सुकुम्वासीको समस्यालाई भोटमेसिनका रूपमा मात्रै प्रयोग गरियो : लिङ्देन

कांग्रेस र माओवादी कसैले पनि एक्ला एक्लै बहुमत ल्याउने गरी उम्मेदवारी नै नदिएको बताउँदै लिङ्देनले गठबन्धनबाट बहुमतको सरकार बने फेरि जनताले दुःख पाउने बताए।

नेपालभ्युज

सुकुम्वासीको समस्यालाई भोटमेसिनका रूपमा मात्रै प्रयोग गरियो : लिङ्देन

परासी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशका ठूला राजनीतिक दलले सुकुम्वासी र नागरिकता समस्यालाई सधैं भोटमेसिनका रूपमा मात्रै प्रयोग गरेको बताएका छन्।

नवलपरासी निर्वाचन क्षेत्र नं २ को चुनावी सभालाई शनिबार सुनवलमा सम्बोधन गर्न पुगेका अध्यक्ष लिङ्देनले राज्य सत्तामा बस्दा समस्या समाधानमा नलाग्ने तर चुनावको बेला सुकुम्वासी र नागरिकता समस्या देखाई जनतालाई झुक्काएर भोट माग्ने गरेको आरोप लगाए।

‘हजुरबुवाले जोतभोग गरेको जग्गा नातीको पालासम्म आइपुग्दा पनि धनीपुर्जा पाउन सकेका छैनन्। बाबुले नागरिकता पाएका छन्। छोराले पाउन सकेको छैन। यो पनि न्याय हुन्छ? सधैं झुक्काउने राजनीतिक दलका नेतालाई चिनेर मात्र भोट दिनुस्।’ ठूला दलकै कारण मुलुकको राष्ट्रियता र अर्थतन्त्र बर्बाद भएको बताउँदै अध्यक्ष लिङ्देनले बर्बादीको बाटो रोक्ने उपाय मतदान भएकाले एक पटक ‘हात र भोट’ परिवर्तन गर्न मतदातालाई आग्रह गरे।

कांग्रेस र माओवादी कसैले पनि एक्ला एक्लै बहुमत ल्याउने गरी उम्मेदवारी नै नदिएको बताउँदै लिङ्देनले गठबन्धनबाट बहुमतको सरकार बने फेरि जनताले दुःख पाउने बताए।

मंसिर ४ को चुनाव देशको भविष्य मात्र नभई आउने सन्ततिको भविष्य निर्माणसँग पनि जोडिएकाले गम्भीर रूपमा सोचेर मतदान गर्न लिङ्देनले मतदातासँग आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved