सुदूरमा निर्वाचनको सबै तयारी पूरा, सुरक्षा व्यवस्था कडा

नेपालभ्युज

सुदूरमा निर्वाचनको सबै तयारी पूरा, सुरक्षा व्यवस्था कडा

धनगढी। सुदूरपश्चिम प्रदेशमा आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ । प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन् । निर्वाचनलाई लियर प्रदेश भरी सुरक्षा व्यवस्था पनि चुस्तदुरुस्त पारिएको छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेशभरका दुई हजार १४६ मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगिसकेको जानकारी दिए । उनले मतदानका लागि सबै केन्द्रमा गरेर स्वयंमसेवक समेत गरेर करिब २५ हजार कर्मचारी खटाइएको बताए ।

प्रदेश राजधानी समेत रहेको कैलालीका ६२९ मतदान केन्द्रमा मात्र पाँच हजार २१ जना कर्मचारी र दुई हजार ५०५ जना स्वयंम सेवक खटिएका छन् । प्रदेश भरी ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयसहित बनाउँदै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भोलाबहादुर रावलले ११ हजार ५५९ म्यादी प्रहरीसहित प्रदेशभर सबै सुरक्षा निकायका करिब २५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

नेपाल प्रहरीतर्फ मात्र विभिन्न दर्जाका ६ हजार ४१० जना निर्वाचनका लागि खटिएका छन् भने सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोही हाराहारीमा जनशक्ति परिचालन गरेको छ । प्रदेशभरका एक हजार १६१ मतदान स्थलमध्ये सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गर्दै सोहीअनुसार सुरक्षा योजना बनाएर लागू गरिएको छ । सुदूरपश्चिममा ४०५ मतदानस्थल सामान्य, ४७४ संवेदनशील र ३५२ अति संवेदनशीलको सूचीमा छन् ।

८८ वटा स्थानीय तहमा १७७ मोबाइल टोली, २० वटा रिजर्भ फोर्स र आवश्यकता परेमा प्रत्येक बुथमा पुग्ने गरी हवाई गस्तीको पनि व्यवस्था गरिएको छ । नेपाली सेना सुदूरपश्चिम पृतनापति विजय थापाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको हो । ९ वटै जिल्लामा १६ लाख ५८ हजार ४ जना मतदाता रहेकोमा ८ लाख १५ हजार २१३ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ जना अन्य छन् । सुरक्षा योजनाअनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved