छ ?

सत्ता सञ्चालन गर्नु भनेर युगले हाम्रो काँधमा जिम्म्वारी दिएको छ । यद्यपि जनताको म्यान्डेट त्यो थिएन, प्रतिपक्षमा बस्नु र पुन: आउनु भन्ने थियो । तर, यो इतिहासले सुम्पेको जिम्मेवारीलाई पनि हामीले इमान्दारीका साथ निभाइरहेका छौँ । तर, हाम्रो लागि केन्द्रीय प्रश्नचाहिँ सत्ता होइन कि विचार र सङ्गठन नै हुन् । त्यसैले हामीले सङ्गठन र विचारलाई मुख्य प्राथमिकतामा दिइ त्यसबारे गम्भीर समीक्षा र छलफल गर्न लागेका छौँ । सङ्गठन अलिक जीर्ण बनेको हो, यसलाई सुधार्नकै लागि यो केन्द्रीय समितिको बैठक राखिएको हो ।

तपाईंहरूले विधार मिल्ने पार्टीसँग एकता गर्ने भनेर त भन्नुभएकै छ, तर विप्लव नेतृत्वको नेकपासँग चाहिँ चाँडै एकता हुने र विप्लव महासचिव बन्ने कुरा छ नि ? के यसका लागि गृहकार्य भइरहेको छ ?

कोही महासचिव हुने कि नहुने भन्ने कुरा प्रधान कुरा होइन । आवश्यकता एकताको हो र हामीले विचारमा निकटकाहरूसँग एकता गर्ने नै भनेका छौँ । हामी सधैँ एकताका लागि तयार छौँ । कुन पद पाउने वा नपाउने भन्ने विषय मुख्यगरी उसको क्षमता र योग्यतामा पनि भर पर्ने कुरा हो ।

एकताचाहिँ चाँडै हुन्छ नेकपासँग ?

छलफल जारी छ । कुराकानीहरू प्रशस्तै मात्रै भइरहेका छन् । हामीले विचार र सिद्धान्तमा निकट भएका शक्तिहरूसँग एकठाउँ उभिनैपर्छ भनेका छौँ । त्यसमा हाम्रो सधैँ ऐक्यबद्धता छ ।

अन्त्यमा, सरकारका गतिविधिलाई कसरी हेर्नुभएको छ ?

सरकारले ठिक ढङ्गले काम गरेको छ । सरकार हाम्रै नेतृत्वमा छ र हामीले सङ्कल्प गरेका छौँ कि जत्ति सकिन्छ राम्रो गर्ने, तर नराम्रो केही पनि नगर्ने । राम्रोका लागि जत्तिसक्दो प्रयत्न गर्छौँ । पछिका लागि हाम्रो महत्त्वपूर्ण पुँजी यही हो भनेर हामीले बुझेका छौँ । त्यसकारण मन्त्रीहरूले, नेताहरूले र स्वयम् प्रधानमन्त्रीले पनि इमान्दारीताका साथ काम गर्ने; अहिले ठूलो सङ्कट भनेकोचाहिँ भ्रष्टाचार हो । अनियमितता हो । दलाली हो । सामाजिक अराजकता हो । गुण्डागर्दी हो । यी तमाम समस्याको अन्त्य गरी विधिको शासन स्थापित गर्नका लागि सरकार सधैँ प्रतिबद्ध छ । त्यसकारण पछिल्लो अभियानहरू जुन चलेका छन्, त्यसलाई बिनामुलाहिजा समर्थन गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved