विराटनगर एयरपोर्टको नारा- विकासका लागि भगवती दिदी

नेपालभ्युज

विराटनगर एयरपोर्टको नारा- विकासका लागि भगवती दिदी

सुनसरी। आइतबार एमाले नेतृ तथा पूर्वराज्यमन्त्री भगवती चौधरी सधैंझै सामान्य हिसाबले गृह जिल्ला सुनसरी जाँदै थिइन्। छोरा द्रव्यराजसँग बुद्ध एयरको ९ः५० को फ्लाइटमा विराटनगर विमानस्थल अवतरण गरेसँगै उनले सबैभन्दा पहिला सञ्चारकर्मीहरूको सामना गर्नुपर्‍यो।

काठमाडौंबाट एमाले नेतृ चौधरी जिल्ला आउँदै छिन् भन्ने जानकारी पाएर मोरङका सञ्चारकर्मीहरू विमानस्थलमा पुगेका थिए।

साथै, विमानस्थलमा एमालेका कार्यकर्ताहरू समेत फुलमालासहित लामबद्ध थिए। चौधरी विमानबाट बाहिरिँदै गर्दा कार्यकर्ताहरूले ‘‘भगवती दिदी जिन्दाबाद, सुनसरीलाई विकासको राजधानी बनाऊँ, मंसिर ४ मा भगवतीलाई जिताऊँ’’ को नारा घन्काउन थालेपछि एयरपोर्ट एक छिन भगवतीमय भयो।

दर्जनौँ कार्यकर्ता फुलमालासहित चौधरीलाई लिन एयरपोर्ट आएका थिए। एमालेका कार्यकर्ताहरूले मंसिर ४ गते चौधरीलाई जिताएर मात्रै विजयादशमी मनाउने पनि बताए।

आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमालेबाट क्षेत्र नं. ३ कालागि तेस्रो पटक उम्मेदवार बन्न लागेकी चौधरी कांग्रेसका विजय गच्छदारसँगै पुनः प्रतिस्पर्धा गर्ने करिब निश्चित भएकाले पनि चर्चाको शीखरमा छिन्।

उनले यसअघि २०७० सालको दोस्रो संविधानसभा र ०७४ सालको आम निर्वाचनमा गच्छदारलाई आच्छुआच्छु पारेकी थिइन्। ०७० सालको निर्वाचनमा पहिलो पटक गच्छदारलाई कडा टक्कर दिएकी चौधरीले त्यसको ४ वर्षपछि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजय गरेको दाबी नै गर्दै आइरहेकी छिन्। उक्त निर्वाचनमा गच्छदारले धाँधली गरेको भन्दै सर्वोच्चमा अहिले समेत मुद्दा विचाराधीन रहेको छ।

एयरपोर्टमै सञ्चारकर्मीहरू आएको देखेपछि चौधरीले हार्दिकता साट्दै मंसिर ४ गतेको निर्वाचनमा शतप्रतिशत आफ्नो जित हुने दाबी गरिन्। विगतका दुईवटा निर्वाचनमा आफूलाई जनताले जिताए पनि राज्यसत्ता नै लगाएर हराएको उल्लेख गर्दै योपल्ट आफ्नो विजयलाई कसैले रोक्न नसक्ने जिकिर समेत गरिन्। ‘‘विगतमा पनि जनताले मलाई जिताएकै हुन्। योपल्ट दशौं हजार मतले जित्नेछु।’’ चौधरीले सञ्चारकर्मीहरूसँग भनिन्।

सुनसरी ३ मा विकासको मुल फुटाउन र त्यहाँका जनताको जीवनस्तर उकास्नकै लागि आफूले राजनीति गरेको प्रस्ट्याउँदै चौधरीले मंसिर ४ पछि सुनसरी ३ मा नयाँ सूर्योदय हुने ठोकुवा गरिन्। ‘‘सुनसरी ३ मा विकास हुनुपर्छ, सुशासन हुनुपर्छ, स्वास्थ्य, शिक्षा, कृषि, सडक, पर्यटनका क्षेत्रमा विकासको मुल फुट्नुपर्छ भन्ने माग दशकौं देखिको हो। मंसिर ४ गतेपछि त्यो पुरा गर्ने अवसर प्राप्त हुन्छ’ चौधरीले भनिन्।

नेतृ चौधरीले सुनसरी ३ लाई मात्र नभएर समग्र जिल्लाकै विकासका लागि सक्दो काम गर्ने बताइन्। लघुवित्त कार्यक्रम मार्फत देशभरका तीन लाख बढी महिलाहरूलाई आर्थिक सशक्तीकरणको अभियानमा जोड्न सफल भएकी नेतृ चौधरीले युवा स्वरोजगार, निर्यातमुखी कृषि, महिला सशक्तीकरण र आत्मनिर्भर अर्थतन्त्रका विषयलाई प्राथमिकताका साथ अगाडी बढाउने योजना बनाइरहेकी छिन्।

पछिल्लो समय युवाहरूले उठाएका एजेन्डाहरू आफूसँग रहेको तर्क गर्दै चौधरीले देश विकासको मेरुदण्डका रूपमा रहेका युवाहरूलाई अवसर दिन तिसौँ वर्षदेखि राजनीतिमा लागेर पटकपटक मन्त्री उपप्रधानमन्त्री भएका अग्रजहरूले राजनीतिबाट अवकाश लिनुपर्ने पनि बताइन्। ‘‘नेतृत्व भनेको समयसँगै परिवर्तन हुन अपरिहार्य छ। जसरी हरेक वसन्तमा नयाँ पालुवा पलाउँछ राजनीतिमा पनि हरेक निर्वाचनहरूबाट नयाँ सोच र विचार भएका क्षमतावान् व्यक्तिहरूले अवसर पाउनुपर्छ’’ चौधरीले भनिन्।

केपी शर्मा ओली नेतृत्वको साँढे तीन वर्षको सरकारले विकास र सुशासनका सवालमा धेरै काम गरेको चर्चा गर्दै चौधरीले मंसिर ४ गतेपछि पुनः ओलीकै नेतृत्वमा एमालेको सरकार समेत बन्ने बताइन्। राष्ट्रियता, सार्वभौमिकता, अखण्डताका सवालमा ओलीले निर्वाह गरेको भूमिकाकै कारण एमालेको सरकार जनता माझ बसेको दाबी गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved