स्थलगत रिपोर्ट

रुपन्देही-१ : यस्तो देखियो घनश्याम र छविलालको घरदैलो

‘ग्यारेन्टी खोज्दै मतदाता’

रुपन्देही १ मा घनश्याम र छविलालबीच कडा टक्कर हुने देखिन्छ । अहिले दुवै उम्मेदवार गाउँ-गाउँमा मत माग्न व्यस्त छन् । दुवै उम्मेदवारको घरदैलोलाई नेपाल भ्युजले पछ्याएको छ ।

रुपन्देही-१ : यस्तो देखियो घनश्याम र छविलालको घरदैलो

रुपन्देही । कात्तिक २७ गते बिहान रुपन्देही क्षेत्र नं १ अन्तर्गत पर्ने ओमसतिया गाउँपालिका १ को नयाँगाउँ नेपालभ्यूजको टोली पुग्दा नेकपा (एमाले) उम्मेदवार छविलाल विश्वकर्मा चुनावी घरदैलोमा व्यस्त थिए । ठूला कदका छविलालको पछि जमात भने निकै सानो थियो । उनीसँग समानुपातिक उम्मेदवार र जिल्ला समितिका केही नेताहरू मात्रै थिए ।

छविलाल एकचोटी गरेको (बनाएको) ‘नमस्कार’ अर्को घरसम्म पुर्‍याउँथे । लखतरान देखिएका उनी कसैलाई नमस्कार गर्न भने छुटाउँदै थिए । उनले बालबालिकादेखि बृद्धबृद्धासम्मलाई ‘मत कता हो, थाहा छ नि ?’ भन्थे । यसपछि अन्य नेता-कार्यकर्ताको जिम्मेवारी हुन्थ्यो, मतदातालाई भोट हाल्न सिकाउने ।

छविलाल त्यहाँको वस्तुस्थिति र मतदाताको मनोविज्ञान बुझेर बोल्थे । ‘स्वास्थ्य कस्तो छ ?’, ‘स्वास्थ्य बिग्रेको हो र ?’, ‘केही समस्या छन् ?’, ‘अनि परिवारमा के—कसो छ ?’ भन्नेजस्ता सन्दर्भ उनीबाट मुखरित भइरहन्थे ।
मतदाताहरू भने ‘ग्यारेन्टी’सहितका प्रतिबद्धता खोजिरहेका थिए । घरदैलोका क्रममा भेटिएका आधाभन्दा धेरैले भने— ‘पहिलेको जस्तो जितेर भएपछि फर्केर नआउनचाहिँ पाइँदैन ।’ मतदाता रिझाउन माहिर छविलालको प्रत्यूत्तर हुन्थ्यो, ‘पहिले औपचारिकतामा मात्रै सीमितजस्तो भयौँ, अब त प्रत्यक्ष संवाद र भेटघाटको प्रबन्ध हुन्छ । तपाईंहरू ढुक्क रहनुस् ।’

निर्वाचनका बेला उम्मेदवार नरम हुनु स्वाभाविक हो । उनीहरू अझ ‘डिसेबल’ मानिसप्रति बढी नम्रता र निकटता प्रकट गर्छन् । छविलालको प्रस्तुतिले यस कथनलाई बल पुर्‍याउँथ्यो । नजिकै एक अपाङ्गता भएका मतदाता भेटिए । छविलाल नमस्कार गरेर सोध्न थाल्छन्, ‘के भयो, कहिलेदेखि हो ?’ मतदाता आफूलाई करिब ५६ महिनायता त्यस्तो भएको बताउँछन् । चुकचुकाइरहेका छविलाल भन्छन्, ‘चुनावपछि पनि भेट्नुपर्छ है ।’

त्यसपछि झन्डै १०० मिटर पश्चिम जाँदा एउटा घर पुगियो । घरमा एक ९५ वर्षीय बयोवृद्ध रहेछन् । घरभित्रै रहेका बृद्धलाई भेटेर मात्रै जाने छविलालले बताएपछि टोली अगाडि बढेन । केही समय कुर्नुपर्‍यो । केही समयको कुराइपछि उनी निस्के र छविलालले ढोगेर भने, ‘मतचाहिँ सूर्यमा है ।’

जीतबहादुर राणा नाम बताउने उनी केहीरूपमा राजनीति बुझ्दा रहेछन्, भन्दै थिए— एमालेलाई जिताउनुपर्छ, अहिले पनि सबैभन्दा ठूलो दल एमाले नै हो । यसले नगरे पनि गर्नचाहिँ खोज्छ । हाँसो फैलियो, हाँसोका फैलावटसँगै घरदैलो टोली निस्कियो ।
यसपछि नेपालभ्यूजसँग संक्षिप्तरूपमा बोलेका उनले आफूले जित्ने दाबी गरे । भने, ‘काम गरेर देखाएको छु, त्यो काम जनताले देखेका छन् । सूर्य चिह्नका मतदाताहरूको अपमान गरेको छैन, आन्दोलनलाई छाडेको छैन । म जित्छु । यसमा ढुक्क छु ।’

पार्टीबाट राजीनामा गरेर सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाटै स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन् छविलाल, भन्छन्— ‘चुनावको बेला छ, म कसैको बारेमा टिप्पणी गर्दिनँ । यत्ति भन्छु, दलको विकल्प दल नै हो । हामी दलीय व्यवस्थामा छौँ ।’

०००
सोही दिन दिउँसो नेपालभ्यूजको टोली देवदह नगरपालिका १ को राजाबारी पुग्यो । राजाबारीमै रहेको एकता पार्टी प्यालेसमा घनश्याम गठबन्धनले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सहभागी थिए । प्यालेसभित्र छिर्दा कार्यक्रमलाई सम्बोधन गरिरहेका घनश्याम भन्थे— ‘अरुले जे सोचून्, जे बोलून् । हामी आफ्नो काम गरौँ । विजय सुनिश्चित छ । अगाडि बढ्ने हो, हामीले भन्ने गरेको समृद्धिसम्म पुग्ने हो ।’ आफ्ना समर्थकसँगै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका पदाधिकारीसमेत उपस्थित त्यस भेलामा उनले थपे, ‘तपाईंहरू त्यसका लागि काम गर्नुस् ।’

कार्यक्रमको समापनपछि घनश्यामसहितको टोली देवदह नगरपालिका २ को ढेकारका लागि निस्कियो । छविलाल विश्वकर्माको भन्दा धेरै संख्यामा रहेका नेता-कार्यकर्ता लस्करै अघि बढे । तर, मत माग्ने काइदा भने छविलाल र घनश्यामको उस्तै थियो ।
लावा–लस्करै दर्जन गाडीमा हिँडेका नेता-कार्यकर्ता अगाडी बलेरोमा उभिएका धनश्यामलाई पछ्याइरहेका थिए । अगाडि बढ्दा केही घरहरू सडकभन्दा २-३ सय मिटर पर देखिए । गाडीबाट ओर्लेर घनश्याम घरतर्फ हिँडे । उनी हिँडेपछि अरु नजाने कुरै भएन, । एउटा घरमा वृद्ध मतदाता रहेछन् । ‘आशीर्वाद माग्न आएका हौँ,’ ढोगिसकेपछि घनश्याम भन्छन् । बोल्न पनि राम्रोसँग नसक्ने ती वृद्ध घनश्यामको टाउको छामेर भन्छन्, ‘जित्नुस् । आशीर्वाद छ ।’

घनश्याम पनि छविलाल झैँ नै नमस्कार गरेको हात नभत्काइ केही घर घुमे । तर, धेरैले उनलाई एमालेमै छ भनेर सोचेको पाइयो । केही मतदाता प्रश्न गर्दै थिए, ‘सूर्यमै हो मत हाल्नुपर्ने ?’ कार्यकर्ता वृत्तमा घनश्याम एमालेमा नरहेको सन्दर्भ प्रष्ट भएपनि मतदाताको स्तरमा यो नौलो नै रहेछ । मतदाताको प्रश्नमा घनश्याम हाँस्दै भन्थे— ‘जहाँ भएपनि त्रिभुजमा है मतचाहिँ ।’

तैपनि आफ्नो विजय यात्रा भने नरोकिने दाबी उनी गर्छन् । घरदैलोकै क्रममा नेपालभ्यूजसँग संक्षिप्त वार्ता गरेका घनश्यामले भने, ‘मलाई ५ वटा पार्टीको समर्थन छ । मलाई हार्नुपर्दैन ।’ उसो त घनश्याम पनि आफ्नो पूर्वसहयोद्धासँगै चुनाव लड्दैछन् । घनश्याम र छविलाल लामो समययता एमालेबाट वामपन्थी राजनीतिमा सँगै थिए । तर, प्रकारान्तरले मुख्य प्रतिस्पर्धी बनाएको छ ।

‘सहकर्मी÷सहयोद्धाको कुरा त फरक हुन् । मुख्य मुद्दा हो । हामी संविधानको रक्षाका लागि उभिन्छौँ, लोकतान्त्रिक स्थिरताको पक्षमा उभिन्छौँ, उभिन्छौँ भन्न सक्छौँ कि सक्दैनौँ, संसद् विघटन गर्ने कुनै पनि षड्यन्त्र संविधानविरोधी हो भन्न सक्छौँ । यो पनि भन्न नसक्ने हो भने राजनीतिको के अर्थ हुन्छ ? म मेरो जिन्दगीका मूल्यहरू जनतालाई बताउँदै छु, म जित्छु ।’

ग्यारेन्टी खोज्दै मतदाता

नेपालभ्यूजको टोलीले रुपन्देही क्षेत्र नं १ मा पर्ने विभिन्न वस्तीहरूमा कुरा गर्‍यो । धेरैले सुनाए— ‘भोट दिइन्छ, जितेर गएपछि अर्को चुनावसम्म फर्किएर आउँदैनन् ।’ उनीहरू ‘ग्यारेन्टी’ खोजिरहेका छन् । रोहिणी गाउँपालिका ४ का गोविन्द अर्याल भन्छन्, ‘अब गर्छु भन्दै हिँड्ने उम्मेदवारलाई भोट दिइन्न, गर्छु भनेर ग्यारेन्टी गर्नेलाई मात्रै दिइन्छ । यदि उनले पनि केही गरेनन् भने त्यसकै आधारमा अर्कोपटक पेल्न त पाइन्छ ।’

यही क्षेत्रमा पर्ने ओमसतिया नगरपालिका ५ की रीता हरिजन भन्छिन्, ‘हाम्रो दुःख बुझ्ने नेता चाहियो ।’ पहिले आफूहरूले जिताएको प्रतिनिधिसँग बिच्किएकी रीता थप्छिन्, ‘घर, नाला, सडक सबैको अभाव छ हामीसँग । यी सबै कुराहरू गर्ने नेता चाहियो । पहिलेका नेताले गर्छु मात्रै भनेर हराए । अबचाहिँ साँच्चै गर्नेलाई भोट दिने हामी ।’

तिलोत्तमा नगरपालिका १७ मा भेटिएका अजय सहनी युवा हुन्, उनी युवाकै पक्षमा छन् । ‘अब नेतृत्वमा युवा आउनुपर्छ । पाका नेताहरू दोहोरिएर केही हुनेवाला छैन । हुने भए पहिल्यै भइसक्थ्यो,’ सहनी भन्छन् । कक्षा १२ सम्म अध्ययन गरेको बताउने उनले नेपालभ्यूज टिमसँग भने, ‘अब बालेनजस्तो, रविजस्तो, सीके राउतजस्तो नेता चाहिन्छन् । जसले आजको युग र समयको प्रतिनिधित्व गर्न सक्छन् ।’

आफ्नो गाउँ–छिमेकमा बग्रेल्ती समस्याहरू कुनै नेताले नदेखेको सुनाउँदै उनले जोड गरे, ‘म सबै मतदातालाई युवालाई छान्न अनुरोध पनि गर्छु र युवामा पनि काम गर्ने खालको चाहिँ छान्न अनुरोध गर्छु ।’

त्यसबाट देवदह नगरपालिकाको वडा नं ६ पुग्दा खेतमा काम गरिरहेका धर्म यादव भेटिए । उनलाई राजनीतिबारे खास ज्ञान छैन । तर, चुनावपछि नेताहरू कहिल्यै नफर्किको तथ्यले भने उनलाई घोचिरहन्छन् । हामीलाई देखेपछि उत्साहित भएपछि उनले बोले, ‘सबैजना फटाहा भइसके । जिताएपछि जान्छन्, अनि अर्को चुनाव नसकेसम्म फर्किँदैनन् । अब फर्किनेलाई मात्रै भोट दिन्छौँ ।’

हामीले मतदाताको यही प्रश्न यस क्षेत्रबाट चुनाव लडिरहेका छविलाल विश्वकर्मा र घनश्याम भूसाललाई सोध्यौँ । छविलालले भने, ‘हिजोको कुरा हिजै गयो । अबचाहिँ जनतासँग प्रत्यक्ष जोडिने संयन्त्र बनाउँछौँ र जोडिन्छौँ ।’ घनश्याम पनि के कम ? भने— ‘जनतासँग छुट्टिएर केही हुन्छ र ? म त जनतासँगै थिएँ, छु र हुनेछु ।’

के होला परिणाम ? 

दाबीलाई केही पर राखेर हेर्दा रुपन्देही १ मा घनश्याम र छविलालबीच कडा टक्कर हुने देखिन्छ । यस क्षेत्रमा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, र ६ नम्बर वडा पर्छन् ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार यहाँ कांग्रेसले ३२ हजार ९९९ र एमालेले ३० हजार ३९४ पाएको छ । राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादी केन्द्रले ४ हजार २०२ र नेकपा एकीकृत समाजवादीले १ हजार २४३ पाएको छ ।

यस आधारमा छविलाल घनश्याम भन्दा केही बलिया देखिन्छन् । किनकी जसपा र राप्रपाको एउटा समूहले उनलाई समर्थन गरेको छ ।

तर एमाले देवदह नगर अध्यक्ष टीकाराम चापागाईं पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । उनले एमालेका केही मत काट्ने अनुमान गरिएको छ । जसपा र राप्रपामा पनि विभाजन आएको छ । घनश्यामको घर पनि यही क्षेत्रमा पर्छ । निवर्तमान सांसद रहेका छविलालसँग आम मतदातामा केही असन्तुष्टि पनि देखिन्छ । यि सबैलाई मिलाउँदा प्रतिस्पर्धा बराबरीको देखिन्छ । कसले बाजी मार्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

तस्वीरहरु : सुनिल महर्जन 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved