कसैले पनि भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस् : गायक अमृत गुरुङ

कसैले पनि भोकै सुत्न नपरोस्, नाङ्गै हिँड्न नपरोस् : गायक अमृत गुरुङ

काठमाडौं । नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले कोही पनि मान्छे भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताएका छन् ।

मानवीय सेवामा समर्पित मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आगामी मङ्सिर १६ गतेदेखि मुलुकका प्रमुख १० सहरमा सुरु गर्न लागेको महिनाव्यापी साङ्गीतिक यात्रा (नेपथ्य लाइभ कन्सर्ट)को पूर्वसन्ध्यामा बिहिबार आश्रमको काठमाडौँ शाखा रानीवनमा आयोजित एक समारोहमा वरिष्ठ गायक गुरुङले मानवीय सेवाका लागि आफू सम्पर्कसेतु भएर काम गर्न तयार रहेको बताए।

‘हामी एउटै अनुरोध गर्न सकौँ कि कुनै पनि मान्छे भोकै सुत्न नपरोस्, कुनै पनि मान्छे नाङ्गै हिँड्न नपरोस्’, उनले भने । मानवसेवा आश्रममा संरक्षित बेसहाराहरूको भोजन सेवामा सरिक हुँदै उनले आफू त्यसका लागि निमित्त वा सेतु भएको तर आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने जिकिर गरे ।

‘काठमाडौँ उपत्यकामा ३५–४० लाख मान्छे बस्छन् होला तर ३५ जना मान्छे यो किसिमको भावना र सेवाका निम्ति आउन गाह्रो पर्ने ठाउँ हो, आश्रमले जुन तरिकाले काम गरिरहेको छ यहाँहरूलाई नमन छ, यहाँहरूको उद्देश्यलाई हामी होस्टेमा हैँसे गर्दै जाने प्रयास गर्नेछौँ’, गायक गुरुङले थपे ।

उनले आश्रमले देखाएको बाटोमा आफूहरू हिँड्न कोसिस गर्ने प्रतिबद्धता जनाए । मानवीय कार्य अघि बढाएकामा आश्रमलाई धन्यवाद दिँदै गायक गुरुङले आश्रित बेसहारातर्फ फर्किएर भने, ‘छिट्टै हामी मिलेर साङ्गीतिक कार्यक्रम गर्दैछौँ, हामीहरूलाई आशीर्वादको धेरै आवश्यकता छ, हामीलाई आशिष दिनुहोस्, तपाईँहरूका निम्ति हामी अरु धेरै काम गर्न सकौँ ।’

उक्त समारोहमा मङ्सिर १६ गतेदेखि पुस १६ गतेसम्म मुलुकका १० सहरमा हुने कन्सर्टको संयोजन गर्ने नेपालयका कार्यक्रम संयोजक अर्पण शर्माले मानवसेवा आश्रमको अभियानमा आफ्नो साथ सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

आश्रमका प्रमुख संरक्षक संस्कृतिविद् डा गोविन्द टण्डनले साङ्गीतिक माध्यमबाट विभिन्न सामाजिक अभियानमा लागेका वरिष्ठ गायक गृरुङले मानवसेवा आश्रममै आएर सेवालाई प्रत्यक्ष अवलोकन गरी सेवाको अनुभूत गरेकामा खुसी व्यक्त गरे ।

‘अरुले भनेका भरमा केही कुराको अनुमान गर्न सकिन्न, आफ्नै आँखाले देखेमात्रै त्यो अनुभव लिन सकिन्छ, आज उहाँले त्यही गर्नुभएको छ, अब मानवसेवाको यात्राले अझै उचाइ लिनेछ’, डा टण्डनले भने ।

मानवसेवा आश्रमले मानवताका लागि अभियान चलाउँदै आएको र यो साङ्गीतिक कार्यक्रमले मानवता प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

उनले राज्यले गर्नुपर्ने काम आफ्नो कर्तव्य सम्झिएर आश्रमले बेसहाराहरूलाई उद्धार गरी संरक्षण गर्दै आएको जानकारी गराउँदै कोही पनि मानिस सडकमा आश्रित हुन नपरोस् भनेर अभियान अघि बढाउँदै आएको जानकारी दिए । डा टण्डनले उक्त सुकर्ममा सबैको साथ रहोस् भनी कामना गरे । उक्त पवित्र कार्यमा जुन किसिमले सहयोग गर्न सकिन्छ, त्यो किसिमको सहयोग गर्न पनि उनले अनुरोध गरे ।

मानवसेवा आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न र आश्रमको सेवालाई चुस्त बनाउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषका लागि आश्रमले नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो ।

उक्त नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेदेखि सुरु भई काठमाडौँमा पुस १६ गते समापन हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

यस्तै पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर–२ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रूपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पुस १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved