कर्णालीमा माओवादी र कांग्रेसका लगभग सबै सांसद मन्त्री !

नेपालभ्युज

कर्णालीमा माओवादी र कांग्रेसका लगभग सबै सांसद मन्त्री !

सुर्खेत । कर्णालीका प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका अधिकांश मन्त्री बनेका छन् । कांग्रेसबाट सांसद बनेकी मुगुकी झोवा विक र माओवादीबाट सांसद बनेकी पुष्पा घर्ती विष्टबाहेक सबै मन्त्री बनेका छन् ।

पुष्पा मन्त्री नबने पनि अहिले उनी कर्णाली प्रदेशसभाको उपसभामुख रहेकी छन् । कर्णालीमा माओवादी केन्द्रका १३ जना सांसदमध्ये दुईजना दैलेखका धर्मराज रेग्मी, सुर्खेतका डम्बरबहादुर विष्टले राजीनामा दिएर एमाले प्रवेश गरिसकेका छन् ।

अहिले ११ जना सांसदमध्ये बाँकी रहेका रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्री बनाउन लागेको हो । कामी र कृष्णालाई मन्त्री बनाउनका लागि आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र ऊर्जा जलस्रोतमन्त्री गणेशबहादुर सिंहलाई सरकारबाट फिर्ता बोलाएको छ । नेपाली कांग्रेसका ६ जनामध्ये पाँच जना मन्त्री भइसकेका छन् ।

पार्टी केन्द्रको निर्देशनअनुसार सरकारमा रहेका दुईजना मन्त्रीहरूलाई फिर्ता बोलाएर दलित र महिलाको सहभागिता हुने गरी नयाँमन्त्री सरकारमा सहभागी हुने पूर्वमन्त्री एवं माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘कर्णालीको मन्त्री परिषद् समावेशी भएन भनेर अदालत मुद्दासमेत पर्‍यो ।’ उनले भनिन्, ‘कर्णालीको मन्त्री परिषद् समावेशी बनाउनका लागि दलित र महिला सरकारमा सहभागी गराउँछौं ।’

नयाँ मन्त्रीहरूको शपथ एक–दुई दिनमै हुने अध्यक्ष केसीले बताइन् । ‘संसदीय दलको बैठकले निर्णय गरेर सरकारमा सहभागी हुनेहरूको नाम मुख्यमन्त्रीलाई सिफारिस गरिसकेका छौँ ।’ उनले भनिन्, ‘एक–दुई दिनभित्रै मन्त्रीले राजीनामा दिएपछि कामी र शाह सरकारमा सहभागी हुनुहुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved