ओलीलाई ओनसरीको प्रश्न-संसदलाई मृत्यु शैय्यामा पुर्‍याउन पुनः बहुमत चाहियो ?

नेपालभ्युज

काठमाडौं ।  नेकपा माओवादी केन्द्र की नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छन् । सोमवार काठमाडौं- २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुईदुई पटक संसद विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन् ।

उनले ओलीले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शैय्यामा पुर्‍याउनको लागि पुनः बहुमत चाहिएको हो ? भन्दै प्रश्न गरिन् । पूर्वसभामुखसमेत रहेकी घर्तीले पछिल्लो समयमा एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति र कुकर्मको आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताईन् ।

उनले ओलीले राष्ट्रियताको एजेण्डा कुनैपनि नबोकेको दाबी गरिन् । उनले ओली प्रधानमन्त्री  हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटार छिराएको आरोप पनि लगाईन्। उनले ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा बालुवाटार बोलाएर विभिन्न सहमति गरेको आरोप लगाउँदै मध्यरातमा सामन्त गोयललाई बोलाएर गरिएको सहमति के हो भन्दै प्रश्नसमेत गरिन् ।

उनले प्रधानमन्त्री रहँदा ओलीले पाठ्यक्रममा चुच्चे नक्शा छाप्न नदिएको आरोपसमेत लगाईन्। उनले देशको पक्षमा र राष्ट्रको हीत विपरित काम गर्ने ओली कसरी देशभक्त ? भन्दै प्रश्नसमेत गरिन् । काठमाडौं- २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी उनले एमाले अध्यक्ष ओलीले जनतामाझ बहुमत माग्नुको कारण नरहेको जिकिरसमेत गरिन् ।

उनले भनिन्, ‘यहाँ म सुन्दैछु, केपी शर्मा ओलीले आज जनतासमक्ष गएर बहुमत माग्दै हुनुहुन्छ रे ? केका लागि बहुमत, हुँदाखाँदाको कम्युनिष्ट पार्टीलाई फेरि फोर्नको लागि बहुमत ? वा दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसदलाई दुई पटक विघटन गरेर मृत्यु शैय्यामा पुर्‍याउनको लागि बहुमत ? वा उनले गरेको यो बीचको तानाशाही प्रवृत्ति र यो बीचको कुकर्मको लागि बहुमत ? केका लागि भोट केपी ओलीलाई ? मैले आज उहाँलाई भोट दिनुपर्ने कारण देखेको छैन । उहाँले इतिहासमा ठूलो भुल गर्नुभएको छ ।’

‘जनताले ५ वर्षका लागि कम्युनिष्टलाई चलाउन दिएको देशको जनादेशलाई कुल्चिएर उहाँले जे अपराध गर्नुपर्छ, उहाँलाई भोट होइन,नेपाली जनताले दण्ड दिनुपर्छ । उहाँले हामीलाई राष्ट्रियताको सवालमा पनि भन्ने गर्नुहुन्छ रे गठबन्धनले राष्ट्रियताको एजेण्डा बोकेन । उहाँले कसरी बोक्नुभयो त ? मध्यरातमा नेपालको हेड क्वार्टर प्रधानमन्त्री निवासमा १२ बजे सामन्त गोयललाई छिराउने को हो ? त्यहाँ भएको सहमति के थियो ? के के कुरा गरियो ? अनि हामीले एउटा चुच्चे नक्शा पारित गरेका थियौँ । हामीले चुच्चे नक्शा पाठ्यक्रममा छापौँ भन्दा छाप्नै नमान्ने को हो ? त्यसोभए ओली देशभक्त हो ?, उनले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved