नेपालमा दैनिक २० जनाले गर्छन् आत्महत्या

नेपालभ्युज

नेपालमा दैनिक २० जनाले गर्छन् आत्महत्या

काठमाडौं। नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको छ। विश्व आत्महत्या रोकथाम दिवसको पूर्वसन्ध्यामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज गरेको पत्रकार सम्मेलनमा नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा मानसिक स्वास्थ्य तथा नसर्ने रोग शाखाका प्रमुख डा फडिन्द्र प्रसादबरालले पछिल्लो १० वर्षको अवधिमा ५३ हजार २९८ जनाले आत्महत्या गरेको तथ्य सार्वजनिक गरेका हुन्। आर्थिक वर्ष ०६९/०७० देखि ०७८/७९ सम्मको अवधिमा विभिन्न माध्यमको प्रयोग गरी उनीहरुले आत्महत्या गरेको डा. बरालले बताए।

आर्थिक वर्ष ०६९/०७० मा ३ हजार ९ सय ७४ जना, ०७०/०७१ मा ४ हजार ५ सय ४ जना, ०७१/०७२ मा ४ हजार ३ सय ३२ जना, ०७२/०७३ मा ४ हजार ६ सय ८० जना, ०७३/०७४ मा ५हजार १ सय २४ जना, ०७४/०७५ मा ५ हजार ३ सय १७ जना, ०७५/०७६ मा ५ हजार ७ सय ५४ जना, ०७६/०७७ मा ६ हजार २ सय ७९ जना, ०७७/०७८ मा ७ हजार १ सय ४१ जना, र ०७८/०७९मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका छन्।

हाल नेपालमा आत्महत्याको दर २३.४ प्रति एक लाखमा रहेको छ। तर, सरकारले भने सन् २०३० मा ४.७ प्रतिलाखमा पु¥याउने लक्ष लिएको छ । आत्महत्याको कारण पहिचान गरी समाधानमा लागेमात्र सरकारको लक्ष अनुरुप आत्महत्या दर घटाउन सकिने डा.बरालको भनाइ छ । उनले यो लक्ष प्राप्तिकालागि सबै मिलेर अघि बढ्नुपर्ने बताए।

पत्रकार सम्मेलनमा मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठाले मानसिक स्वास्थ्यलाई पनि अरु समस्या सरह बाहिरल्याउन आवश्यक रहेकोमा जोड दिए। मानसिक समस्या भोगिरहेकाहरुलाई आफ्नो समस्या निर्धक्क भएर राख्नसक्ने वातावरण बनाउन सके आत्महत्या न्युनिकरणमा मछत पुग्ने उनको भनाइ छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै जानु र मानसिक स्वास्थ्य प्राथमिकतामा पर्न नसक्नु बिडम्बना भएको बताए। उनले शारीरिक समस्यालाई जस्तै मानसिक समस्यालाई पनि समयमै पहिचान गरी आत्महत्या रोकथाममा सबैले काम गर्नुपर्ने समय आएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved