कञ्चनजंघा- दुई कविता

त्यो अबोध नोस्ट्याल्जिक कञ्चनजंघा भने
हामीलाई हेर्ने तिर्सनाले
बिल्डिङहरूको चेपचापबाट चिहाउँछ
यो सहरसितको पुरानो आत्मीयता पाउने चाह गर्छ

नेपालभ्युज

कञ्चनजंघा- दुई कविता

कञ्चनजंघा र हामी

(दन्त्यकथादेखि उत्तरआधुनिक कथासम्म)

 

–मनप्रसाद सुब्बा

पहिले पहिले– अर्थात् उहिले नै भनौँ
कञ्चनजंघाको अघिल्तिर उभिएर
हामी कञ्चनजंघा हेर्थ्यौँ
हाम्रो अघिल्तिर उभिएर
कञ्चनजंघाले हामीलाई हेर्थ्यो
हामीले फेरेको सास पनि
कञ्चनजंघाको वाफ मिलेर
मास्तिर यौटा सफा आकाश टाँगिन्थ्यो
हाम्रा डाँडाहरू र थुम्काहरू
आकाश भेट्न माथि उठ्थे
रुखहरूले ती डाँडाहरूलाई
आफ्ना हाँगाका पाखुराहरूमा उचालेर
अझ अग्लो अग्ल्याइदिन्थे

आफ्नो अनुहारमा टल्किरहेको घामलाई
कञ्चनजंघाले हाम्रा अनुहारतर्फ फर्काइदिन्थ्यो
र हाम्रा अनुहारहरू
कञ्चनजंघाका टाकुराहरू भएर उज्यालिन्थे
हाम्रो खुल्ला झ्यालको चौखटमा अडेसिएर
हठात् भित्रपट्टि टाउको घुसाउँदै
कञ्चनजंघा हामीसित जिस्किन्थ्यो, हाँस्थ्यो
भनौँ भने, दैलोबाट भित्रै पसेर
हाम्रो चुलोमा आगो जोडिदिन्थ्यो
दशैंमा केही नयाँ लुगा
र मीठो परिकार लिएर आउँथ्यो
हामीले आफूलाई टुहुरा अनुभव गर्दा
उसैले हामीलाई
अभिभावकको स्नेहले सुम्सुम्याउँथ्यो
हामी हेपिँदा
कञ्चनजंघा नै हाम्रो छातीमा हौसला भरिन्थ्यो
हाम्रो काँधमा ऊ नै ढाढसको थप्की बज्थ्यो
नाइट सो हेरेर घर फर्किँदा पनि
उसैले हामीलाई घरको दैलोसम्म पुर्‍याउँथ्यो
कञ्चनजंघा हाम्रो आँखामा मात्र थिएन त्यस बेला
ऊ त हाम्रो छातीभित्रै धुक्धुक्याइरहेको हुन्थ्यो…

तर…यो भयो अब दाँत झरिसकेको दन्त्यकथा ।

आज पनि हेर्न खोज्छ कञ्चनजंघाले हामीलाई
तर हामी उसका आँखाअघि देखा पर्दैनौं
कञ्चनजंघाभन्दा अग्लाअग्ला
कंक्रिटका पर्वतहरू पछिल्तिर
मसिना लिलिपुट भइसकेका हामी
हरक्षण हतारहरू हिँडिरहेका हुन्छौँ…
चट्टानभन्दा चाम्रा र चिसा
बहुतल्ले बिल्डिङहरूको चेपबाट घुम्दै गएको
गन्हाउने गल्लीको सुरुङभित्र
सपनाहरू जित्न वाकिङ रेसमा
सासले भ्याई–नभ्याई हाँपिँदै हिँडिरहेका हामीलाई
कञ्चनजंघाले
उसको सेतो घिच्रो
तन्काई

न्का

हेर्दा पनि
देख्न सक्तैन ।
हामीलाई देख्न नपाएर
कञ्चनजंघाको मन कस्तो हुँदो हो, नसोध–
हाम्रो संवेदना सुक्खा भएको छ माइक्रोचिप्सजस्तै
जसद्वारा अचेलका हाम्रा मनहरू प्रोग्रामिङ गरिएका हुन्छन्
त्यसैले, प्रोग्रामदेखि बाहिरका कुराहरू सब वाहियात हुन् !
तीसँग हामीलाई के मतलब ?

तर कञ्चनजंघालाई चैं हामीले
उपभोक्तावादको प्लेटमा टोस्टजस्तो राखेर
पर्यटकलाई सोध्दै बेच्छौं –
एक स्लाइस, दुई स्लाइस, हाफ कि फुल् कञ्चनजंघा ?
चौंरीगाईको ढाडजस्तो उठेको
ती डाँडा र थुम्काहरूलाई त
हाम्रा हिंस्रक चाहनाका चितुवाहरूले
चोक्टा र लाम्टा गरी हड्डीसमेत चपाएर खाइसके ।
हामीभित्रको कञ्चनजंघाको उचाइँ चैं
फ्ल्याटको हिसाबमा बिक्री भइसक्यो ।

त्यो अबोध नोस्ट्याल्जिक कञ्चनजंघा भने
हामीलाई हेर्ने तिर्सनाले
बिल्डिङहरूको चेपचापबाट चिहाउँछ
यो सहरसितको पुरानो आत्मीयता पाउने चाह गर्छ
तर अब थेत्तरी भइसकेकी यो पहाडकी रानी भनिने सहर
चिथ्रा फाटेको नाइटी निकै माथि सुर्काएर
‘भिक्टोरिया फल’ नाम ट्याटु गरिएको आफ्नो योनीबाट
धमिलो पानी झारेको झारेकै छ–




.
.
त्यो पानी कहिले सङ्लेला हँ ?
यो प्रश्नको उत्तर छैन
किनकि
यो हो अब दाह्रा उम्रिसकेको उत्तरआधुनिक कथा !

कञ्चनजंघा

–दामोदर पुडासैनी ‘किशोर’

ऊ कैयौँ रात तारासँग र
कैयौँ रात जूनसँग
हिउँको घुम्टो ओढेर लुकामारी खेल्छे

ऊ प्रभातमा रक्तिम सूर्यसँग लजाएर
मध्याह्नमा नवयौवना झैँ मुस्काएर
साँझमा सूर्यलाई भोलि पनि आउन कबुल गराउँछे

हो, त्यो कञ्चनजंघा
अलिकति अश्रुढिका बहाएर
धेरैधेरै पर्यटकहरूको क्यामरामित्र लुकेर
आखिर विश्वका कुनाकाप्चाका फ्रेममा सजिन्छे

कसैको प्रशंसा चाहिँदैन उसलाई
ऊ आफैँ सुनमाथिको सुगन्ध छे
कसैले आफ्नै बनाउन खोज्नु पनि व्यर्थ छ उसलाई
ऊ नेपालमै रहेर आफ्नै अस्तित्वमा बढेकी छे

कञ्चनजंघा
हिउँको खास्टो ओढ्दै शीतल प्रकाश छर्ने
मैनबत्तीको ज्योतिजस्ती
सधैँ स्वरुपमा अडिग हुने
मौलिकताको बारीजस्ती
जहाँ गए पनि सम्झिरहने
लाहुरेकी नारीजस्ती ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved