सभामुखको विश्वास- आगामी अधिवेशन अवरोध बिना अगाडि बढ्ने आधार तयार भएको छ

नेपालभ्युज

सभामुखको विश्वास- आगामी अधिवेशन अवरोध बिना अगाडि बढ्ने आधार तयार भएको छ

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार विभिन्न पार्टीका नेताहरूसँगको छलफलले आगामी अधिवेशन अवरोध बिना नै अगाडि बढ्ने आधार तयार भएको बताएका छन्।

‘आजको बसाइ, आजको छलफलले २८ गतेबाट सुरु हुने अबको अधिवेशन रोकटोक बिना अगाडि लैजानका लागि एउटा महत्त्वपूर्ण आधार प्रदान गरेको छ। अब त्यसरी जान्छ भन्ने कुरामा शंका गर्नुपर्ने मैले देखेको छैन’, उनले भने।

घिमिरेले मंगलबारको छलफललाई निरन्तर प्रक्रिया भएको बताए। भने, ‘समस्याहरू आइरहन्छन्। समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ। समस्याको समाधान कतिपय राजनीतिक दलहरूका बीचबाट हुँदै जान्छ। कतिपय संसद्‌बाट पनि जान्छ।’

सभामुखको छलफलमा कांग्रेस र अन्य दल टसमस भएका छैनन्। कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेको छ। सत्ता पक्षले भने त्यसलाई अस्वीकार गरेको छ। त्यसैले २८ गतेदेखि आह्वान गरिएको संसद्को अधिवेशन सहजै सञ्चालन नहुने आशंका गर्न थालिएको छ।

सभामुख घिमिरेले सदनको सञ्चालन सबै दलहरुको दायित्व भएको बताए। ‘संसदीय प्रणालीका लागि लडेका ठूला राजनीतिक दलहरूले संसद्लाई समस्या समाधानको थलो बनाउने कि अवरोध गर्ने थलो बनाउने? मलाई लाग्छ, उहाँहरू समस्या समाधानको थलो बनाउन विकास गर्ने कुरामा लाग्नुहुन्छ’, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved