चुनावपछि रोजगारी खोज्दै भारत जाने बढे

चुनावपछि रोजगारी खोज्दै भारत जाने बढे

जुम्ला ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरु भने रोजगारीको खोजीमा भारत जान थालेका छन् ।

चुनावको रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरुषको सङ्ख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।

‘स्थानीय स्तरमा रोजगारीको अवसर छैन’, उनले भने, ‘गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेसँगै गाउँमा पुरुषको सङ्ख्या पातलिन थालेको हो ।’ हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवाहरु भारत जान बाध्य भएको उनको भनाइ छ ।

यहाँका प्रायजसो युवादेखि वृद्धसम्मका धेरै जसो व्यक्तिहरु रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ ।

स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकोले मङ्सिरदेखि फागुन महिनासम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरु बढी हुने यहाँका स्थानीयवासी बताउँछन् ।

रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा जाने गरेका छन् ।

सिङ्जाका बाढी पीडितलाई राहत वितरण

जुम्लाको सिङ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका तीन सय ७० घरधुरीका बाढी पीडितलाई राहत वितरण गरिएको छ । कनकासुन्दरी गाउँपालिकाका एक सय ५० घरधुरी, हिमा गाउँपालिका एक सय २० घरधुरी र सिङ्जा गाउँपालिकाभित्रका एकसय घरधुरीलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

गत असोज महिनाको अन्तिम सातामा परेको अविरल वर्षासँगै आएको बाढीपहिराले सिङ्जा भेगका तीन पालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो ।

सरकारले सिङ्जा क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोगमा त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प, डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved