ठूलाठालुको सवारीमा सर्वसाधारणमाथि ज्यादती, त्रिपुरेश्वरबाट कलंकी पुग्न एक घण्टा

साढे ८ बजे सुनसान हुने सडकमा सोमबार राति साढे ९ बजेसम्म यात्रुहरू जाममै थिए। कतिपय सडकमै सवारी अड्याएर सामाजिक सञ्जाल चलाउँदै थिए। केहीले टिकटक भिडिओ बनाएर जामको समय कटाए। कतिपयले लामो सवारीको लाइनको फोटो खिचेर पोस्ट गर्दै पीडा र आक्रोश पोखे।

नेपालभ्युज

ठूलाठालुको सवारीमा सर्वसाधारणमाथि ज्यादती, त्रिपुरेश्वरबाट कलंकी पुग्न एक घण्टा

काठमाडौं। त्रिपुरेश्वरबाट कलंकीसम्मको सडकको लम्बाई तीन किलोमिटर छ। सामान्यतः सो सडक पार गर्न दुईपाङ्ग्रो वा चारपाङ्ग्रे सवारी साधनलाई कति समय लाग्ला? ‘‘बिस्तारै गए पनि १० देखि १५ मिनेट लाग्ने गर्छ’’ यो अधिकांशको अनुभव हो।

तर, सोमबार साँझ, मंगलबार बिहान र दिनभरजसो भने त्रिपुरेश्वरबाट कलंकीसम्म पुग्न सवारीसाधनलाई १ देखि दुई घण्टाको समय लाग्यो।

सुन्धारादेखि कोटेश्वरसम्मको सडकको दूरी मुस्किलले ४ किलोमिटर छ। सो सडकमा सवारीमा यात्रा गर्ने समय भनेको सरदर १५ मिनेटको हो। सो सडकमा यात्रा गर्न पनि सोमबार साँझदेखि यात्रुहरूले १ घण्टाको समय लगाउनुपरेको छ।

सबैभन्दा सास्तीपूर्ण जाम मानिने जडीबुटीको हालत त कस्तो भयो होला कल्पनाबाहिरको कुरा हो। सवारी जामका कारण त्यहाँबाट भक्तपुर वा पेप्सीकोलातर्फ जाने आउने सवारीसाधन अझ लामो समय रोकिनुपर्याे।

काठमाडौंका कतिपय चोकमा जाम हुँदा विकल्पका रूपमा कोरिडोरका सडक छन्। तर, सोमबारयता ती सबै शाखा सडकमा अझै बढी जाम भइरहेको छ । जाम भएका सडकबाट शाखा सडकमा ‘डाइर्भसन’ गर्ने बाटो छैन। त्यसैले यात्रुलाई जाममा फस्नुको विकल्प छैन।

कोही टिकटकतिर, कोही स्ट्याटसमा आक्रोश पोख्दै

साढे ८ बजे प्राय: सुनसान हुने काठमाडौं उपत्यकाको सडकमा सोमबार राति साढे ९ बजेसम्म यात्रुहरू जाममै फसेका थिए। लामो समयसम्म जाम नखुल्दा यात्रु पट्यार मान्दै थिए। लामो लाइनमा लागेका उनीहरूलाई समय कटाउन सजिलो थिएन।

कतिपय गाडी तथा मोटरसाइकल चालक सडकमै सवारी अड्याएर सामाजिक सञ्जाल चलाउँदै थिए। कतिपयले टिकटक एप्स खोलेर भिडिओ हेर्दै थिए।

लामो समय जाम परेपछि समय कटाउन मोबाइलमा भिडिओ हेर्दै मोटरसाइकल चालक

कतिपयले टिकटक भिडिओ बनाएर जामको समय कटाउँदै थिए। जामबाटै कतिपयले सामाजिक सञ्जालको भित्तामा आक्रोश पोखे। रञ्जना विश्वकर्माले फेसबुकमा लेखेकी छिन्, ‘‘सवारीको नाममा आज भोग्नु सास्ती भोगियो। कति मान्छे कस्तो अवस्था र मनस्थितिमा दुई घण्टा रोडमा उभिन बाध्य भए, कति एम्बुलेन्स बाटो नपाएर थुनिनुपर्‍यो, कति मान्छेको हाल बेहाल भयो, कतिले आएको सुसु च्यापे, कति जना चक्कर आउन्जेल खेपेर बसे….यसको हिसाब कसले कहाँ राख्ने ? यसको सुनुवाइ कहाँ कसले गर्ने ? कस्सम आक्रोश नभएको कुनै मन र आत्मा थिएन होला। तर, जाम खुलेसँगै आक्रोशित आत्माहरू सेलाए है?’’

जाममा यात्रुहरू मात्र फसेका थिएनन्, केही एम्बुलेन्ससमेत बाटो खोज्दै साइरन बजाउँदै थिए। तर, लामो लाइनको बीचमा उसले बाटो पाउन मुस्किल थियो। त्यो दृश्य प्रत्यक्ष देखेकाहरूले आक्रोश थाम्न सकेनन्।

यसैबीच प्रकाश भण्डारीले जामबाटै स्ट्याटस पोस्ट गरे, ‘‘साढे ५ देखि सुन्धारा अगाडिको सडकमा छु। सडक पूरै जाम। सहरमा के भइरहेको छ, थाहा छैन।

तर, यस्तै भइरहने कहिलेसम्म हो? अहिलेदेखि चुनावसम्म जाम गरे राम्रै हुन्छ। तिम्रा पाहुनालाई घाममा सुकाऊ। जाममा फसेका एम्बुलेन्स निकाल।’’

किन भयो जाम ? कहिलेसम्म हुन्छ?

सोमबार दिउँसो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आएका छन्। उनी उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्। उनको ओहोरदोहोरकै लागि सडक खाली गराउँदा सर्वसाधारणले हैरानी बेहोर्नुपरेको हो।

मंगलबार बिहानदेखि दिनभरजसो विभिन्न सडकमा लामो जाम भयो। कारण थियो प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरू उनै जनकंग्रेस अध्यक्ष ली चान्ससँगको उच्चस्तरीय भेटवार्तामा जान निस्किएको सडक खाली गराइनु ।

मंगलबार बिहान पौने ९ बजेपछि आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तीनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

त्यस्तै, साढे ११ बजेको आसपासमा तीनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित भयो।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भयो।

दिउँसो साढे ४ बजेपछि पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा जाम छ।

जामको शृखला बिहीबार बिहानसम्म जारी रहनेछ। जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका छ। त्यो समयमा होटल सोल्टीबाट शीतलनिवासम्म जाने र आउने बेलामा त्यो रुटमा जाम हुने छ। यस्तै बिहीबार बिहान जनकंग्रेस अध्यक्ष चान्सु फर्कनेछन्।

फर्कने समयमा एयरपोर्टसम्मको सडकमा जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। तर, भीआइपी र भीभीआइपीको सवारीका नाममा यसरी आम नागरिकलाई घण्टौं सास्ती दिने सरकारी रवैया भने लामो समयदेखि चलिरहेको छ । ठूलाठालुको सवारी गराउँदा जाम नहुने विकल्प पनि छन होला तर त्यसको खोजी कसले गर्ने ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved