उम्मेदवारलाई नवलपुरका बासिन्दाको प्रश्न : सडक बिग्रिएको देख्नुभएन?

यी दुवै जना सांसद फेरि दोहोरिने प्रयासमा छन्। दुवै जना नेताले आ-आफ्नो पार्टीबाट टिकट पाएका छन्। तर, यो पटक भने उनीहरूले यो सडक नबन्नुको कारण र प्रतिबद्धता जनतालाई बुझाउनुपर्ने छ। आफूले पाँच वर्षमा गरेका काम र यो सडक छिटो सम्पन्न गराउन गर्ने पहलको प्रतिबद्धता जनतालाई बुझाउनुपर्ने छ।

उम्मेदवारलाई नवलपुरका बासिन्दाको प्रश्न : सडक बिग्रिएको देख्नुभएन?

कावासोती। देश निर्वाचनमय भइरहेका बेला पूर्वी नवलपरासीका बासिन्दा भने बुटवल-नारायणगढ राजमार्ग निर्माण सम्पन्न गर्न दबाब दिइरहेका छन्।

बुटवल–नारायणगढ सडकखण्डको ११४ किलोमिटर विस्तारको काम भइरहेको छ। तर, निर्माण कम्पनीले सम्झौताअनुसार काम अघि नबढाउँदा सडकको अवस्था दयनीय  छ। पूर्वी नवलपरासी र चितवन बढी आवतजावत हुने बजार हुन्।

दैनिक कामका लागि समेत यताउता गर्ने सर्वसाधारणले सडमा यात्रा गर्दा सास्ती खेपिरहेका छन्। सडकका ठाउँठाउँमा खाल्डाखुल्डी छन्। कावासोतीदेखि नारायणगढसम्मको ३२ किलोमिटर सडकखण्ड पार गर्न नै सवारीसाधनलाई २ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।

सडकमा ठूलाठूला खाल्डा छन् भने पिच पनि उप्किएको छ। जसका कारण सडकमा यात्रा गर्न असहज छ। पानी पर्दा खाल्डो र घाम लाग्दा धूलोले गर्दा सवारी चलाउन अफ्ट्यो हुने गरेको सवारी चालक केयर उप्रेतीको भनाइ छ। उनले भने ‘पानि पर्दा हिलै हिलो हुन्छ घाम लाग्दा धूलोको भुमरीले गर्दा गाडी चलाउनै मुस्किल छ। पानि पर्दाको बेला झनै जाँदाखेरी एकातिर भएको खाल्डो फर्कदा अर्कोतिर पनि बनेको हुन्छ।’

मोटरसाइकल चलाउनेको गुनासाे पनि उस्तै छ। कावासोती-५ का राजु चापागाईं भन्छन्- ‘म त के भन्छु भने कृपया प्रधानमन्त्रीज्यू डडेल्धुरा जाँदा गाडीमै यही बाटो जानुहोला, अनि थाहा पाउनुहुनेछ, के कुरा गर्नु मोटरसाइकल लिएर नारायणगढ त परै जाओस् दल्दलेसम्म पुग्दा नै ज्यान थाकेर आउँछ, बाटोमा खाल्डो भन्दा पनि यहाँ त खाल्डोमा बाटोमा जस्तो छ।’

यता नवलपुरका स्थानीय भने आफ्ना नेताले समस्या समाधानमा पहल नगरेको गुनासो गर्छन्। सडक बनाउन समय लागे पनि खाल्डो पुर्ने मात्रै गरे पनि दुर्घटनाको जोखिम कम हुने उनीहरूको बुझाइ छ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा क्षेत्रनम्बर एकबाट कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला सांसद बनेका थिए भने क्षेत्र नम्बर २ मा एमालेका तिलकबहादुर महत सांसद थिए। सडकको अवस्था सुधारमा सांसदहरूले वेवास्ता गरेको स्थानीयको गुनासो छ ।

दलदलेका एक युवा भन्छन् ‘सडक बनाउन समय लाग्छ ठीक छ तर यत्रो राजमार्गको हालत यस्तो छ भैंसी डुबाउने खाल्टो देख्दा देख्दै पनि सांसदहरू चुइक्क नबोल्न मिल्छ ? सरकार बनाउन कुर्लिने सांसदहरू आफ्नो क्षेत्रको समस्यामा बोल्नुपर्दैन ? ’

यी दुवै जना सांसद फेरि दोहोरिने प्रयासमा छन्। दुवै जना नेताले आ-आफ्नो पार्टीबाट टिकट पाएका छन्। तर, यो पटक भने उनीहरूले यो सडक नबन्नुको कारण र प्रतिबद्धता जनतालाई बुझाउनुपर्ने छ। आफूले पाँच वर्षमा गरेका काम र यो सडक छिटो सम्पन्न गराउन गर्ने पहलको प्रतिबद्धता जनतालाई बुझाउनुपर्ने छ।

नवलपुरका वासिन्दाले भोट माग्न आउने सबै उम्मेदवारसँग सडक सम्पन्न गर्ने प्रतिबद्धता खोज्दै छन्। कावासोतीमा पत्रकारिता गरिरहेकी मीना कँडेल भन्छिन् ‘कावासोतीदेखि नारायणगढसम्म हिजोका दिनमा एक घण्टा लाग्थ्यो तर अहिले सडकका कारण तीन घण्टासम्म लाग्ने गरेको छ। सबै स्थानीय आक्रोशित छन्।’

सडक निर्माण समयमै सम्पन्न नहुनुमा स्थानीयले राजनीतिक दलहरूलाई नै दोषी देखिरहेका छन्। यात्रु मात्र होइन अझ बढी पीडित राजमार्ग छेउछाउमा बस्ने बासिन्दा छन्। सबै पीडितहरूले यो बाटो सम्पन्न गर्ने प्रतिबद्धता उम्मेदवारहरूबाट खोजिरहेका छन। कँडेलले बुटवलसम्मकै सडक जीर्ण बनेको बताइन्।

उनले भनिन्, ‘हुन त यो सडकको अवस्था बुटवल सम्म नै यस्तै हो, तर नवलपुरका स्थानीय बढी आक्रोशित छन्’ कावासोतीदेखि नारायणगढ दैनिक आउजाउ गर्नेहरू धेरै भएको र कार्यालय, स्कुल कलेज, पनि यताउता गर्नुपर्नेहरू बढी आक्रोशित छन्।’  कावासोती-२ की पार्वती सिग्देल पनि बलियो सरकार नहुँदा सर्वसाधारणले सास्थी खेप्नुपरेको बताउँछिन्।

उनी भन्छिन्- ‘हामी यत्रो कष्टकर यात्र गरिरहनुपरेको छ, यात्रु मात्र होइन राजमार्ग छेउछाउको हालत बिजोग छ, तर हाम्रा सांसदहरू केही बोल्दैनन्। सांसद बोल्दैनन् ठेकेदार टेर्दैनन् अनि सास्ती सर्वसाधारणलाई। चुनाव आएको छ लिखित प्रतिबद्धतासहित कार्यान्वयनको आधार लिएर आए मात्र भोट पाउँछन् यो बाटो सबैभन्दा छिटो बन्नुपर्‍यो, सुविधा सम्पन्न अस्पताल नारायणगढमा छ, केही लिन पर्‍यो नारायणगढ नै जानुपर्छ तर बाटोले गर्दा राम्रै मान्छे पनि बिरामी पर्ने भइयो। बिरामी लिँदा त झन बाटैमा केही हुने हो कि भन्ने डर हुन्छ।’

यता नेपाली कांग्रेस नवलपुरका नेता श्रीधर शर्मा पनि मत माग्न आउने उम्मेदवारलाई सडक कहिले बन्छ? भनेर सोध्नुपर्ने बताउँछन्। पूर्वपश्चिम कै लाइफलाइन बनेको सडक अस्तव्यस्त बन्दा दुर्घटनाको जोखिम बढेको छ भने यात्रा कष्टकर बनेको छ।

सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ सालको साउन २२ गतेसम्ममा सडक निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो, तर हालसम्म १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved