रामरिझन ‘सर’को चुनाव लड्ने आफ्नै पारा : किताब बेचेर चुनाव खर्च, गोष्ठी गरेर विकासे योजना प्रस्तुत

यादव आफैँ तत्कालीन मधेसी जनाधिकार फोरमका संस्थापक केन्द्रीय सदस्य हुन् । त्यो बेला उपेन्द्र यादवको भन्दा रामरिझन सरको चर्चा र सार्वजनिक परिचयको दायरा फराकिलो थियो । तर, मधेस आन्दोलनपछि उपेन्द्र शक्तिशाली नेताका रूपमा उदाए । त्यसपछिको उनीहरूको राजनीतिक सम्बन्ध खासै राम्रो रहेन ।

नेपालभ्युज

रामरिझन ‘सर’को चुनाव लड्ने आफ्नै पारा : किताब बेचेर चुनाव खर्च, गोष्ठी गरेर विकासे योजना प्रस्तुत

सिरहा । सिरहा सन्हैठाका रामरिझन यादव पढाइले वनस्पतिशास्त्री र पेशाले प्राध्यापक हुन। उनले पढाएका विद्यार्थीले मात्रै हैन, गाउँघरमा धेरैले उनलाई ‘रामरिझन सर’ भन्छन्। उनी देशकै बुद्धिजीवि लेखक तथा स्तम्भकार पनि हुन् ।
२०५६ सालसम्म उनी महेन्द्र मोरंग क्याम्पस विराटनगरमा वनस्पतिशास्त्रका प्राध्यापक थिए । पेन्सन हुन दुई वर्ष मात्रै बाँकी हुँदा सेवा अवधिको १८औं वर्षमा उनले जागिरबाट राजीनामा गरे ।

त्यसको कारण थियो– स्वतन्त्र बौद्धिक कर्म र दलीय राजनीतिप्रतिको मोह । क्याम्पसको प्राध्यापक हुँदादेखि नै उनी शौखले पत्रकारिता गर्थे । राष्ट्रिय पत्रिकाको विराटनगर संवाददाता बन्थे । उनको राजनीतिक जीवनको सुरुवात भने नेकपा ( चौम) को सदस्यताबाट भएको थियो।

उनी लामो समय आफ्नो मातृपार्टी धारकै कम्युनिस्ट समूहमा टिके । त्यही धारका राजनीतिक समूहको एकता र विभाजन हुँदै गुज्रिए । नेकपा ( एकताकेन्द्र ) माओवादीसँग एकीकृत भएपछि माओवादी भए । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी प्रधानमन्त्रीको प्रेस सल्लाहकार थिए । डा. भट्टराईले माओवादी परित्याग नयाँ शक्ति पार्टी गठन गर्दा उनले पनि साथ दिए।

नयाँ शक्ति पार्टीको भविष्य राम्रो नदेखिएपछि डा.भट्टराईसँग आएका पूर्व माओवादीहरू देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र यादव, खिमलाल देवकोटा लगायत माओवादीमै फर्किए । तर, यादवले डा. भट्टराईलाई नै साथ दिइरहे ।

नयाँ शक्ति पार्टी तत्कालिन संघीय समाजवादी पार्टीसँग मिलेर समाजवादी पार्टी हुँदै जजनता समाजवादी बनेको रामरिझन सरलाई खासै जाँचेको थिएन । त्यो एकता धेरै दिन टिक्दैन भन्ने उनको त्यो बेलाकै ठहर थियो । नभन्दै उनको अड्कल सही सावित भयो । त्यो पार्टी अहिले जसपा, लोसपा र नेसपा गरी ३ टुक्रा भएको छ। उनी भन्छन्–‘जतिखेरसम्म नयाँ शक्ति थियो, पार्टी सानो थियो तर त्यतिखेरसम्म मेरो राजनीतिक र नैतिक मूल्य सहीसलामत थियो, सपा–जसपा–लोसपा–नेसपा बन्ने प्रक्रियाले सबै चिज भताभुंग बनाइदियो ।’

राजनीतिकरूपमा उनी अहिले कुनै पार्टीमा छैनन् । सिरहा निर्वाचन क्षेत्र–२ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । रामरिझन सर कहिले गाउँमा विभिन्न जनसरोकारका मुद्दामा स्थानीय आन्दोलन उठाउँदै हुन्छन् त कहिले राष्ट्रिय मुद्दामा दृढ पैरवी ।

त्यसो त, यादव आफैँ तत्कालीन मधेसी जनाधिकार फोरमका संस्थापक केन्द्रीय सदस्य हुन् । त्यो बेला उपेन्द्र यादवको भन्दा रामरिझन सरको चर्चा र सार्वजनिक परिचयको दायरा फराकिलो थियो । तर, मधेस आन्दोलनपछि उपेन्द्र शक्तिशाली नेताका रूपमा उदाए । त्यसपछिको उनीहरूको राजनीतिक सम्बन्ध खासै राम्रो रहेन ।

राजनीतिकरूपमा उनी अहिले कुनै पार्टीमा छैनन् । सिरहा निर्वाचन क्षेत्र–२ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । रामरिझन सर कहिले गाउँमा विभिन्न जनसरोकारका मुद्दामा स्थानीय आन्दोलन उठाउँदै हुन्छन् त कहिले राष्ट्रिय मुद्दामा दृढ पैरवी । केही वर्षअघि मात्रै उनले हुलाकी राजमार्गको जनकपुर–राजविराज खण्डको दुर्दशालाई लिएर स्थानीय आन्दोलन उठाएका थिए । ठीक त्यतिखेर पप्पु कन्स्ट्रसनले बनाएको कमला पुल भाँचिएको थियो । पप्पु कन्स्ट्रसनका मालिक उनकै पार्टीका नेता तथा सांसद थिए– हरिनारायण रौनियार । रामरिझन सर त्यतिखेर जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए ।

उनको व्यक्तित्वमा प्राध्यापक, लेखक, पत्रकार, बुद्धिजीवि, राजनीतिक कार्यकर्ता र सामाजिक अभियन्ताजस्ता पक्षहरू समायोजित छन् । भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा उनी विभिन्न तरिकाले आवाज उठाइ रहन्छन् । यसपटक उनी नयाँ तरिकाले चुनाव लड्दैछन्। ‘एक किताब एक भोट’ को नारा दिएका छन् ।

उनको पछिल्लो किताबको नाम हो– ‘माखेसाङ्गलो : तराई–मधेसको इतिवृत्ति । यही किताब बेचेर निर्वाचन खर्च जोहो गर्ने उनको सोच छ । यो उनको १०औं कृति हो । २०४८ मा ‘वातावरणीय समस्या र समाधान’ बाट उनको किताब प्रकाशनको क्रम सुरुवात भएको थियो ।

मधेस आन्दोलनको सेरोफोरोमा ‘ब्लाकआउट’ लेखेका यादवले ‘विवाह’ नामको प्रेम, विवाह र पारिवारिक सम्बन्धका विभिन्न पाटा पक्ष केलाउने किताब सम्पादनसमेत गरेका छन्। यो किताब उनले छोरीको विवाहको सन्दर्भ पारेर सम्पादन, प्रकासन र विमोचन गरेका थिए ।

यादव भन्छन्–‘लोकतन्त्रको मायाले उम्मेदवार हुन प्रेरित गर्‍यो । हाम्रो लोकतन्त्रले राम्रो काम गरिरहेको छैन । हारजित भन्दा पनि यतिखेर नेताहरूले स्थापित गर्न चाहेको गलत परम्परा र संस्कृतिलाई चुनौती दिनु मुख्य कुरा हो ।’

किताबको साधारण बिक्रीमूल्य दुई सय छ भने थप चुनावी सहयोग गर्न चाहनेले पाँच सयमा किताब किन्नपर्ने छ । त्यसबाहेक उनले कहिँ कतै कसैबाट चुनावका लागि आर्थिक सहयोग र चन्दा नलिने घोषणा गरेका छन् । चुनाव खर्चका लागि किताब बेच्दै हिँड्ने रामरिझन सरले जिल्लामा विकाससम्बन्धी आफ्ना प्रस्तावना र धारणा व्यक्त गर्न भने विचार गोष्ठी गर्ने गरेका छन् ।

उनले निर्वाचन क्षेत्रका पाँचवटै पालिकामा ‘देशको समसामयिक राजनीति र सिरहा जिल्लाको समस्या’ विषयमा विचार गोष्ठी गरिसके । सिराहा निर्वाचन क्षेत्र–२ मा धनगढीमाई र सुखीपुर २ नगरपालिका, नवराजपुर, बरियारपट्टी, र औरही ३ गाउँपालिका छन।

कात्तिक १६ गते धनगढीमाईको जरोमाइल चोकमा उनको अन्तिम विचारगोष्ठी थियो । यादव भन्छन्–‘लोकतन्त्रको मायाले उम्मेदवार हुन प्रेरित गर्‍यो । हाम्रो लोकतन्त्रले राम्रो काम गरिरहेको छैन । हारजित भन्दा पनि यतिखेर नेताहरूले स्थापित गर्न चाहेको गलत परम्परा र संस्कृतिलाई चुनौती दिनु मुख्य कुरा हो ।’

रामरिझन सरको उम्मेदवारी, चुनाव प्रचार र व्यवस्थापनको शैलीले राम्रै चर्चा र प्रशंसा कमाएको छ । भोट कति पाउँछन् त्यसका लागि भने परिणाम नै पर्खिनुपर्ने हुन्छ ।


Comment

One thought on “रामरिझन ‘सर’को चुनाव लड्ने आफ्नै पारा : किताब बेचेर चुनाव खर्च, गोष्ठी गरेर विकासे योजना प्रस्तुत

  1. जनताले बुझ्ने बेला आएको छ। अब पनि बुझेनन् भने पछुताउनु भन्दा अर्को विकल्प छैन। ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved