स्मृतिशेष

अ फिल्म बाई ज्या–लुक गोडार्ड

सिने समीक्षक हुँदा सिनेमा निर्माणमा मुख्य भूमिका कसको हुन्छ भन्ने प्रश्नमा अल्झिएका उनले पछि आफैँ फिल्ममेकरको रुपमा उभिन थालेपछि यो भाष्यमा स्पष्ट भए। उनका समेत प्रयत्नमा सिनेमाको आरम्भमा सिने निर्देशकको नाम रचनाकारको रुपमा आउन थाल्यो। सिनेमाको पहिलो सर्टमा देख्न थालियो– ‘अ फिल्म बाई ज्याँ लुक गोडार्ड।’

नेपालभ्युज

अ फिल्म बाई ज्या–लुक गोडार्ड

‘जब म आलोचक थिएँ, तब म स्वयं आफूलाई फिल्मकर्मी मान्दथेँ। आज म आफू स्वयंको आलोचक मान्दछु र एक प्रकारले हुँ पनि, बाँकी पहिलाभन्दा कैयौँ धेरै मुखर। अब म समीक्षा लेख्नुको साटो फिल्म बनाउँछु, आलोचनात्मकता यसमा समेटिएको छ।

म आफूलाई एउटा यस्तो निबन्धकार मान्दछु, जसले उपन्यास–शैलीमा निबन्ध लेख्दछ र निबन्ध–शैलीमा उपन्यास। लेख्नुको साटो म त्यो फिल्म दिन्छु। यदि सिनेमा रहेनन् भने म यस नियतिलाई सहजतापूर्वक स्विकार्छु र टेलिभिजनतिर आकृष्ट हुनेछु। यदि टेलिभिजन भएनन् भने म कागज र कलम समात्छु। अभिव्यक्तिका सबै रुपमा स्पष्ट निरन्तरता छ, त्यो एउटै हो।’
(ज्याँ– लुक गोडार्ड- गोडार्ड र गोडार्ड’ बाट।)

फ्रान्सका प्रख्यात सिनेकर्मी ज्याँ लुक गोडार्ड सुरुमा थिए, एक फिल्म समीक्षक। उनीसँगै जोडिएर आउने नाम थियो– फ्रान्सुआ त्रुफोको पनि। यी दुवै फिल्म समीक्षकले तर्क गरे– फिल्म एउटा उत्पादन हो, जुन एउटा कारखानाबाट उत्पादन भएर बजारमा आउँछ।

सिने समीक्षक हुँदै सिनेकर्मी बनेका गोडार्ड अब सम्झना र आफ्ना कालजयी सिर्जनाहरूमा मात्र बाँच्नेछन्। ९१ वर्षको सार्थक जीवन बाँचेर यही सेप्टेम्बर १३ मा उनी अस्ताए। सन् १९३० मा पेरिसमा जन्मिएका उनी स्वीट्जरल्याण्डमा बिते।

सन् १०५० को दशकमा सिने–समीक्षकको भूमिकामा उभिएका उनले सोचे– सिनेमा निर्माणमा कुन व्यक्तिको अधिक महत्त्व हुन्छ ? फिल्म निर्माता, अभिनेता, छायाकार, कथाकार वा निर्देशक ! यसका निम्ति उनले अमेरिकी (हलिउड) का सिनेमाहरूलाई चयन गरे।

दोस्रो विश्वयुद्धपछि ध्वस्त भएको फ्रान्समा नयाँ सिनेमा उपलब्ध थिएनन्। तत्कालीन समय अमेरिकाका दुई फिल्म कम्पनी मेट्रो गोल्डविन मेयर वार्नरले आफूद्वारा निर्मित सिनेमाहरू युरोपमा पठाइरहेका थिए। युरोपेली बजारमा अमेरिकी सिनेमा सहजतापूर्वक उपलब्ध थिए।

सन् १९५२ देखि ५७ सम्म गोडार्ड र त्रुफोले ती सिनेमाहरू हेरे र अनेक पत्रिकामा समीक्षा लेखे। उनीहरूले लेखेका समीक्षाहरू सिनेमाका बारेमा महत्त्वपूर्ण मानदण्ड मान्न थालियो। जसमा, जुन अमेरिकी सिनेमालाई व्यावसायिक मानेर नकार्ने गरिन्थ्यो, ती सिनेमाहरू कैयौँ उत्कृष्ट साहित्य कृति र सिनेकर्मीहरूको सिर्जनाको उपज थिए। गोडार्डले अमेरिकी सिनेमाको शक्ति र सार्थकता महसुस गरे।

सिने समीक्षाको क्रममा हलिउडका परम्परागतका साथै मूलधाराका फ्रान्सेली सिनेमाहरूको कट्टर आलोचकका रुपमा उभिएका गोडार्डले ती सिनेमाहरूलाई चुनौती दिँदै आफैँले सिने निर्देशन गर्न थाले। सन् १९६० मा उनले ‘ब्रेथलेस’ निर्माण गरे, जसको अत्यन्तै प्रशंसा भयो।
विश्व सिने जगत्मा अमिट छाप र प्रभाव पार्ने सिनेमाहरू निर्माण गरेका गोडार्डलाई अस्तित्ववादी र मार्क्सवादी दर्शनको उत्सुक पाठकको रुपमा चिन्ने गरिन्छ। मानवतावाद र मार्क्सवादी दृष्टिकोणबाट प्रभावित सिनेमा बनाउनेमा उनलाई चिनिन्छ।

करिब ६ दशक समय सिनेकर्ममा बिताएका गोडार्डले दर्जनौँ सार्थक सिनेमा दिए। जसमा विकेन्ड, माई लाइफ टु लाइभ, फिल्म सोसियोलिज्मे, ब्रेथलेस, टु अर थ्री थिङ्स आई नाउ अवाउट हर, अल्फाभिल्ले, मस्कुलिन फेमिनाइन, एभ्री म्यान फर हिमसेल्फ, कन्टेम्प्ट हुन्।
साठी वर्षको निरन्तर सिनेकर्मको क्रममा उनलाई विश्व सिनेमाको सिनेम्याटिक फर्म र भाषालाई बदल्ने श्रेय जान्छ।

सिने समीक्षक हुँदा सिनेमा निर्माणमा मुख्य भूमिका कसको हुन्छ भन्ने प्रश्नमा अल्झिएका उनले पछि आफैँ फिल्ममेकरको रुपमा उभिन थालेपछि यो भाष्यमा स्पष्ट भए। उनका समेत प्रयत्नमा सिनेमाको आरम्भमा सिने निर्देशकको नाम रचनाकारको रुपमा आउन थाल्यो। सिनेमाको पहिलो सर्टमा देख्न थालियो– ‘अ फिल्म बाई ज्याँ लुक गोडार्ड।’
विश्वका महान् सिनेकर्मी गोडार्डप्रति श्रद्धा अर्चन।
००


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved