केशवकुमार बुढाथोकी : झापामा विकासप्रेमी, केन्द्रमा ‘हक्की स्वभाव’का नेता (अबिच्युरी भिडिओ)

उनी अहिले कांग्रेस केन्द्रीय समितिमा थिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनलाई गुमाउँदा खासगरी झापाको भूमिले रिक्तता महसुस गरेको बताए ।

नेपालभ्युज

काठमाडौं । पूर्वमन्त्री केशवकुमार बुढाथोकी मङ्गलबार बिहान बिते । त्यसपछि अधिकांशले उनको ‘हक्की स्वभाव’ को चर्चा गरिरहेका छन् ।

हुन पनि ‘हक्की स्वभाव’ बुढाथोकीको खासियत नै हो । दार्जिलिङको सेन्ट जोसेफबाट अङ्ग्रेजीमा स्नातक गरेका उनीसँग भुटानी राजाका भान्जा गोदेको विगतसमेत छ ।

बुढाथोकी सेन्ट जोसेफमा नेपालका तत्कालीन युवराजद्वय वीरेन्द्र र ज्ञानेन्द्रसँगै पढ्थे । वीरेन्द्रलाई तत्कालीन भुटानी राजाका भान्जाले हेप्दा बुढाथोकी अगाडि बढेर राजाका भान्जालाई गोदेको स्मरण उनले आफ्नो पुस्तक ‘आफ्नो-आफ्नो सगरमाथा’ मा उल्लेख गरेका छन् ।

२०२४ सालयता राजनीतिमा सक्रिय बुढाथोकी पञ्चायतकालमा पनि झापा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । झापाको हालको अर्जुनधारा नगरपालिका वडा नं. ८ घर भएका बुढाथोकीले २०७३ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्‌मा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

पञ्‍चायतकालमा होस् वा प्रजातन्त्र आएपछि, अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक शासनमा किन नहोस्; बुढाथोकीले झापाका विभिन्न क्षेत्रबाट निर्वाचित भएर संसद्‍मा प्रतिनिधित्व गरेका छन् । झापामा विकासप्रेमी नेताको उपमा पाएका उनी पछिल्लो संसदीय निर्वाचन नलड्ने घोषणा गरेर चर्चामा थिए ।

उनी अहिले कांग्रेस केन्द्रीय समितिमा थिए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनलाई गुमाउँदा खासगरी झापाको भूमिले रिक्तता महसुस गरेको बताए ।

नेपालभ्यूजसँग उनले भने, “झापाको भूमिले त रिक्तताको महसुस गर्ने नै भयो । समग्रमा नेपाली राजनीति र लोकतान्त्रिक व्यवस्थाले पनि उहाँको अभाव महसुस गर्नेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved