को बन्ला कर्णाली प्रदेशको मुख्यमन्त्री ? कांग्रेस र माओवादीबाट २-२ जना दाबेदार

प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत आएको छ। तर केही गरी गठबन्धन भत्कियो भने आफ्नो सरकार बन्ने भन्दै एमाले नेताहरू पनि मुख्यमन्त्रीको दौडमा सामेल छन्। मुख्यमन्त्रीका लागि कांग्रेसबाट जीवनबहादुर शाही, राजीवविक्रम शाह, माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट मुख्य दाबेदार छन्। एमालेका यामलाल कँडेल र विनोदकुमार शाह पनि यो दौडमा देखिन्छन्।

को बन्ला कर्णाली प्रदेशको मुख्यमन्त्री ? कांग्रेस र माओवादीबाट २-२ जना दाबेदार

सुर्खेत। कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि कांग्रेस र माओवादीका नेताको दौडधुप सुरु भइसकेको छ। प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत आएको छ। तर, केही गरी गठबन्धन भत्कियो भने आफ्नो सरकार बन्ने भन्दै एमाले नेताहरू पनि मुख्यमन्त्रीको दौडमा सामेल छन्।

मुख्यमन्त्रीका लागि कांग्रेसबाट जीवनबहादुर शाही, राजीवविक्रम शाह, माओवादी केन्द्रबाट राजकुमार शर्मा, विन्दमान विष्ट मुख्य दाबेदार छन्। एमालेका यामलाल कँडेल र विनोदकुमार शाह पनि यो दौडमा देखिन्छन्।

कांग्रेसका दाबेदार जीवनबहादुर शाही अहिले पनि कर्णालीको मुख्यमन्त्री छन्। २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनको बहुमत हुँदा प्रदेशसभामा शाहीले मात्रै प्रत्यक्ष जितेका थिए। उनी अहिले हुम्ला निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका शाही विगतमा हुम्ला जिल्ला विकास समितिको सभापति, पर्यटनमन्त्री र हुम्लाबाट तीनपटक सांसद भइसकेका छन्। २०७४ साल र २०७० सालमा संविधान सभा सदस्य रहेका शाही फेरि मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशमा उठेका थिए।

उनी अहिले आफूले कर्णालीको विकासका लागि अगाडि सारेको ‘छ’ ब को नीतिलाई कार्यान्वयन गर्न प्रदेशसभामा उठेको बताउँछन्।

शाहीसँगै कांग्रेसका केन्द्रीय सदस्य राविजविक्रम शाहले पनि मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभाको निर्वाचनमा उठेका हुन्। शाहले जाजरकोट प्रदेशसभा (२) बाट उम्मेदवारी दिएर जितेका छन्। शाह २०७० साल र २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट जाजरकोटमा उम्मेदवार बने पनि पराजित भएका थिए।

माओवादी केन्द्रका नेता राजकुमार शर्मा पनि मुख्यमन्त्रीको प्रबल दाबेदार हुन्। माओवादी सङ्गठनमा लामो समय काम गरेका शर्मा २०७४ सालमा रुकुम पश्चिमको जिल्ला समन्वय समितिको प्रमुख बनेका थिए। शर्मा रुकुम पश्चिम प्रदेश सभा (२) बाट विजयी भएका छन्।

शर्मासँगै माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा विन्दमान विष्टको पनि दाबी छ। सुर्खेत-२ प्रदेश सभा (२) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएका उनी २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। विष्ट कर्णाली प्रदेश सरकारको अर्थमन्त्री भइसकेका छन्।

सत्ता गठबन्धनको सरकार बन्दा कर्णाली प्रदेश कसको भागमा पर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, माओवादीले पाएमा विष्ट र शर्माबीच मुख्यमन्त्री बन्नका लागि प्रतिस्पर्धा हुनेछ।

मुख्यमन्त्रीको दाबी गर्दै एमालेका यामलाल कँडेलले पुन प्रदेशसभामा उम्मेदवारी दिए। २०४८ सालमा वीरेन्द्रनगरको मेयरमा विजयी भएका कँडेल २०५१ साल २०७० सालमा प्रतिनिधिसभा विजयी भएका थिए। पर्यटनमन्त्रीसमेत भएका कँडेल २०७४ सालको निर्वाचनमा मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभामा झरेका थिए।

एमालेको बहुमत हुँदाहुँदै कर्णाली प्रदेश सरकार माओवादीको भागमा परेका कारणले उनी मुख्यमन्त्री बन्न असफल भए। पछि वाम गठबन्धन टुट्यो र माओवादीले कांग्रेससँग सत्ता साझेदारी गर्‍यो। कँडेल पुनः मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा झरेका हुन्।

एमालेको कर्णाली प्रदेश इन्चार्जसमेत रहेका कँडेल आफूभन्दा जुनियर नेतालाई प्रतिनिधि सभामा पठाएर प्रदेशमा लडे पनि मुख्यमन्त्री बन्न सहज भने छैन। उनी सुर्खेत २ (१) बाट विजयी भएका छन्।

कँडेलसँगै एमालेका कर्णाली प्रदेश अध्यक्ष रहेका विनोदकुमार शाह मुख्यमन्त्रीका आंकाक्षी हुन्। दैलेख-२ (२) मा बाट उनी निर्वाचित भएका छन्। २०४८ सालदेखि संसदीय निर्वाचनमा भाग लिँदै आएका शाह राजाको प्रत्यक्ष शासनकालमा राज्यमन्त्री भएका थिए।

एमालेबाट दुईजना दाबेदार देखिए पनि कर्णाली प्रदेशमा सत्तागठबन्धनमा आबद्ध दलले सरकार बनाउन सक्ने स्पष्ट बहुमत पाएका छन्। एमालेले कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ पाँच सिट मात्रै जितेको छ। सत्ता गठबन्धन नभत्किएसम्म एमालेबाट मुख्यमन्त्री बन्ने सम्भावना देखिँदैन।

त्यसैले, यो प्रदेशमा कांग्रेस र माओवादीका चार जना प्रतिस्पर्धीकै बीचबाट एक जना मुख्यमन्त्री चयन हुने लगभग निश्चित देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved