सोलुखुम्बु : सातौँ पटक बल गर्दै बलबहादुर, मानवीरलाई जनताले मान्लान् ?

हुन त केसीले २०७४ सालको निर्वाचनपछि आफूले कहिल्यै चुनाव नलड्ने घोषणा गरेका थिए। तर, नेताको बोलीको के विश्वास, उनले यसपटक पनि ‘अन्तिम पटक लड्छु’ भन्दै टिकट छाडेनन्।

सोलुखुम्बु :  सातौँ पटक बल गर्दै बलबहादुर, मानवीरलाई जनताले मान्लान् ?

सोलुखुम्बु। पूर्वमन्त्री बलबहादुर केसी सोलुखुम्बुबाट अन्तिम पटक प्रतिनिधि सभा चुनाव लड्दैछन्। केसीले यसअघि पनि यहीँबाट ६ पटक प्रतिनिधि सभाको चुनाव लडिसकेका छन्। यसपछि उनी ३ पटक त मन्त्री नै बने। उनको यो निर्वाचन सातौँ पटक हो।

हुन त उनले २०७४ सालको निर्वाचनपछि आफूले कहिल्यै चुनाव नलड्ने घोषणा गरेका थिए। तर नेताको बोलीको के विश्वास, यसपटक पनि उनले ‘अन्तिम पटक लड्छु’ भन्दै टिकट छाडेनन्।

यसपछि केन्द्रीय ‘लबिङ’ मै उनलाई टिकट दिलाइयो। कांग्रेसको संस्थापन इतरमा रहेका केसी ०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता हेमकुमार राई ‘सुरवीर’सँग पराजित भएका थिए।

एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको सोलुखुम्बु सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको थियो। तर, अन्तिममा कांग्रेसले लियो। माओवादी केन्द्रले भने दुई वटै प्रदेश सभा लिएको छ।

रोचक पक्ष के छ आसन्न निर्वाचनमा कांग्रेस–माओवादी केन्द्र एकै ठाउँ छन्। कांग्रेसका उनै केसी ०६४ र ०७४ सालको चुनावमा क्रमशः माओवादी केन्द्रका नेताद्वय गोपाल किराती र हेमकुमार राई ‘सुरवीर’ सँग पराजित भएका थिए। यसपटक गठबन्धन बनेपछि माओवादी केन्द्र उनै केसीलाई जिताउन लागेको छ।

गठबन्धनका साझा उम्मेदवार केसीसँग नेकपा (एमाले) का केन्द्रीय सदस्य मानवीर राई लड्दैछन्। केसीले सातौँ पटक चुनाव लड्दा राई भने पहिलो पटक प्रतिनिधि सभाको मैदानमा आएका हुन्। केसी राईलाई आफ्नो प्रतिस्पर्धीको रूपमै नहेरेको बताउँछन्। उनी सोध्छन्, ‘सोलुखुम्बुमा एमालेले जित्छ भन्दा कसले पत्याउँछ ?’

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनले नै सबै कुरा बताउने उल्लेख गर्दै केसी थप्छन्, ‘सोलुखुम्बुमा एमालेले जित्दैन। हामीले जितिसक्यौँ, आधिकारिक घोषणा हुन मात्रै बाँकी हो।’

केसीसँग प्रतिस्पर्धामा उत्रिएका राई पनि आफूले नहार्ने दाबी गर्छन्। उनले नेपालभ्यूजसँग भने, ‘हार्नका लागि म चुनावमा उठेको होइन, चुनाव जित्ने हो। यसपटकको चुनावी नतिजा मेरै पक्षमा आउँछ। जनताले पनि राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। तपाईँजस्तो निष्कलङ्क नेताले जित्नुपर्छ भनेर भनिरहनुभएको छ।’

जित्छु भन्ने गठबन्धनको ‘हुँकार’ मात्रै रहेको राईको भनाई छ। उनी भन्छन्— ‘मेरो सामुन्ने बलबहादुरजी हुनुहुन्छ, उहाँले आफ्नो जिल्लामा पार्टी मिलाएर त अगाडि बढ्न सक्नुभएको छैन भने जिल्लाको विकास, समृद्धि र सुशासनसँगै नेतृत्व कसरी गर्नुहुन्छ ? गठबन्धनका साथीहरूले हामी जित्छौँ भनेर भनेको सुन्छु म पनि, तर चुनाव हामी जित्छौँ। पहिले आफ्नो दल मिलाउन सक्नुपर्छ अनि मात्रै जिल्लाको राजनीतिक नेतृत्व दिन सकिन्छ। मैले मेरो पार्टीलाई मिलाएर लगिरहेको छु। बलबहादुरजीले त आफ्नै पार्टी मिलाउन सक्नुभएको छैन।’

 

गठबन्धन जित्नेमा ढुक्क, एमालेलाई ‘जातीय’ मतको आशा !

तीन दल; कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सम्बद्ध गठबन्धन चुनाव जित्नेमा ढुक्क छ। सोलुखुम्बु प्रदेश सभा ‘क’ का उम्मेदवारसमेत रहेका माओवादी केन्द्रका नेता गोम्बु शेर्पा कर्ज्याङ भन्छन्, ‘चुनाव त हामीले जितिसक्यौँ। यसमा कुनै दुविधा छैन।’

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनले नै गठबन्धन जितबारे बताइसकेको उल्लेख गर्दै नेता शेर्पाले भने, ‘यसपटक प्रदेश र संघको दुवै चुनाव गठबन्धनका उम्मेदवारहरूले जित्नेछन्। यसमा ढुक्क हुँदा हुन्छ।’

एमालेलाई ‘जातीय’ मतको आशा छ। यहाँ  राई जातिको बाहुल्यता छ। आफ्नो उम्मेदवार पनि राई नै रहेकाले एमालेलाई जातीय मतदाताको भोट आउने अपेक्षा छ।

नेकपा (एमाले), सोलुखुम्बुको निर्वाचन परिचालन समिति सदस्य भूपालसिंह राई भन्छन्, ‘हामीले जातीयरूपमा कुनै अभियान वा नारा–जुलुस ल्याएका छैनौँ, चलाएका छैनौँ। तर हामीले जातीय मतको अपेक्षा गर्नु पनि गलत हुँदैन।’

तर, यसपटक ’जातीय’ मत नखस्ने र खसेपनि त्यसले निर्णायक भूमिका नखेल्ने गठबन्धनका नेता बताउँछन्। ‘सम्भवतः यसपटक जातीय मत खस्दैन, त्यसैगरी नै हामी चलिरहेका छौँ। यदि केही मात्रामा खस्यो भने पनि त्यसले जिताउने नै हैसियत राख्दैन, एमालेका उम्मेदवार जित्ने आँकडामा जातीय मत खस्दैन,’ गठबन्धनका नेता बताउँछन्।

निर्वाचन परिचालन समिति सदस्य राई भने एमालेले जित्ने प्रशस्त आधार रहेको बताउँछन्। ‘मानवीर दाइ आफैँ एक प्रतिष्ठित नेता हुनुहुन्छ। उहाँजस्तो निश्कलंक व्यक्ति उम्मेदवार हुँदा हार्ने कुरै भएन। धेरै आधारहरू छन्, जसले हाम्रो पक्षमा चुनावी परिणाम आउँछ।’

 

यस्तो छ चुनावी अंकगणित

स्थानीय तह सदस्य निर्वाचनलाई आधार मान्ने हो भने यहाँ गठबन्धनले सोझै चुनाव जित्न सक्छ। स्थानीय तहमा अध्यक्ष पदमा प्राप्त मतअनुसार कांग्रेससँग २० हजार ५ सय भन्दा बढी मत छ। दोस्रो एमालेसँग १७ हजार ४ मत छ भने माओवादी केन्द्रसँग १० हजार ५ सय ५६ मत छ। यसमा माओवादी केन्द्रको माप्य दुधकोसीको मत जोडिएको छैन। त्यहाँ कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो।

जसअनुसार स्थानीय तहमा प्राप्त परिणामअनुसार कांग्रेस–माओवादी केन्द्रको मत ३१ हजार २ सय ८ छ। यसमा एकीकृत समाजवादीको मत पनि थपिनेछ, त्यसरी हेर्दा गठबन्धनसँग ३५ हजारभन्दा बढी मत हुने गठबन्धनका नेताहरू बताउँछन्। गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार केसीको दाबी छ— ’हामीसँग ३६ हजार मत छ। अनि हामीले हार्छौँ होला त ? हामीले चुनाव जितिसकेका छौँ।’

सोलुखुम्बुमा १ नगरपालिकासहित ८ वटा स्थानीय तह छन्। स्थानीय तह चुनावमा नेपाली कांग्रेसले ५ वटा पालिका जितेको छ। एमालेले २ वटा जित्दा २०७४ सालमा ३ वटामा जितेको माओवादी केन्द्र यो निर्वाचतमा १ वटामा सीमित भएको छ।

अब स्थानीय चुनावकै जस्तो मत आगामी चुनावमा पनि आउँछ या उलटफेर हुन्छ  ? त्यसका लागि त पर्खनैपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved