मिथिला क्षेत्रमा कोजगरा (कोजाग्रत पूर्णिमा) मनाउने आफ्नै चलन

मिथिला क्षेत्रमा कोजगरा (कोजाग्रत पूर्णिमा) मनाउने आफ्नै चलन

जनकपुरधाम। आज कोजाग्रत पर्व मनाइँदै छ। कोजाग्रतमा विधिवतरूपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिँदै छ ।
महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि, मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने आफ्नै चलन छ ।
मिथिला क्षेत्रमा कोजाग्रतलाई ‘कोजगरा’ भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही र मिठाइलाई महत्वपूर्ण मानिन्छ । पूजापाठका साथै यसै वर्ष विवाह भएका नवजोडीका लागि पनि यो दिन विशेष रहने गर्दछ ।

मिथिला क्षेत्रमा मंसिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने चलन छ ।
भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुलासहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लैजानैपर्ने हुन्छ ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात् ‘चुमाओन’ गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले ‘दुर्वाक्षत’ (दूबो र अक्षता) सहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलालाई मिथिलाको पाग लगाइदिँदै ससुरालीबाट आउने कपडा पहि¥याउने गरिन्छ ।

बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक मिसिमको आर्शिवाद दिनु हो । चुमाओन विधि सकिएपछि सामूहिक रूपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ ।

खानपिनपछि कौडासहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाइबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरू पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ ।

यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ । छोरीको विवाह भएर बिदाइ गर्ने बेलामा दिइने कोसेलीझैं कोजगरा पर्वमा पनि कोसेलीहरू दिइने गरिन्छ । मिथिला संस्कृतिअनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पुर्‍याउनुपर्ने हुन्छ ।

शरद पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ । यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ । त्यसैले, यस पर्वलाई विष्णुभावको प्रतीकका रूपमा समाजले स्वीकार गरेको पाइन्छ । मैथिल संस्कृतिअनुसार यो पर्व पारिवारको समृद्धि र सौभाग्यका लागि मनाइने जनविश्वास छ । मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ ।

यस अवसरमा कुवेर र इन्द्रको पूजा पनि गरिने प्रचलन छ । मैथिल संस्कतिको एउटा प्रमुख अंग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने गर्छन् ।

जानकी मन्दिरमा उत्सव मनाइँदै

कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ । यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् ।

यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाइ दही च्युरा, पान मखानसहितका १ सय ८ वटा भार आउने परम्परा अझ कायम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved