आम निर्वाचन २०७९

प्रधानमन्त्री देउवाका सारथी कसको अवस्था के छ ?

नेपालभ्युज

प्रधानमन्त्री देउवाका सारथी कसको अवस्था के छ ?

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा सातौं पटक निर्वाचित भएका छन्। देउवा २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्।

देउवा नेतृत्वको सरकारमा रहेका एक मन्त्री विजयी भएका छन् भने दुई मन्त्री पराजित भएका छन्। अन्यको मतगणना जारी छ। देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीमध्ये हाल सम्म श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम १ बाट निर्वाचित भएका छन्। कुँवरले १९ हजार ५३४ पाएका छन्। उनले नेकपा एमालेका उम्मेदवार झपट बोहोरालाई पराजित गरेका हुन्।

उर्जामन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल ललितपुर ३ मा तेस्रो भएकी छिन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छिन्। नेकपा एमालेका उम्मेदवार अमृत खड्का दोस्रो भएका छन्।

त्यस्तै काठमाडौं ८ बाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ पनि पराजित भएका छन्। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। जीवनराम तेस्रो भए।

गृहमन्त्री बालकृष्ण खाण रूपेन्देही क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा छन्। उनी राप्रपाका दीपक बोहरासँग प्रतिस्पर्धामा छन्। पछिल्लाे मतपरिणामअनुसार खाणले ९ हजार १८२ मतसहित अग्रता लिइरहेका छन्। बोहाराले ८ हजार ४७९ मतसहित पछ्याइरहेका छन्।

सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार छन्। उनी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतसँग प्रतिस्पर्धामा छन्। कुसियैतको ५ हजार ३१७ मत हुँदा कार्कीले ४ हजार ७६४ मत पाएका छन्।

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका अर्थमन्त्री शर्मा चुनावी मैदानमा छन्। उनले ५ हजार ३७१ मतसहित लिड गरिरहेका छन्। दोस्रो स्थानमा नेकपा एमालेका नन्दराम देवकोटा छन्। उनको २ हजार २०८ मत रहेको छ।

नेपाली कांग्रेसका उम्मेदवार एवं खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ बाट चुनावी मैदानमा छन्। उनी नेकपा एमालेका अच्युतप्रसाद मैनालीसँग प्रतिस्पर्धामा छन्। मैनालीले १८ हजार ५०० मत पाउँदा चौधरीले १४ हजार ८३० मत पाएका छन्।

उदयपुर १ बाट नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री नारायण खड्का उम्मेदवार छन्। उनी एमालेकी मञ्जुकुमारी चौधरीसँग प्रतिस्पर्धामा छन्। खड्काले ६ हजार १५२ मतसहित अग्रता लिइरहेका छन्। यस्तै चौधरीको ५ हजार ७२५ मत रहेको छ।

नेकपा माओवादी केन्द्रका नेता शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट चुनावी प्रतिस्पर्धामा छन्। उनले नेकपा एमालेकी मञ्जु शर्मासँग प्रतिस्पर्धा गर्दैछन्। पौडेल अगाडि छन्। उनले १२ हजार ६२३ मत पाएका छन् भने शर्माले ११ हजार १२७ मतसहित पछ्याइरहेकी छिन्।

शहरी विकास मन्त्री मेटमणि चौधरी दाङ १ बाट निर्वाचनमा छन्। उनी नेकपा एमालेकी शान्ता चौधरीसँग चुनावी प्रतिस्पर्धामा छन्। चौधरीले १ हजार ९८२ ले अग्रता लिएका छन्। पछिल्लो परिणाम अनुसार चौधरीले ५ हजार ९८३ मत प्राप्त गरेका छन् भने शान्ताले ४ हजार १ मत प्राप्त गरेकी छिन्।

बाँके १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका खेलकुद मन्त्री महेन्द्रजंग गहतराज दोस्रो स्थानमा छन्। पहिलो स्थानमा एमालेका सूर्यप्रसाद ढकाल रहेका छन्। ढकालको १२ हजार ४२३ मत छ भने गहतराजको १० हजार ८८३ मत रहेको छ।

देउवा नेतृत्वको सरकारमा रहेका स्वास्थ्यमन्त्री भवानी खापुङ, महिला मन्त्री उमा रेग्मी र भूमिसुधारमन्त्री शशी श्रेष्ठले प्रत्यक्षमा टिकट पाएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved