भ्यूजटक

नेपालका पार्टीहरू समाजवादको नाममा पुँजीवादलाई ‘पेन्टिङ’ गरिरहेका छन् : कार्की (अन्तर्वार्ता)

'कम्युनिष्टहरूको कांग्रेसीकरण भइरहेको छ'

‘प्रवृत्ति र सोचका दृष्टिले कम्युनिष्टहरू कांग्रेसजस्तै भएका छन् । अहिले जनतालाई सोधियो भने कांग्रेस र कम्युनिष्टबीच कुनै फरक छैन । नत्र भने कम्युनिष्टहरू छुट्टै जातका हुन् । यसकारण कम्युनिष्टहरूको कांग्रेसीकरण भइरहेको छ ।’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीको पार्टीभित्र फरकखाले चिनारी छ । पार्टी पङ्क्ति र नेतृत्वले खासै मन पराइनहाल्ने कार्कीलाई प्राय:ले वैचारिक नेताका रूपमा चिन्दछन् ।

राजनीतिका अलावा पढ्ने र लेख्ने शोक राख्ने कार्की मार्क्सवादी सिद्धान्तका जानकार हुन् । उनले पार्टीभित्रका आम नेता/कार्यकर्ताहरूभन्दा फरक विचार र सोच राख्छन् । त्यसैले हुनुपर्छ, पार्टी बैठक तथा कार्यक्रमहरूमा उनले पूरक दस्तावेज, प्रस्ताव तथा विचारहरू राखिरहन्छन् ।

भर्खरै सम्पन्न प्रथम विधान महाधिवेशनमा पनि कार्कीले केही न केही फरक प्रस्ताव ल्याउँछन् भन्ने अपेक्षा खासगरी सञ्चार वृत्तमा थियो । तर, उनी मौनप्राय: नै रहे । त्यसो त खासमा पार्टीको कार्यदिशा नै ठीक छैन भन्ने निष्कर्ष कार्कीको छ ।

आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारसँग पनि खास सन्तुष्ट देखिँदैनन् कार्की । सरकारको प्रगति र कार्यसम्पादनबारे जिज्ञासा राख्दा कार्कीले ‘तुलनात्मकरूपमा अगाडिका सरकारहरूभन्दा खराब गरेका छैन’ भनेर टुङ्ग्याउँछन् ।

त्यसो त वर्तमान प्रणालीसँग चित्त नबुझाइरहेका कार्की लामो समययता ‘समाजवादी व्यवस्था’को पक्षपोषक र वलकालकर्ता हुन् । सबै पार्टीहरू यथास्थितिवादी भएको निष्कर्ष उनको पुरानै हो । हिजोआज उनले भन्ने गरेका छन्, ‘तत्कालका लागि आ-आफ्नै पार्टीमा बसेरै भएपनि केही नयाँका लागि काम गर्नुपर्‍यो ।’

कार्कीसँगको यो कुराकानीका क्रममा उल्लिखित यी यावत् विषयका साथसाथै ‘करेन्ट ईस्यू’हरू पनि समेटिएका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनप्रति जनाइरहेको असन्तुष्टि, वाम एकताको चर्चालगायतका विषयहरू समेटिएका छन् । सम्पादित अंश यसप्रकाले प्रस्तुत गरिएको छ ।

‘माओवादी अझै फरक ढङ्गले हिँड्न सक्दैन’

कार्की विधान महाधिवेशनपछि पनि माओवादी सही ढङ्गले हिँड्न नसक्ने टिप्पणी गर्छन् । भर्खरै सम्पन्न महाधिवेशन सामान्य परम्पराको निर्वाह जस्तो मात्रै भएको उनको समीक्षा छ ।

महाधिवेशनमा राम्रा/नराम्रा विषयहरू उठेको तर, आफूलाई बदल्ने ढङ्गको बहस भने नभएको उनी बताउँछन् । “माओवादी जसरी हिँडिरहेको छ, त्यसमा भिन्नता ल्याउने ढङ्गले छलफल भएन,” उनले भने ।

 त्यसो त महाधिवेशन भनेको लक्ष्य, कार्यदिशा र कार्यक्रम तय भइसकेपछि पार्टीलाई सङ्गठित गर्नका लागि गरिने कार्यक्रम रहेको उनी बताउँछन् । तर, महाधिवेशनअघि पनि पार्टीभित्र आफूलाई बदल्ने हिसाबले कुनै छलफल र बहस नभएको उनको भनाइ छ ।

अहिले माओवादी मात्रै नभइ नेपालका सबै पार्टीहरू त्यस्तै भएको कार्कीको भनाइ छ । “उनीहरूको कार्यक्रम उस्तै छ । नीति उस्तै छ । नयाँखाले प्रयत्नहरू गरिएका छैनन् । पार्टीहरू वर्तमान गतिरोध अन्त्य गर्नका लागि काम गर्ने अवस्थामा देखिँदैनन् । त्यही भएर कुरूप देखिन्छन्,” उनले भने ।

विद्यमान असफल भएको प्रणालीलाई फेर्नका लागि प्रयत्नहरू हुँदा मात्रै पार्टीहरू सुन्दर देखिने कार्की बताउँछन् । “पार्टीहरू त्यस्तो प्रयत्न गर्दैनन्, उनीहरू दिन कटनीजस्तो मात्रै गरिरहेका छन्,” उनले भने ।

‘कांग्रेससँगको सहकार्य फलदायी भएन भन्ने पार्टीकै धारणा हो’

कार्की नेपाली कांग्रेससँगको सहकार्य फलदायी नभएको बताउँछन् । त्यो समग्र पार्टीको निष्कर्ष भएको उल्लेख गर्दै उनले भनेका छन्, “कांग्रेसले धरमर-धरमर भएका भोटचाहिँ माओवादीलाई लगाउनु भन्ने र आफ्नै खास मान्छेहरूका भोटचाहिँ अरू पार्टीहरूका गुण तिर्न प्रयोग गर्ने काम गर्‍यो ।”

पछिल्लो राष्ट्रियसभा निर्वाचनमा पनि कांग्रेसले यही प्रवृत्ति दोहोर्‍याएको उनले बताए । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेकी चम्पादेवी कार्की कांग्रेसकै कारण पराजित भइन् । माओवादीले यसलाई गम्भीररूपमा लिएको छ । कार्की थप्छन्, “त्यहाँ कांग्रेसले एमालेको गुण तिर्‍यो । त्यसबेला हामी हार्‍यौँ ।”

त्यसो त पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि यही बताउँदै आएका छन् । उनले कांग्रेसबाट पटक-पटक धोका भएको बताउने गरेका छन् । कार्की पनि अध्यक्ष प्रचण्डको भनाइ पार्टीकै धारणा भएको बताउँछन् ।

‘कम्युनिष्टहरूको कांग्रेसीकरण भइरहेको छ’

कार्की नेपालका कम्युनिष्टहरूको ‘कांग्रेसीकरण’ भइरहेको बताउँछन् । लामो समययता कांग्रेससँग सहकार्य गर्दै आएका कम्युनिष्टहरू प्रवृत्ति र सोचका हिसाबले कांग्रेसजस्तै भएको उनको भनाइ छ ।

“पार्टीको चरित्रका हिसाबले के भयो त भन्दा कम्युनिष्टहरू कांग्रेसजस्तै भए । फाइदाको कुरा गर्दा त कम्युनिष्टले सधैँ सरकारमा रहन पाए, धेरै प्रधानमन्त्री तथा मन्त्री भए । तर, सारमा कांग्रेसले कम्युनिष्टहरूलाई आफूहरूजस्तै बनायो । मूल्य, सोच, ल्याकत, मर्मका दृष्टिले कम्युनिष्टहरू कांग्रेसजस्तै छन्,” उनले भने ।

जनतामा जाँदा कांग्रेस र कम्युनिष्टबीच केही नै फरक नभएको उनको भनाइ छ । “नभए कम्युनिष्ट भनेको बेग्लै जातको हो । जहाँसम्म यो संविधान, गणतन्त्र र व्यवस्था जोगाउनका लागि सहकार्य भन्ने कुरा छ, यो डिफेन्सिभ कुरा हुन्,” उनले भने ।

कांग्रेसले खासगरी एमाले र माओवादीलाई आफ्नो राजनीतिक ‘माईलेज’का लागि प्रयोग गरिरहेको बुझाइ कार्की छ ।

‘पार्टीहरू समाजवादको नाममा पुँजीवादलाई पेन्टिङ्ग गरिरहेका छन्’

कार्कीले नेपालका दलहरूले आफूलाई बदल्नेतर्फ बहस नै नगरेको बताउँछन् । नयाँ कार्यक्रममा जानुपर्नेमा उनीहरू पुँजीवादकै कुरा गर्दै, गुणगाण गाउँदै बसेको आरोप उनको छ ।

“नेपालमा जति पनि पार्टीहरू छन्, उनीहरूले पुँजीवादी व्यवस्थाको मर्मत-सम्भार गर्ने काम मात्रै गरिरहेका छन् । विद्यमान व्यवस्थालाई पेन्टिङ गर्ने काम मात्रै गर्छन् । उनीहरूले यसलाई फेर्ने कुरा कहिल्यै गर्दैनन्,” उनले भने ।

उनी उदाहरण दिन्छन्, “जस्तो विद्यमान शिक्षा पद्धति छ, त्यसलाई पूरै फेर्नुपर्ने आवश्यकता छ । तर, हाम्रा पार्टीहरू चाहिँ त्यही वर्तमान शिक्षा पद्धतिलाई फेर्ने भनेर त्यहीमाथि विभिन्न रङ्गहरू भरिरहेका छन् । अनि त्यसरी त्यो कसरी नयाँ भयो ? पुँजीवादलाई रङ्ग्याएर समाजवाद आउँछ ? त्यसलाई रिप्लेस गर्नुपर्‍यो नि !”

उनी थप्छन्, “जस्तो विद्यमान जात व्यवस्था छ, यो अहिले पनि पाठ्यक्रमहरूमा भरिएका छन् । ४ देखि एमसम्मका कार्यक्रमहरूमा जात व्यवस्था जस्टिफाई हुने धेरै कुराहरू छन् । तर, त्यसलाई भत्काउनुपर्छ भन्नेचाहिँ कहीँ भनिएको छैन । अब त त्यतातर्फ पो बहस सोझ्याउनुपर्ला ।”

पुँजीवाद रङ्ग्याएर समाजवाद नआउने भनाइ कार्कीको छ । “यहाँ चिजचाहिँ त्यही पुँजीवाद नै छ तर, हामीले चाहिँ समाजवादको तयारी भनेर पुँजीवादमै डुबुल्की मारिरहेका छौँ । त्यसरी आउँछ त समाजवाद ?,” कार्की प्रश्न गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved