मकवानपुरका मतदान केन्द्रमा पुगे कर्मचारी र सुरक्षाकर्मी

मकवानपुरका मतदान केन्द्रमा पुगे कर्मचारी र सुरक्षाकर्मी

हेटौंडा। आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मकवानपुरका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । गएराति १२ बजेबाट मौन अवधि सुरु भएको सूचना टाँस गर्ने लगायतका काम कर्मचारीहरुले गरिसकेका छन् ।

मकवानपुरको दश वटै मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मकवानपुरका मुख्य निर्वाचन अधिकृत निरौलाका अनुसार निर्वाचनको आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको भइसकेको छ । कर्मचारी र सुरक्षाकर्मी हिजो साँझसम्म नै चुनाव सामग्रीसहित मतदानस्थलमा पुगिसकेका छन् ।

मकवानपुरको मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयबाट मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिएको उनले बताए । उनीहरूले बुझेको सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा सुरक्षाका साथ राखेका छन् ।

चुनावमा खटिएका कर्मचारीले तोकिएको निर्वाचन अधिकृतको कार्यालबाट मतपत्र, मतपेटिका, छेकबार, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ७३ प्रकारका निर्वाचन सामग्री बुझेरे मतदान केन्द्रमा गएका हुन् । ती सामग्रीलाई मतदान केन्द्रका अधिकृत, कर्मचारी र सुरक्षाकर्मीले सुरक्षा दिएर राखेका छन् । साथै मतदान स्थल निर्माणको काम सुरु गर्ने तयारी पनि थालेका छन् ।


मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरिपरि कुनै पनि प्रकारको जाँडरक्सी खान पाइने छैन । चुनावको सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना खटिनेछन् । एक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एकसहित आठ जना कर्मचारी रहने व्यवस्था छ । कतिपय नजिकका मतदान केन्द्रले सुरक्षाको कारण मतपत्र नबुझेको र त्यहाँ आज र भोलि मतपत्र लगिने निरौलाले बताए ।

३ लाख ७ सय ३३ जना मतदाता

मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् ।

यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । अन्य ४ जना मतदाता रहेका छन् । उक्त क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार यो निर्वाचन क्षेत्रमा छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् ।

निर्वाचन क्षेत्र नम्वर २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन्, भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ । मकवानपुर क्षेत्र नम्बर १ को (क) मा ७७ हजार ९ सय ८९ जना मतदाता रहेका छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना छन् ।

महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यमा १ जना छन् । मकवानपुर क्षेत्र नम्बर–१ को (ख) मा कुल मतदाता ७२ हजार १ सय ६६ जना रहेका छन् । जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना छन् । क्षेत्र नम्बर–१ को प्रदेशसभा ९क० मा पुरुष मतदाता वढी रहेका छन् । प्रदेश ९ख० मा महिला बढी मतदाता रहेका छन् ।

मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा कुल मतदाता ८३ हजार ९९ जना छन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार २ सय ५५ जना छन् । अन्यमा १ जना छन् । क्षेत्र नम्बर–२ को (ख) मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन् । यस मध्यमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् । क्षेत्र नम्बर–२ को दुवै प्रदेशसभा क्षेत्रमा पुरुष मतदाता बढी रहेका छन् ।

९८ जना कैदीबन्दीले मतदान गर्न पाउने

४ मंसिरमा हुने निर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । कारागारका जेलर तिर्थराज पौडेलका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्थाको तयारी सुरु गरिएको छ । जेलर पोडेलले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका ९८ जना कैदीबन्दीको मतदान गर्न पाउने भएको बताए ।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय, हेटौडाले जनाएको छ ।
कार्यालयका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्न पाउने छन् ।

चार उम्मेदवारले आफैंलाई दिने छैनन् भोट

मकवानपुर क्षेत्र नम्बर १ की उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, क्षेत्र नम्बर २ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले आफैंलाई मतदान गर्ने छैनन् ।

त्यसैगरी गठबन्धनकै क्षेत्र नम्बर २ को प्रदेशसभा १ की उम्मेदवार माओवादीकी केन्द्रीय सदस्य कुमारी मोक्तान र प्रदेशसभा २ का उम्मेदवार कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि आफैंलाई मतदान गर्न पाउने छैनन् । हेटौंडा उपमहानगरपालिका–२ स्थायी घर भएकी क्षेत्र नम्बर १ की उम्मेदवार डिनाको मतदाता नामवली प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्ने भीमफेदी गाउँपालिकामा रहेको छ । उनले भीमफेदी ७ मा मतदान गर्नेछिन् ।

क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडाको नाम भने क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगरपालिका–४ मा छ । उनको घरसमेत रहेको वडा नम्बर ४ स्थित भुटनदेवी मावि मतदान केन्द्रमा खतिवडाले मतदान गर्नेछन् ।

प्रदेशसभा उम्मेदवार बानियाँको मतदाता नामावली क्षेत्र नम्बर १ अन्तर्गत हेटौंडा उपमहानगर–१८ मा रहेको छ । बानियाँको गृह वडामा रहेको कमला निमावि मतदान केन्द्रमा उनले मतदान गर्नेछन् । अर्का प्रदेशसभा उम्मेदवार मोक्तानको मतदाता नामवलीमा नाम रहेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा मतदान गर्नुपर्ने हुन्छ । मोक्तानले हेटौंडा उपमहानगर– १३ को कालिका निमावि मतदान केन्द्रमा मतदान गर्नेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved